हेटौंडाः एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा ९ दिने रोबोटिक्स र अटोमेसन कार्यशाला हुने भएको छ । बिहीबार पत्रकार भेटघाट कार्यक्रममार्फत् बागमती प्रदेशको राजधानी हेटौंडामा यही असार १८ गतेदेखि २६ गतेसम्म रोबोटिक्स र अटोमेसन कार्यशाला आयोजना गर्न लागिएको बताइएको छ ।
हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गर्न लागिएको एस्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष नेत्रप्रसाद बास्तोला (किसन)ले जानकारी दिनुभयो । साहित्य संगम मकवानपुरको सभाहलमा आयोजना हुने उक्त कार्यशालामा उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका २० जना विद्यार्थी सहभागी हुने उहाँले बताउनुभयो ।
रोबोटिक्स र अटोमेसनका प्रशिक्षक अनुज अधिकारी र सुजन दाहालको समूहले कार्यशालालाई सहजीकरण गर्नुहुनेछ । हेटौंडाको शैक्षिक, सामाजिक, आर्थिक अवस्थामा आमूल परिवर्तन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताइएको छ । विभिन्न विधामा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई सहजीकरणका लागि सहयोग पुग्ने बताइएको छ ।
हेटौंडाका विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरूलाई एउटै मालामा गाँसी उनीहरुको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, सिर्जनशीलता, उद्यमशीलता, क्षमता विकास र उत्पादनशीलतामा जोड दिन कार्यशालाबाट सहयोग पुग्ने बास्तोलाको धारणा छ । बदलिँदो विश्व परिवेशअनुकूल चल्नका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन, गणित, अनुसन्धान, स्टार्टअप र रोजगारी विकासका क्षेत्रमा नयाँ आयाम स्थापित गरी दूरगामी लक्ष्यका साथ यस क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने उद्देश्य संस्थाको रहेको उहाँले जानकारी दिनुभयो ।
एस्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडामा विगतमा यस्ता कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । एस्ट्रोनोभा फाउन्डेसन नेपालले काम गर्न खोजेको स्पेस टाइम इजुटेन्टमेन्ट लार्नी भार्स इमेजिन एक्स नामक महत्वाकांक्षी परियोजना सञ्चालन गर्नका लागि पनि आवश्यक प्रक्रिया अघि बढिरहेको फाउन्डेसनका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा दशकदेखि विभिन्न निकायमा प्रत्यक्षरुपमा संलग्न तथा अनुभव प्राप्त विविध क्षेत्रका प्राज्ञिक तथा विज्ञ व्यक्तिहरुको बीचमा विचार–विमर्श, अध्ययन तथा अनुसन्धानपश्चात् हेटौंडामा काम गर्ने गरी यसको अवधारणा अघि सारिएको उहाँको भनाइ छ । पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बास्तोला, उपाध्यक्ष गहन खतिवडा, महासचिव लामिछाने, सचिव स्वस्तिका बानियाँ, कोषाध्यक्ष आयुष बस्नेत, सहकोषाध्यक्ष ऐश्वर्य पुलामीलगायतको उपस्थिति थियोे ।










