फलफूल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । मावन जीवनप्रक्रियाका लागि आवश्यक पर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरु फलफूलमा पाइन्छन् । खाँदा मिठो हुने र फाइदा पनि गर्ने भएकाले अधिकांश मानिसहरु फलफूल खाने गर्दछन् । अधिकांश फलफूल कुनै निश्चित सिजनमा उत्पादन हुने गर्दछ । तर, बजारमा बेमौसमी फलफूल पनि उत्तिकै पाइन्छन् । बेमौसमी फलफूल स्वास्थ्यक मानिँदैन । सिजनभन्दा अगाडि नै बजारमा आउने अधिकांश फलफूलमा विषादीको प्रयोग हुने गरेको आरोप लाग्ने गरेको छ । हुन पनि सिजन अगावै पकाएर फलफूल बिक्री गर्न रसायन वा विषादीको प्रयोग गर्नैपर्छ । यस्ता रसायनहरु प्रायः मानव स्वास्थ्यका लागि हानिकारक नै हुने गर्दछ । बेमौसममा पाइने फलफूलमा मात्र नभई मौसमी फलफूलमै पनि रसायनको प्रयोग हुने गरेको पाइएको छ । फलफूललाई चाँडै पकाउन र आकर्षक देखाउन रसायनको प्रयोग हुने गरेको छ । केरा, स्याउ, अंगुर, मेवा, आँपलगायत फलफूलमा हानिकारक रसायनको प्रयोग बढी हुने गरेको पाइन्छ । मानव स्वास्थ्यका लागि हानिकारक भए पनि नियमनकारी निकायको बेवास्ता र उपभोक्ताको अज्ञानताको फाइदा उठाएर कतिपय व्यवसायीले हानिकारक रसायनको प्रयोग गर्दै आएका छन् ।

जेठ महिनाको सुरुवातसँगै बजार आँपको बिक्री बढेको छ । बजारका फलफूल बिक्री गर्ने पसल तथा ठेलागाडा रसायनयुक्त आँपले भरिभराउ देखिन थालेका छन् । तराई–मधेस क्षेत्रमा असारदेखि पाक्ने आँप वैशाखबाटै विषादी प्रयोग गरेर पकाउँदै बिक्री वितरण भइरहेको छ । आँपलाई फलहरुको राजा भन्ने गरिन्छ । सिजनमा आँपको व्यापार पनि राम्रो हुने गरेको छ । तर, अफ सिजनमै हानिकारक रसायन प्रयोग गरिएका आँप बजारमा बिक्री वितरण भइरहँदा नियमनकारी निकाय भने बेखबरजस्तै बनिरहेको छ । उपभोक्ता सचेत नहुँदा आँपका माध्यमबाट बिक्रेताले मन्द विष व्यापार गरिरहेका छन्, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । आँपमात्रै होइन, धेरैजसो फलफूलमा रसायन प्रयोग गरी पकाउने गरिएको तथ्य जगजाहेर भए पनि प्रभावकारी बजार अनुगमन र कारबाही नहुँदा उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको छ ।

बजारमा विषादी प्रयोग नगरेका फलफूल र तरकारी पाउन मुस्किल बनिरहेको छ । नियमनकारी निकाय र उपभोक्ताले ध्यान नदिँदा स्वस्थकर अमृतसरह फलफूल हानिकारक रसायनको प्रयोगले दिनदिनै विष बन्दै गएका छन् । व्यापारीहरुले आर्थिक लाभकै लागि काँचो आँप तथा अन्य फलफूलमा क्याल्सियम कार्बाइडजस्ता रसायन प्रयोग गरेर बजारमा बिक्री गर्छन् । क्याल्सियम कार्बाइडको प्रयोगले श्वासनली, घाँटी, आँखा, छालामा नकारात्मक प्रभाव पार्नुका साथै मस्तिष्कमा अक्सिजनको मात्रामा कमी भई टाउको दुख्ने, आँखा धमिलो देख्ने, रिंगटा लाग्ने, बोली लरबराउने, श्वास फेर्न समस्या हुने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, फोक्सो, मुटु, मृगौलामा समेत घातक असर गर्ने चिकित्सकहरु बताउँछन् । यतिमात्रै होइन, मन्द विषयुक्त फलफूलले गर्भवती महिलाको गर्भ तुहिने र अर्बुद रोगसमेत हुने सम्भावना रहन्छ ।

फलफूलमा एकैनाशको तर फरक–फरक आकर्षक रङ देखियो, टल्कियो, कालो थोप्ला, कुनै भाग गलेको, कुनै भाग साह्रो भएको, बाहिर पहेँलो तर भित्र काँचो भएको, स्वाद खल्लो, मधुरो वा बिग्रेको तथा छाम्दा रस नभरिएजस्तो भेटिए कार्वाइड हालेर पकाएको हुनसक्छ । घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो धब्बा देखिएमा रसायनद्वारा पकाइएको थाहा हुन्छ । फलफूल खानुअघि सफा पानीले राम्ररी धोएर पानीमा भिजाएर राख्नुपर्छ । यसो गर्दा बोक्राको रसायन सफा पानीले पखालिन्छ । कम्तीमा ८ घण्टा पानीमा भिजाएमात्र रसायन हराउन सक्छ । सरकारी नियमनकारी निकायले यस्ता मन्दविष हालेर पकाइएको फलफूल बिक्री गर्न रोक लगाउनुपर्ने भएपनि त्यसतर्फ खासै चासो देखाएको पाइँदैन । रसायनयुक्त फलफूल उपभोगप्रति उपभोक्ता नै जागरुक र सचेत बन्नु आवश्यक छ ।