पक्राउ परेका इमानलाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडाः २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं वाईबालाई प्रहरीले पक्राउ गरेको छ । २०५५ साल असार ३१ गतेका दिन बिहान ४ बजेर १० मिनेटको समयमा मकवानपुरको साविक मनहरी गाविस–८, खरंगा राप्तीखोला नजिक ४१ वटा बोरामा एक हजार पाँच केजी लागुऔषध गाँजा छाडेर ईमान फरार भएका थिए ।

बरामद भएको गाँजा नियन्त्रणमा लिए पनि प्रहरीले ईमानलाई पक्राउ गर्न सकेको थिएन । प्रहरीले बुधबार राती ८ बजेको समयमा मनहरी बजारबाट ईमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । बिहिबार ईमानलाई मकवानपुर जिल्ला अदालत पेश गरी ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।