पौष २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपले प्रत्येक वर्ष मनाईन्छ । अठारौं शताव्दीको मध्यतिर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना छरिएर रहेका बाईसे चौबिसे राज्यलाई एकीकृत गरि सिङ्गो नेपाल निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले नुवाकोट युद्धमा विजय प्राप्त गरेपछि उनी काठमाडौँ उपत्यकातर्फ लागेका थिए, जहाँ तीन मल्ल राज्यहरू भक्तपुर, पाटन र कान्तिपुरमा शासन गरिरहेका थिए । पृथ्वीनारायण शाहले कीर्तिपुर सहरलाई लिएर पाटन राज्यसँग युद्धमा होमिएका थिए र वि.सं. १८२३ मा यो सहर गोरखालीको हातमा परेको थियो । यसले कान्तिपुरलाई खतरा उत्पन्न गरेको थियो ।
कान्तिपुरका राजा जयप्रकाश मल्लले गोरखाको तीव्र विस्तार रोक्न ईस्ट ईन्डिया कम्पनिसँग सहयोगको अनुरोध गरेका थिए । ईस्ट ईन्डिया कम्पनीले उक्त अनुरोध स्वीकार गर्दै क्याप्टेन किनलोकलाई पठाएको थियो । जसले वि.सं. १८२३ मा सिन्धुलीको युद्धमा पृथ्वीनारायण शाहका सेनासँग सामना गरेको थियो । यो युद्ध कम्पनिका लागि विनाशकारी सावित भएको थियो, किनलोकसहित उनका सैनिकहरू भागेका थिए । यसपछि शाहले उपत्यका विजय गर्न सफल भए । १८२५ असोज १३ मा पृथ्वीनारायण शाहले आफूलाई नेपालको राजाको रूपमा घोषणा गरे ।
पृथ्वीनारायण शाह राजा भएपछिका यिनका दिव्य उपदेश आज पनि सान्दर्भिक छ । नेपालको भू–अवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्थे । दुई ठुला राष्ट्रको बीचमा अवस्थित नेपालको पराराष्ट्र नीति दुई ढुंगा बीचको तरुल जस्तो छ भन्नु हुन्थ्यो । उनका दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् । पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो ।
यो नेपाल र नेपालीको गर्विलो ईतिहास हो । आज तमाम नेपालीलाई र नेपाल र नेपाली हुनुको जुन गौरव प्राप्त भएको छ त्यो पृथ्वीनारायण शाहको देन हो । पौष २७ गते पृथ्वी जयन्ती तथा एकता दिवसमा एकथरि मानसिक रोगीहरू पृथ्वीनारायणको फोटोमा थुक्ने गर्छन् । ईतिहास बंग्याउँछन्, शालिक तोडफोड गर्छन् अनि नेपाल एकीकरणलाई तानाशाही कदम भन्छन् । यस्ता मानिसको विवेक देख्दा दया जागेर आउँछ । आधुनिक नेपालको जग बसाल्ने राष्ट्रनिर्मातालाई सम्मान, आदर व्यक्त गर्न नसक्नु ईतिहास प्रतिको बेइमानी हो ।
नेपालको इतिहासमा उनले राजाको मात्रै भूमिका निर्वाह गरेनन् एउटा सिंगो राष्ट्र ‘नेपाल’ को निर्माण गरेका हुन् । विभिन्न देशमा राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जोसेफ गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालमा पृथ्वीनारायण शाहको योगदान हो । उनले राष्ट्रको निर्माण मात्रै गरेनन् साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश त्यो बेलामा ब्रिटिसहरुलाई दिए । उनी आफैले पनि पहिले सैयौं वर्षदेखि रहेका काठमाडौंका संस्कृति, शिक्षा, देवस्थल, मठमन्दिर, कलाकौशल, पाटीपौवा आदिलाई शाहले कहिल्यै भत्काउनु भएन, दमन वा संहार गरेनन् बरु संरक्षणमा पूरापूर ध्यान दिएको पाइन्छ ।
अफगानिस्तानमा तालिवानीहरुले विश्वकै पुरातात्विक महत्वका बुद्ध मूर्तिहरुलाई बमले उडाइदिएका थिए । पृथ्वीनारायण शाहले आफैले कहिल्यै परम्परादेखि चल्दै आएको कला, संस्कृति वा सभ्यतालाई कहिले भत्काएनन् बरु संरक्षण गर्दै यहासम्म ल्याई पु¥याए । आज उनैको सालिक भत्काउनु लज्जाको विषय हो । राजनीतिक÷सैद्धान्तिक रुपमा राजा शासनको विषयमा विमति हुन सक्छ तर राष्ट्रनिर्माताको विषयमा कसरी विमति हुनसक्छ ? के त्यो बेला नेपालमा मात्र काटमार भएको हो ? इतिहासको विश्लेषण समय, भुगोल, देश, काल र परिस्थिति अनुसार गर्नुपर्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी गर्दा माक्र्सवादको त कुरै छोडिदिउ युरोपमा भर्खरै पुँजिवादी विचार मौलाउन थालेको थियो ।
फ्रान्समा लुईहरू सम्राटका रूपमा थिए । शक्तिशाली अमेरिका, इङ्गल्याण्ड सम्राटको उपनिवेश थियो । एसियाली, अफ्रिकी, अमेरिकी महाद्विपमा युरोपका शक्तिशाली देशहरु साम्राज्यको विस्तार गर्दै लडाइँबाट जनतामा काटमार मचाएर आफु अधिनस्थ बनाइरहेको परिस्थितिमा के पृथ्वीनारायण शाहको एकीकरण बिना बल प्रयोग सम्भव थियो ? संसारका देशहरुको निर्माण अघिकांश रुपमा लडाइँहरुकै माध्यमबाट भएको छ । द्वन्द्व नभएको ठाउँ र युद्ध नलडेको देश कहाँ छ ? चीन, भारत, रुस, र अमेरिका मात्र होइन जर्मनी, ईटली, स्पेन र इंग्ल्याण्ड युद्धकै क्रममा एकीकृत राष्ट्र भएका थिए । अनि यो काटमार, हत्या र हिंसाबाट राज्य विस्तार भएको अवस्थामा नेपाल मात्रै कसरी अपवाद बन्न सक्छ ? त्यसैले ईतिहासको समीक्षा गर्दा तत्कालिन परिस्थिति अनुरुप गर्दा उचित हुन्छ । पृथ्वीनारायणको शालिक भत्काउनेहरुले ईतिहासको परिवेश बुझ्न जरुरी छ ।
आम्बेडकरले भनेका छन्, ‘ईतिहास बिर्सिनेले कहिले ईतिहास रच्दैन ।’ त्यसैले राष्ट्रनिर्माताप्रति सम्मान गरौं । किनकि जब नेपाल भन्ने सार्वभौम, स्वतन्त्र, अखण्ड देशको कुरा आउँछ, देशको स्वाभिमान र पहिचानको कुरा आउँछ । त्यो बेलामा वडा महाराजाधिराज पृथ्वीनारायण शाहकै नाम अग्रपङ्क्तिमा आउँछ । सिङ्गो नेपालको एकीकरण, राष्ट्रिय एकता र आज हामी नेपाली हुनुको गौरवमा वहाको योगदान अतुलनीय छ । हार्दिक श्रद्धासुमन ।। राष्ट्रिय एकता दिवसको शुभकामना ।।।