सचेत र समुन्नत समाज बन्दै जाँदासमेत बालविवाह रोकिन सकेको छैन । कानुनीरुपमाा दण्डनीय रहेको बाल विवाह हाम्रो समाजको कलंक बनिरहेको छ । बालविवाह गर्नु र गराउनु हुँदैन भन्ने सामान्य चेतना सबैलाई भए पनि बालविवाह व्याप्त रहनुले हाम्रो चेतनास्तर उजागर गरेको छ । जिल्लाका केही स्थानीय तहहरु बालमैत्री घोषणा भइसक्दा र अन्य स्थानीय तह बालमैत्री घोषणाको लागि क्रियाशील भइरहँदा समुदायमा बालविवाह बढ्दै जानुलाई सामान्यरुपमा लिन सकिँदैन । बालविवाह बढेकै कारण अन्य जिल्लाका कतिपय पालिकाहरुले विवाहअघि अनुमति लिनुपर्ने व्यवस्था गरेका छन् । बिना अनुमति गरिएको विवाहलाई पञ्जीकरण (दर्ता) नगर्ने र यसबाट उक्त दम्पत्तिले विवाहको कानुनी मान्यता नपाउने अवस्था बन्दछ । विवाह दर्ता नभई उक्त दम्पत्तिबाट जन्मेको बालबालिकाको जन्मदर्तासमेत नहुने भएकाले ती पालिकाहरुले यस्तो उपाय अपनाएका हुनसक्छन् । सामान्यरुपमा हेर्दा हास्यास्पद लागे पनि बालविवाह अन्त्य गर्ने यो एउटा बाध्यात्मक उपाय बन्नसक्छ ।

बालविवाह एउटा सामाजिक समस्या हो । बालविवाहले व्यक्ति, परिवार तथा समाजमा धेरै नकारात्मक असर पर्दछ । बालविवाहले विविधि समस्या भोगिरहेको हाम्रो समाजमा अर्को समस्या थपिएको छ, किशोरी आमा । बालविवाहको नकारात्मक प्रभावमध्येको एउटा महत्वपूर्ण प्रभाव हो, किशोरी आमा । बालविवाहकै कारण किशोरावस्थामा नै आमा बन्नुपर्ने अवस्था बन्ने गरेको छ । मानिसको शारीरिक तथा मानसिक विकासको आधारमा पनि किशोरावस्था पार गरेपछि विवाह गर्नु उचित मानिन्छ । हाम्रो कानुनले पनि २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई निषेध गर्नुका साथै विवाह गर्ने र गराउनेलाई सजायको व्यवस्था गरेको छ । यस्ता विवाह भइसकेको रहेछ भने पनि स्वतः बदर हुने व्यवस्था रहेको छ । तर, विवाह भएर बालबच्चा भइसकेपछि विवाह बदर गर्न सहज हुँदैन । जसले गर्दा कलिलै उमेरमाा सन्तान जन्माएर शिशु र आमा दुबै जोखिममा पर्ने गरेको पाइन्छ ।

हेटौंडा अस्पतालमा ७ महिनाको अवधिमा ३ सय ८९ जना किशोरी आमा बनेको समाचारले जोकोहीलाई झस्काउँछ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांकले २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीको संख्या अधिक देखिएको छ । मासिक औसत ५६ जना किशोरी आमा बनिरहेको यस तथ्यांकले देखाउँछ । ७ महिनाको अवधिमा प्रसुति हुने किशोरीमध्ये दक्ष प्रसुतिकर्मीबाट ३ सय १८ जना, दक्ष स्वास्थ्यकर्मीबाट ३६ जना, अन्य स्वास्थ्यकर्मीबाट २१ जना र घरमा नै प्रसुति हुने १४ जना किशोरी छन् । जिल्लाको १० वटै स्थानीय तहमा २० वर्षभन्दा कम उमेरका ५ सय ६७ जना किशोरीले पहिलोपटक गर्भवती जाँच गराएको तथ्यांक छ । यसले गर्भधारण गर्ने किशोरीको संख्या अझ बढी रहेको देखिन्छ । अस्पतालकै तथ्यांक विश्लेषण गर्दा अस्पतालमा प्रसुति गराउनेमध्ये ७ प्रतिशतभन्दा बढी २० वर्ष मुनिका किशोरी रहने पाइएको छ । किशोरी आमामध्ये कतिपयले २० वर्षभन्दा कम उमेरमै दोस्रो सन्तानसमेत जन्माउने गरेका छन् ।

मोबाइल फोन र सामाजिक सञ्जालको सहज पहुँचले साना उमेरका बालबालिकाबीच प्रेम सम्बन्ध हुने र त्यसले विवाहको रुप लिने क्रम बढाएको छ । किशोरावस्थामा सन्तान जन्माउँदा शिशु र आमा दुबैलाई जोखिम हुने गर्दछ । कम उमेरका गर्भवती महिलाले नर्मल बच्चा जन्माउन नसक्ने र अप्रेशन गर्नुपर्ने अवस्था बढी हुने गर्दछ । उनीहरुमा सुत्केरी हुने समयमा रक्तश्राव धेरै हुने, समय नपुगी प्रसुति हुने, बच्चा खेर जाने र आमा तथा बच्चा दुबैलाई ज्यानको जोखिम रहने गर्दछ । कानुनीरुपमा दण्डनीय र जैविक एवम् सामाजिक रुपमा अनुपयुक्त मानिएको बालविवाह अन्त्य नभएसम्म किशोरी आमा बन्ने क्रम रोक्न सकिन्न । कानुनीरुपमा दण्डनीय रहेको बालविवाहलाई निरुत्साहित पार्न सचेतना वृद्धिसँगै कानुनको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक छ ।