हेटौंडाः मकवानपुरगढी-५, बुङ्दलमा रहेको सरस्वती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा अर्जुनबहादुर रुम्बा चयन हुनुभएको छ । बिहीबार भएको विद्यालय व्यवस्थापन समिति सदस्यको बैठकले रुम्बालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
बुधबार विद्यालयको ३७ औं अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जनालाई सर्वसम्मत चयन गरेको थियो । भेलाले प्रेमबहादुर तितुङ, हिमबहादुर दोङ, विविमाया स्याङ्बो, बिना दोङलाई सदस्यमा चयन गरेको हो । उक्त समितिको सदस्यको बैठकले २ जना सदस्यलाई समेत मनोनित गरेको छ । गणेशबहादुर वाइबा र पूर्ण पाख्रिनलाई सदस्यमा मनोनित गरेको हो ।
यसैगरी वडाप्रतिनिधिमा पालिकाका सदस्यसमेत रहनुभएका अध्यक्ष रुम्बा नै रहने व्यवस्था गरिएको छ । शिक्षक प्रतिनिधिमा मैयाकुमारी गौतमलाई चयन गरिएको छ । विद्यालयका प्रधानाध्यापक चतुर्भुज पौडेल विद्यालय व्यवस्थापन समतिको सदस्यसचिव रहनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेमबहादुर तितुङको सभाध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष स्याङ्तानले नियमितरुपमा विद्यालयमा बालबालिकालाई पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
अभिभावकको तर्फबाट सुन्तलीमाया बलले सरसफाइलाई विशेष ध्यान दिई नियमितरुपमा बालबालिकालाई विद्यालय पठाउनु अभिभावक दायित्व रहेको बताउनुभयो । भेलामा नियमित आफ्ना बालबालिकालाई विद्यालय पठाएको भन्दै ३ जना अभिभावकलाई सम्मानित गरिएको छ । अस्मिता स्याङ्तान, विविमाया स्याङ्बो र विनिता लोलाई स्टेशनरी सामग्रीसहित सम्मान गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
भेलामा मकवानपुरगढी-५ का वडाध्यक्ष दिपेश दाहालको विशिष्ट आतिथ्य रहेको थियो । कक्षा-५ सम्म पठनपाठन हुने सरस्वती आधारभूत विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत् छन् ।