पहिला-पहिला पसलमा गएर चिया खाउँ न भन्दा फिक्‍का कि दुध हालेको भन्थे, १५–२० पैसा कप चिया हुन्थे, त्यो पनि तिर्न ठस-ठसी कन्थे। अहिले “ती दिन गए यी दिन आए मुईखाने ठाउँमा के जाती पलाए” भने झैं चियाको चर्तिकला बुझी नसक्नु भएको छ।

राजकुमार लामिछाने

चियाको शुरुवात कसले गर्‍यो, किन गर्‍यो र कसको मुखमा पहिला पर्‍यो भन्‍ने नालिबेली कहींकतै उल्लेख भएको पाइदैन तथापि एक जना चियापारखी भन्‍नु हुन्थ्यो- “हाम्रा भुँडीभित्रका सम्पूर्ण अङ्‍गहरु रातभरि सुत्‍ने अनि सबेरै घाँटी छेउमा आएर कतिखेर खाना आउला भनेर चियाउने भएकोले भुँडी देवतालाई खुसी पार्नका लागि हामीले एकाविहानै चिया खाने गरेको हौं।” यस्ता धारणा राख्ने भनौं वा यसको उत्पत्ति र आरम्भका सम्बन्धमा खोजी नीति गर्दै जाने हो भने चियाको प्रारम्भदेखिका बखान आरम्भ गर्नेहरु प्रशस्तै भेटिन सक्लान्। चिया विज्ञहरुले झन् प्रस्तावनादेखि उद्देश्य सम्मका बग्रेल्ती बाणीहरु बजार्दै अनेकौं तर्क आँक्लान।जे होस् उहाँहरुको चिया कथन आ-आफ्नै ठाउँमा होला तथापि आफूसमेत चियाबाट अछुतो भने रहन सकेको छैन।

केही दिन पहिलेको कुरा हो- भैरव स्मृतिसम्मान कार्यक्रममा ब्यस्त थिएँ। नेपाली हास्यव्यङ्ग्य साहित्यमा भैरब अर्यालले पुर्‍याउनु भएको योगदान र सर्जकका सिर्जना सुन्‍नमा मस्त थिएँ। एकजना दिदीले कार्यक्रम स्थलमा चिया लिएर आउनु भयो। मसँगै बसेका मित्रले चिया खान्‍न भन्‍नु भयो। मैले चियाको गिलास समाउँदै भनेः-

उहाँ चिया नखाएर त्यस्तो।

म चिया खाएर यस्तो।

किनकि चिया खाने र चिया नखाने हामी दुबैको शरीर उस्तै थियो।

चियाको कुरा गर्दा हाम्रै चिलिमे टोलको चिनीमायाको चियाको चर्चा चौतर्फी चलेको थियो।उनको चिया पसलमा चियाखान चारैतिरका मानिसहरु धाउँथे। कहीं नभेटिएका मानिसहरुसमेत चिनीमायाको चिया पसलमा आएपछि भेट गर्न पाउँथे। सबैले बडो आनन्दसँग चियाको चुस्की लाउँथे र तलतल मेटेर घरतिर आउँथे।

यो चियाको नसा साँच्चै अचम्म र उदेक लाग्दो हुँदो रहेछ। बिहान सबेरै चियाको चुस्की नलगाई बिस्ताराबाट सिरक फाल्ने र मझेरीमा खुट्टा चाल्ने सायद कमै होलान्। मेरा मामाघरका माइला मामाका माइला छोरा मनहरि मझगैया चिया नखाई बिहान उठ्नै सक्दिन भन्‍नु हुन्थ्यो। भाउजुले “ए हजुर चिया आयो उठिस्यो” भनेपछि दाइ हाई गर्दै बिछौनालाई वाई गर्नुहुन्थ्यो।

एकचोटी मेरा अति नै मिलनसार मित्र ताराचन्द्र तिराकोटीलाई भेट्न बारा गएको थिएँ। म मस्त निद्रामा परेको रहेछु। स्टोभको आवाजले बिउँझिए। यसो घडी हेरेको त रातको 1:00 बजेको रहेछ। निद्रा बिउँझे पनि निदाए झैं गरिरहें। साथीले मेरो सिरक पन्छाउँदै “चिया खानुहुन्छ ?” भनेर मलाई कोट्‍याउनु भयो। मैले भर्खर निद्राबाट बिउँझेको बहाना गर्दै खान्‍न भनेर जवाफ दिएँ। हेर्नोस् त चियाको चक्‍कर।

यो तरल भैकन असाध्यै सरल पनि छ।सबैको घरमा पस्छ, सबैसंग खुशी भएर बस्छ, जतिबेला खानमनलाग्यो, जतिखेर तिर्सना जाग्यो, उतिबेला तयार हुन्छ, सबैका हृदयलाई छुन्छ तथापिकहिलेकाहीबिभिन्‍न बहानाबाजीबुन्छ।ओमनगरका अनमोल ओस्ती एकदिनगुनासो गर्नुहुन्थ्यो-” अचानक अतिजरुरी अडचन आइपरेरअर्मलेकोअड्डामा गएको थिएँ। गणतान्त्रिक गम लगाएर कर्मचारी कुर्चीमै टासिएर बसेका हुन्छन भन्‍नेगर्जन गाउँसम्म आइपुगेको थियो।तर,नेमप्लेटमा “भित्र”भनेर लेखिएपनि शाखा प्रमुख अपर्झटआनन्द ओस्तीआफ्नो आसनमा आसिन थिएनन्। सेवाग्राहीहरु उनैलाई कुरिरहेका थिए।उनको कोट कुर्सीमा हाँसिरहेको र टोपी टेबुलमा टाँसिरहेको थियो। आफ्नो कुर्सीमा बसेर काममा कसिनु पर्ने समयमा अन्यत्र बुर्कुसी मारेको र सेवाग्राहीलाई अलपत्र पारेको देखेपछि अर्का कर्मचारीलाई सोध्दा उनले जवाफ दिए- “उहाँ चियाखान जानु भएको छ।”धेरै दिन धाए,बल्ल बल्ल काम मिलाएर आए।

फेरी यसको पावर मोवाइलको टावर भन्दा पनि चर्को छ।चियाको टुकटुके टोकनको टावर टपक्‍क लाग्यो भन्‍ने जस्तोसुकैको काम पनि थपक्‍कभइहाल्ने।टुकटुके टोकन लागेन भने हुनेकाम पनि नहुने भनेर लतक्‍क गाल्ने।एकदिन पारीपिपलधाराका प्रधुम्न प्रसाद परासर भन्दै हुनुहुन्थ्योः-“सानो काम परेर सदरमुकाम गएको थिए।सबै कागज प्रमाण पेस गर्दा समेत काम हुने छाटकाट देखिएन।जतिखेर पनि ढड्डा पल्टाएर अड्डामा प्रमाण पुगेन भनेर पर्खाएको पर्खाए गरे।दुई-चार दिन बितिसक्दा पनि कामनभएकोले जिल्लाराम परे। जतिप्रमाण पेस गर्दा पनि काम हुने चालनदेखेपछि आफूजस्तै सेवा लिन आएका एकजनालाई बेलिबिस्तार सुनाए।उनले भनेअनुसार सानो कागजमा पोको पारेर प्रमाण फुत्‍त भित्रफाल्दिएको तुरुन्तै कामसकेर कागजात मेरो हातमा हाल्दिए।

चियाका विशेषताहरु भनिसाध्य र गनिसाध्य छैनन्।कुन पार्टी फुट्‍यो,कसले कति लुट्‍यो,कसले कसलाई कुट्‍यो, सबै खबर चिया पसलबाट थाहा पाउन सकिने। सरकार ढाल्नेदेखि सडकमा आगो बाल्नेसम्मका गफ चिया पसलमै हुने।सत्ता र बिपक्षीहरु एक आपसमा नाङ्गिए पनि, सोझ्याउनै नसक्ने गरी बाङ्गिए पनि,राती कोल चाटे पनि, उछित्तो हुनेगरी कुरा काटे पनि आखिर पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएपछि “तैं चोर मै चोर मिलाउँ अब एकताको स्वर” भने झैं चिया निल्यो, कुरा मिल्यो हेर्नोस् त चियाको कमाल।

बहानासँगै यसका चाहना पनि थुप्रै छन्- जे गर्दा पनि चिया नै अगाडि सर्छ र सम्मान गर्छ। कसैको स्वागत गर्नुपर्‍यो चिया, बिदाई गर्नुपर्‍यो चिया,पाहुना जाँदा चिया, आउँदा चिया,कसैसँग भेटभयो चिया, कही लेटभयो चिया,मुख धोयो चिया, पुस्तक फोयो चिया, खाना खायो चिया, गाना गायो चिया, टाउको दुख्यो चिया, झाँक्रीले फुक्यो चिया, शरीर गल्यो चिया, पेट चल्यो चिया, अड्डामा गयो चिया, ढड्डा हेर्‍यो चिया…जहाँ पनि जहिले पनि सबैको सत्कारमा जुट्‍ने चियाको चर्तिकला साँच्‍चै बुझिनसक्नु छ ।

धनीदेखि गरिवसम्म, बच्चादेखि बुढासम्म,रोगीदेखि भोगीसम्म, महात्मादेखि जोगीसम्म, सोझादेखि बाङ्गासम्म भोकादेखि नाङ्गासम्म, छुल्याहादेखि मुल्याहासम्म, बरदेखि बधुसम्म फटाहादेखि साधुसम्म सबैलाई चियाको चुस्की नलगाई चित्तै नबुझ्ने।आफू पनि चाउरिएको चुम्सो शरीरमा चमक भर्न चिसापानी चउरमा चिटचिट पसिना काट्दै घुमफिर सकेपछि उही चिनीमाया साहुनीको चिया पसलमा पुगे र आग्रह गरेः-

“साहुनी चिया खाउँ न।”

साहुनीले सोधिन कुन चिया हजुर ?

मैले जिज्ञासा राखें यहाँ कस्ता कस्ता चियाहरु पाइन्छ र ?

साहुनीले चियाको प्रकार र ग्राहकको रुचीका सम्बन्धमायसरी बताउन थाल्नु भयोः-

1. मटका चियाः-मिठो बोलेर ग्राहक फकाउने, मन्दगतिमा चिया पकाउने अनि माटोको कपमा हालेर दिने। माटोको भाँडो नफाल्ने, चुहिने चर्किने भएमा नरम माटोले लुपुक्‍क टाल्ने,कसैले नदेख्ने गरी धोएर सुकाउने,लुकाउने र अवस्था हेरी फेरी फुकाउने। यो चिया सबैले मनपराउछन् तथापि माटो,बाटो र खेतवारीको पाटोको विकासका लागि निकास भएकोबजेट आफ्नैभूँडीमा चेटगर्नेहरु यो चियाप्रति बढिआकर्षित हुने गर्दछन्।

2.प्लाष्टिक चियाः– शिसा र स्टिलको कपलाई विस्थापित गर्ने,प्लाष्टिककोउत्पादनलाई स्थापितगर्ने, गिलासको पिंधमै हराउने दुई घुट्‍काचियामाचित्त बुझाउने र जताततै प्लाष्टिक कप फालेर फोहोर फिजाउनेहरु यो चियाप्रति नजर लगाउनेगर्दछन।

3.सख्खर चियाः- सामान्यतयायो चिया तातोपानीमा चियापत्ति हालेर पकाउने अनि तातोपानीसंगै सख्‍खर टोक्दै खाने चिया हो। यस्तो चिया गाउँघरतिर चिनीको अभावमा बढि प्रयोग गरिन्छ। तथापि उखु किसानलाई मार्ने, स्वदेशी सख्खर उत्पादनलाई पछि पार्ने र देशको अर्थतन्त्र छिमेकतिर सार्ने प्रबृतिले भरिएकाहरु यो चियाप्रति खुशी हुने गर्दछन्।

4. खरानी चियाः- ओदानमा कसौडि बसालेर चिया पकाउने। आगो नबलेर फुक्दा फुक्दा खरानी उडेर कसौडिमा पस्ने र चियामा खरानी बस्ने। यो चिया प्रायःजसो गाउँका गरिबहरुले पिउने र जिउने गर्दछन।तथापि तिनैलाई तर्साउने, अनेकौ आश्वासन बर्साउने, बेलाबेलामा गाउँ जाने, फूलमाला र नमस्ते खाने।मुखले माया गरेको जस्तो गर्ने तर ब्यवहारले गरिवहरुलाई खरानी बनाउनेहरु यो चियाप्रति बढी चाख राख्‍ने गर्दछन्।

5. फर्सिझोले चियाः– सधै समृद्धिको गीत गाउने तर सम्बृद्धि कहिले आउने चाल नपाउने, सधै अभाव झेलिरहने, आश्वासनको रोटेपिङ्गमा खेलिरहने, महंगीले ढाड सेकेका, पाकेका फर्सिमा तरकारी र चिया दुबैको सपना देखेकाहरुले भित्रको झोलको चिया र बाहिरको खोलको तिउन पकाएर मुखमा लिउन लगाउनेहरु यो चियाप्रति रमाउने गर्दछन्।

6. हुक्‍का चियाः- दुध नहालेको फिक्‍का अरुभन्दा अलि सस्तो, खाँदाखेरी हुक्‍काको पानी जस्तो ठुस्स गनाउने, शरीरलाई हल्का स्वस्थ बनाउने भएकोले प्रायः यो चियालाई सबैले सहमति जनाउने भएपनि हुक्‍का समातेर आफ्नै कहानी छाँट्‍ने, सोझा साझालाई ऋण दिएजस्तो गरेर उसको गैरीखेत साट्‍ने, चक्रबृति ब्याजको डोरी बाट्ने, चश्‍मानाकको डाँडीमा सारेर नजर कर्काउने र ऋणीलाई चिलिम फर्काउनेहरु यो चियाप्रति नजिक हुने गर्दछन्।

7. चकलेटी चियाः- एक माना दुधलाई आधा माना हुने गरी तताउने। चिनी चियापत्ति चटक्‍क मिलेको, घुटुक्‍क पिउदा लुटुक्‍क निन्द्रा लाग्ने। यो चियाप्रति कसैले खोट लाउँदैन तथापि सबैले खान पाउँदैन। जोसँग शक्ति बलियो, रुपैयाँको खलियो छ उनीहरु यो चियाको चुस्की मज्जासँग लगाउने गर्दछन्।

8. वेस्वादी चियाः- चिनी नहाल्ने, चियापत्ति मात्र मिसाउने, खाँदा कुनै स्वाद नहुने जिब्रो रिसाउने, जवानीमा जीवन तताएका, उमेर ढल्दै गएपछि सुगरले सताएकाहरु यो चियाप्रति निकट हुने गर्दछन्।

9. पोके चियाः– लामो धागोमा तुरलुङ्ग झुण्डिएर फल्ने, दुध या तातोपानीमा हाल्ने बित्तिकै लुतुक्‍क गल्ने, जता ढलायो उतै ढल्ने, ठूलालाई मायाले घेर्ने र सानालाई पटक्‍कै नटेर्ने यो चियाको स्वभाव गणतन्त्रसँग मिल्दोजुल्दो छ। बिकट बस्तीमा आएको बजेट समेत सुगमको तारेहोटलमा बसेर स्वस्ती गर्न पल्किनेहरु यो चियाप्रति बिशेष ढल्किने गर्दछन्।

10.अर्गानिक चियाः– विभिन्‍न सस्थाहरुले थरिथरिका कलर र झलर लगाएर पिठ्यू सड्किएकोदेखि पेटमा ग्यास अड्किएकोसम्म सबै ठीक हुन्छ भनी विभिन्‍न विज्ञापन गर्दै स्वदेशी हर्रो, बर्रोको नाम बेचेर विदेशी डलर भित्र्याउन चलखेल गर्नेहरु यो चियाप्रति बढी रुची राख्‍ने हुने गर्दछन्।

हजुरहरुले साहुनीको मुखारबिन्दबाट बर्णित चियाको नालिबेली चाल पाइहाल्नु भो। म त बडो दुबिधामा परे। लौ न सुटुक्‍क बताई दिनुहोस कुन चिया मगाउन ठीक होला?

इति पढिसकेपछि यसमा भएका कमि कमजोरी र सुधारका लागि प्रतिक्रियाको अपेक्षा गर्दछु।