यतिबेला आम विश्व समुदायनै कोरोना भाइरसको संक्रमणको जोखिमबा हुने क्षतिको त्रासबाट ग्रस्त छ । संसार नै कोरोनाबाट बच्ने उपायकै खोजीमा छ । कोरोनाले देशप्रेमको भावनालाई पनि बढाएको छ । संसारभर छरिएर रहेका नागरिक दुखका बेला देश सम्झिरहेको छ । यस्तो सन्दर्भमा कवि वत्सराज कोइराला देशप्रेमको भावनालाई कवितामा प्रस्तुत गर्नुभएको छ । संसारभर हरेक व्यक्ति आफ्नो ज्यान जोगाउने चिन्तामा रहेका बेला वत्सराज कोइराला देश सम्झिहरनुभएको छ ।
देशप्रेमः एक अभिष्ट कामना

वत्सराज कोइराला
एउटै तन होस् सारा सबैको मन एक होस् ।
नासिउन् शत्रुता भाव सबैको चित्त शुद्ध होस् ।।
दुःख दर्द सबै भागुन् देश नेपालको सदा ।
जनता शानले बाँचुन् राष्ट्रको शिर होस् उँचा ।।१।।
तिमी मालिक हौ आफ्नै देशसेवक बन्नु छ ।
यो जन्मभूमिको माया छातिभित्र सँगाल्नु छ ।।
उत्साह नदिउँ मर्न कर्तव्यपथमा हिंडौं ।
आशाको दीप बालेर कर्मको युद्धमा भिडौं ।।२।।
राष्ट्रले काँचुली फेरोस् फक्रियोस् देशको फूल ।
पराइ कोही नै छैनन् नेपाली एउटै मूल ।।
आपसी द्वेष त्यागेर प्रेमभाव बढोस् यहाँ ।
यस्तो सुन्दर सृष्टि नै पाउनु छ अरु कहाँ ।।३।।
एउटै बोट हो हाम्रो अनेकौं फूल फक्रिने ।
अनेकौं मुटु हो हाम्रो एउटै भाव धडकिने ।।
एउटै गीतमा सारा हामी नेपाल रच्दछौं ।
नेपाली कहिल्यै हामी ननिभ्ने दीपज्योति हौं ।।४।।
यही स्वदेशी माटोमा पसीना झार्नुपर्दछ ।
चेतना दीप बालेर कर्तव्यनिष्ठ बन्नुछ ।।
सबैको लक्ष्य हो यौटै देशसेवाप्रति जुटौं ।
साझा नेपाल यो हाम्रो यसैनिम्ति मरौं मिटौं ।।५।।
******