हेटौंडाः १३ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले सटफुट थ्रो गरेर उद्घाटन गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत अहिलेसम्म सटफुटका खेल सम्पन्न भएको छ । पुरुष र महिला सटफुटतर्फ मकवानपुरको बागमती गाउँपालिका–५ स्थित देवकी माध्यमिक विद्यालयले दुवै स्वर्ण जितेको छ । महिला सटफुटतर्फ ७ दशमलव ८४ फिट थ्रो गर्दै देवकी माध्यमिक विद्यालयकी प्रमिला वाईबा प्रथम भएकी छिन् । पुरुषतर्फ १२ दशमलव ४० फिट थ्रो गर्दै देवकीका उमेश माझी प्रथम भएका छन् ।
प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरु सन्चालन हुनेछ । प्रतियोगिता भोलि आइतबारसम्म चल्नेछ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीको सभाध्यक्षमा प्रतियोगिता भएको हो । उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाका प्रमुख हिदम लामा लगायतको आतिथ्य रहेको थियो ।