गायन प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्वागत गीत प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको आयोजनामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिताको आयोजना गरेको छ । भीम विरागको स्मृतिमा विद्यालयले पहिलो पटक गायन प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा २ वटा सरकारी विद्यालय तथा १२ वटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका प्रिन्सिपल श्याम कुमार बानियाँले जानकारी दिनुभयो । प्रतियोगितालाई हरेक वर्ष आयोजना गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रतियोगिता आयोजना गर्न ७० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्यालयका प्रिन्सिपल बानियाँको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको पनि आतिथ्य रहेको थियो ।