हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–११ सिरुडाँडामा आइतबार राती १० बजेर ५० मिनेटको समयमा सांसदको गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जैसवालसहित गाडी चालक घाईते भएका छन् ।
कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च २९६४ नम्बरको कार र वीरगञ्जबाट माछा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–०२७ च २३६५ नम्बरको योद्धा पिकअप एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा सांसदको कार चालक पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ बस्ने २९ वर्षीय सन्त महत्तो थारु घाईते भएका छन् । थारुको हात र खुट्टामा सामान्य चोट लागेको छ ।
यस्तै, कारमा सवार सोही स्थानका महुवन टोल बस्ने ४५ वर्षीय स्वतन्त्र सांसद प्रमोद जैसवाल घाईते भएका छन् । जैसवालको देब्रे खुट्टामा सामान्य चोट लागेकोमा हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ । योद्धा पिकअप गाडीका चालक बाराको कलैया उपमहानगरपालिका–१४ बस्ने २३ वर्षीय कलाम अंसारी लगायत २ जना रहेका थिए । उनीहरुलाई केही पनि नभएको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ । दुर्घटना भएको दुबै सवारी साधनमा क्षती भएको र घटनास्थलमा नै रहेको छ ।