जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा भेट्रान्सतर्फ उपाधि विजेता दीपक बुढाथोकी र रामप्रकाश प्रधानको जोडी ।

हेटौँडा : दोस्रो संस्करणको जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि खुलातर्फ रेवती कार्की र सुरेन्द्र श्रेष्ठको जोडीले जितेको छ । यस्तै भेट्रान्सतर्फ दीपक बुढाथोकी र रामप्रकाश प्रधानको जोडीले जितेको छ ।

आइतबार हेटौँडा–११, थानाभर्‍याङस्थित बुहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको फाइनल खेलमा खुलातर्फ रेवती कार्की र सुरेन्द्र श्रेष्ठको जोडीले नरेन्द्र मोक्तान र विरु गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै भेट्रान्सतर्फ देव घिमिरे र विनोद राईको जोडीलाई दीपक बुढाथोकी र रामप्रकाश प्रधानको जोडीले २–० को सोझो सेटले हराउँदै उपाधी जितेको हो । मकवानपुर जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष देव घिमिरेको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१४ का वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो ।

प्रतियोगिता अन्तर्गत खुलातर्फको उपाधि विजेता जोडीले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने भेट्रान्सतर्फको उपाधि विजेता जोडीले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्स तर्फको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गरेको छ । तृतीय हुने खुलाको टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरेका छन् ।

खुलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै अजय बजगाईं र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडी घोषित हुँदै मान बहादुर लामाले समान एक÷एक हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् । गत वर्षभन्दा यस वर्ष पुरस्कारको रकम बढाइएको छ । हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा नगर खेलकुद विकास समितिको समन्वयमा शुक्रबारबाट सुरु भएर आइतबार सम्पन्न भएको प्रतियोगितामा ६० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा खुलातर्फ ४१ टिम र भेट्रान्सतर्फ १९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका लागि हेटौँडा–११ नम्बर वडा कार्यालय, मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौँडा–१० स्थित नारायणी कलेज प्रायोजकको रुपमा रहेको थियो । यस्तै, हेटौंडा–५ पिप्लेस्थित रिगल हेटौँडा रिसोर्टले खुल्लातर्फको प्रथम पुरस्कारको सौजन्य गरेको थियो भने भेट्रान्सतर्फको प्रथम पुरस्कार भेट्रान्स खेलाडी धन थापाले प्रायोजन गर्नुभएको थियो । यस्तै, व्याडमिन्टन संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) ले ५१ हजार रुपैयाँको नगद सहयोग गर्नुभएको थियो ।

समापन समारोहमा हेटौँडा–११ की वडाध्यक्ष जुना दहाल, नगर खेलकुद विकास समितिका सदस्य यज्ञ बहादुर राय (विनोद), नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोम बहादुर तितुङ लगायतको उपस्थिति रहेको थियो ।