प्रतियोगिताको उद्घाटनमा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता–२०७९ को उद्घाटन समारोह भएको छ । सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा उद्घाटन समारोह भएको हो ।

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सोमबार र मंगलबार गरी दुई दिन सञ्चालन हुने चन्द्रोदय माविका प्रधानाध्यापक तथा प्रतियोगिताको छनौट संयोजक जितराज ढकालले बताउनुभयो । त्यस्तै, प्रतियोगिता अन्तर्गतका कराँते र उसुका खेलाडीहरु आइतबार नै छानिसकेको र अन्य खेलहरु एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरु सोमबार र मंगलबार सकिने ढकालले बताउनुभयो । यसका लागि विभिन्न खेलका खेल संयोजकको बाडफाँड भइसकेको उहाँले बताउनुभयो ।

उद्घाटन समारोह हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौैलागाई, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, प्रतियोगिताको छनौट सदस्य सचिव राजाराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।