चुडाराज उप्रेती

मान्छेका असिमित कामनाहरु हुन्छन् । रहरहरु मनका कुना कुनामा बाध्यता र विवशताका बिच लुकेर बसेका हुँदारहेछन्, सामान्य सम्भावनामा पनि रमाईहाल्ने । मन सदा स्वतन्त्र । जता जहाँ चाह्यो, त्यहीँ । एक छोटो निमेषमा विशाल बम्हाण्डको कल्पना गर्न सक्ने जस्तो । शरीर त भौतिकताको उपस्थिति जस्तो । प्रतिनिधित्व जस्तो मात्रै । शरीर र मनको फैसला अंकमा सम्भव कसरी होला र ? हेर्दा सँगै, तर कस्तो गहिरो । मान्छे पिच्छेका अनुभव होलान्, कसैको आफ्नै शोख होला, मेरो घुम्न भनेपछि कहाँबाट एउटा तरङ्ग वा झनझहाट मनमा महशुस हुन्छकी खर्च र समय आफैं मिल्दोरहेछ ।

वाह, मन नै त हो । हैन भने काठमाडौंबाट विश्वदाजुले एक कलमै अन्नपुर्ण पदयात्राको लागि जाने भन्नेबित्तिकै कसरी तयारी हुन्थे र ? म र समय बिचको तालमेल कहिल्यै बसेन । सधैं अस्थब्यस्त । कहिले घडीको सुईसँग मेरो दिनचर्या मिल्दै मिलेन । यो बानीले धेरै साथीभाई, आफन्तबिच असमझदारी बढेका छन्, धेरै अवसरहरु गुमेका छन् । मनमा कतै नजिकैबाट हिमाल छुने, प्रकृतिको लीलालाई महशुस गर्ने लालशा थियो होला सायद । प्लेनको सानो र्यालबाट टाडै सही, ठुलासाना हिमाल त देखेकै हो, तर नजिकैबाट दृश्यावलोकन गर्ने सौभाग्य पाईएको थिएन । पुन हिलबाट बाईनाकुलरले हेरेर के चित्त बुझ्थ्यो र मलाई । त्यसैले सबथोक छाडेर तयार भईयो । मेरो लुकेको बिषेशता यो पनि एक हो ।

गएकै दिन साँझ लेकसाईट पुगियो । पोखरा पुगेर फेवा छेउ पुगिएन भने पोखरा नै नपुगेको झैं लाग्ने आफुलाई । माच्छापुच्छे छायांमा मधुरो बत्तीबिचको मायावी फेवा । आह । पारी बस्तीका झिलिमिली । साँझको लेकसाईट नियाल्दा युवा नेपालको चित्र महशुस हुन्छ मलाई । त्यही नजिकै लेकसाईट स्थित एक होटलमा फेसबुक पेजमार्फत् काठमाडौंबाटै दाजु महेशले टुर प्याकेजको कुरो गर्नुभएको रहेछ, सम्पर्क गर्न गईयो । अझैंपनि नेपाली पयर्टनकर्मीहरु ब्यबसायिक हुन नसकेको मलाई भान भयो । देखाउने एक भन्ने एक, गर्ने एक । क्या अचम्ममा परियो । तैपनि भोलीबाट यात्रा शुरु गर्ने निधोसहित लेकसाईट झरियो । लामो समयको संगतका पुराना दाजुहरु मेरा, उहाँहरु चाहिँ सहपाठी । बेलुकाको समय, एक दुई प्याक खाने विचारसहित होटल चाहारियो । केहि बर्ष पोखरामा कार्यथलो बनाएका दाजु महेशले चिनेको माईली दिदीको थकाली खोजियो ।

तिहारको भोलीपल्ट भएकोले बन्द रहेछ । त्यस्तैमा एक होटलमा पसियो र जमियो मज्जाले । गफगाफ, रमाईलो गर्दागर्दै बजाईएछ रातको झण्डै एक । पिईएछ मज्जैले । हल्लिदै गएर सुतियो । बिहान आठ बजे जम्मा हुने कार्यक्रम थियो । हतारहतार उठेर तयारी भईयो । टुर गाईड आएकै रहेनछ, अरु हामीबाहेक पाँचजना टिम रहेछ, जम्मा ९ सदस्यीय टोली हामी, एक गाईड, एक भरिया गरेर ११ जना । आजको हाम्रो बसाई सुनाए गाईडले अप्पर सिनुवा भनेर । दिउँसोका लन्च चाँहीे झिनुंमा रे । पुर्व बैंकर शुशिल जोशी तथा उहाँको पत्नी डा. बिभु प्रधान, उहाँहरुकै आफन्त दाजु भाउजु र एक काठमाडौं बुढानिलकण्ठ घर भएका एक अर्का सदस्य । लगभग बिहानको १० बजिसकेको थियो पोखरा छोड्दा । जिरो किलोमा केही अलमल भयो, एउटै गाडीमा सबै नअटाउने हुँदा त्यहाँबाट नयाँपुल, बिरेठाँटी हुँदै वारी झिनु दिउँसोको ३ बजेतिर पुगियो । झलुङ्गे तरेर पारी झिनुमा लन्च खाएपछि हाम्रो वास्तबिक यात्रा शुरु हुन्थ्यो अन्नपुर्ण आधार शिविर अर्थात् “ABC” । भिनुबाट ठाडै उकालो १ घण्टा ३० मिनेट उक्लीएँछि छोमरोङ्ग पुगिँदोरहेछ । मोटो शरीर भएकोले मेरो हिँडाई सुस्त थियो । मणि, महेश दाजुहरु नयाँ सहयात्रीहरुसँग चाडै घुलमिल हुनुभयो भने म र विश्वदाजु गफ मार्दै उक्लियौं । छोमरोङ्गबाट क्या मज्जाको दृश्य देखियो हिम लहरको, उक्लिएको थकान भुलेछौं । बाटैभरी बाटो नपुगेको ठाउँको हिमाली एकमात्र ढुवानी साधन खच्चरहरुको हुल घण्टी बजाउँदै ओहोरी दोहोरी गरीहेको भेट्यौं ।

महेश दाजुले ड्राईफुट बोक्नु भाको रहेछ, चपाउदैं बढ्यौं । अब हाम्रो केहि ओरालो, केहिसम्म बाटो हुँदै यात्रा शुरु भयो । विश्वदाजु र म त अगाडी भएछौं, अरुहरु केहि पछाडी । धान्द्रुकको गाउँ हेर्दै हेर्दै रमाईला प्रसंङ्ग कोट्याउँदै हामी त तल झोलुङ्गे पुग्यौं । त्यहाँबाट तल्लो सिनुवा जम्मा एक घण्टा मात्रा, जुन आजको अन्तिम गन्तब्य । अध्यारो भएकोले मोबाईलको साहाराले बिस्तारै खुड्किलाहरु पार गर्न लागियो । झोलुङ्गपारी केही स्थानियहरु एउटा सानो पसलमा बसिराखेका थिए, मैले सोधिहाले, हामी आज बास बस्ने होटल कति समयमा पुगिएला ? भनेर । दुईले एकै स्वरमा कास्केली पाराको जवाफ फर्काए १५ मिनेटमै पुगिन्छ हऊ भनेर । कहाँ पुगिनु, लगभग लाग्यो ४०–४५ मिनेट हामीलाई । पहिलो दिनको बसाई अन्नपुर्ण बेस क्याम्प यात्राको रमाईलै भयो, सहयात्रीहरुसँग घुलमिल भईयो । एउटा सानो कोठामा चारवटा खाट रहेछ, त्यहीँ हाम्रो टिम बस्यौं अरु साथीहरु अर्को घरमा । गाईड केशव भाई चितवनका रहेछन्, २४/२५ बर्षे युवा । उहाँकै नातामा काका पर्ने भरिया हुनुहुदा रहेछ, जुन काठमाडौंका साथीहरुको लगेज बोकाउनुभएको थियो । पहिलो दिनको हिँडाईं, खास्सै थकाई त लागेको थिएन । हल्का चिसो थियो, खुकुरी रम र तातो पानी, अनी हाम्रो टोली, त्यसपछी के ने चाहियो र ?

अचम्म, बिहानै सात बजेको हुदों हो, एक गुरुङ्ग रोटी र चिया दिँदै गाईड भाई भन्छ तयार हुनुपर्याे । टुर अफिसमा बे्रकफास्टको मेनु अलग थियो, यहाँ यो ताल छ । डा. बिभु प्रधान हक्की स्वभावको । गाईडलाई हप्काएपछि ठिकठाकै बे्रकफस्ट आयो । ब्रेकफास्ट खाएर लागियो अप्पर सिनुवा तर्फ । बाटोभरी झरना, प्राकृतिक सुन्दरता हेर्दै अधि बढ्यौं । आफु खासै फोटोको सोख राख्ने परिएन । मणि दाजु, महेश दाजु, जोशी सर फोटो खिच्दै रमाईलो गर्न मन पराउने । बैंकर शुशिल सर रिटार्यड भएपनि एकदमै जोशीला । शारिरीक रुपमा तन्दुरुस्त । बाटाभरी हा……..हे……………. गर्दै बाम्बो पुगियो । अपर सिनुवाबाट बाम्बो सम्म त खास्सै उकालो नपर्ने रहेछ । हाम्रो दोस्रो दिनको लन्च बाम्बोमा थियो । यहाँ के मलाई उल्लेख गर्न मन लाग्यो भने, झिनुदेखि अन्नपुर्ण बेस क्याम्प सम्मको सम्पुर्ण होटल वा ब्यबसाय, धान्द्रुक बासीको मात्रै रहेछ । चाहे जे खाउ, जहाँ बस, घान्द्रुकबासीको नै अधिपत्य । एक किसिमको धान्दु्रकबासीकै बिर्ता जस्तो, रोल क्रमको कार्टेलिङ्ग जस्तो । सिजन शुरु हुनु पुर्वको हाम्रो यात्रामा बाटैभरी पर्यटक छन्, होटल खचाखच भरीएका छन्, तर ब्यबस्थित केहि छैन । पर्यटक सुचना केन्द्र, प्रहरी चौकी छोमरोङ्गपछि कतै देखिएन ।

प्राथमिक स्वास्थ्य चौकी या उपचार केन्द्र कहिँ कतै छैन । छन् त केवल होटलहरु, जुन सरसफाई नभएको, अत्याधिक महंङ्गो र एकैखालका खाना बेच्ने । हावापानी, बाताबरण अनुसारको खानेकुरा पाउनै मुस्किल । असुरक्षीत जस्तो लाग्ने । हुन त राज्यको ध्यान नपुगेर होला जे होस्, प्रकृति हामी सबैको हो । बाम्बोको लन्च पछि दोभान दिउँसोको कालो चिया खान पुगियो । रु. १ हजारमा एक थर्मस चिया बांडेर खायौं । अबको हाम्रो यात्रा हिमालय हुँदै रात्रीकालीन बसाई देउरालीतर्फ । दोभानबाट सबै सँगै फोटो खिच्दै, गफ गर्दै, गीतका भाका हाल्दै पुगियो हिमालय । महेश दाजुको ड्राई फुड मज्जैले खपत भयो । खोल्सो, भिरालो बाटो, झरना हुँदै अघि बढिरहयौं । बाम्बो माथी पुगेपछि पारीपट्टी डाडाँमा बुद्धको आकृतिको मुर्ति पहाडमा देखिने रहेछ ।
देउराली पुग्दा अध्यांरो भईसकेको थियो । झोला बिसायौं । मंसीरको दिनमा यस्तो जाडोकी, हात मुख धुनै नसकिने चिसोले । समुन्द्री सतहबाट ३२०० मीटरको उचाई थियो देउरालीको । कोठाहरु चिसा र साँघुरा थिए । खाना खाने टेवलमा एक हिटर जोडेको घण्टाको रु ३०० पर्ने रहेछ । जे जस्तो छ, मिलेर बस्यौं । भुईमा ढुंङ्गा छाएकोले झन् चिसो थियो । अपर सिनुवा पछि मानवबस्तीहरु रहेनछन् । देउराली त उचाईमा, घाम झुल्कने ठाउँमा होला भनेको त, खोचमा पो रहेछ । चिसो सिरेटो चल्ने । अनि के चाहियो ? ४ भाई, ४ गिलास । जे होस देउराली स्मरणीय रहयो ।

तेस्रो दिन मनमा छुट्टै उमङ्ग थियो, हिमाली फेदीमै पुगिन्छ भन्ने । त्यसैले त हाम्रो यात्रा उठ्ने, बे्रकफास्ट खाने अनि दिनभर हिडेर सुत्ने ठाउँमा पुग्ने जस्तो दौडादौड थियो । समय अभावले या आर्थिक पक्ष के हो ? सात दिने यात्रा पाचं दिनमा गाईडले सक्काउने तय गरेको थियो । देउरालीबाट बे्रकफास्ट पछि टोली अगाडी बढ्यो माछापुच्छ बेस क्याम्पतर्फ । देउराली पछि भने हामी समुन्द्री सतहभन्दा ३५०० मी उचाईमा हिँड्दै थियौं । अब भने हाम्रो फुर्ती सेलाए जस्तो लाग्यो । हाई अल्टिच्युडमा हिँड्न कठिन हुने रहेछ क्यार मलाई । बाटाभरी प्रकृतिले दिएको सुन्दरताको आनन्द लिँदै, कहीँ टोलीसँग जिस्कदै यात्रालाई सहज बनाउने कोशिस थियो मेरो । कहीँ ठाडो उकालो कहीँ तरपाईलो बाटो हुँदै अघि बढियो । बाम्बोबाट माथि जतिपनि होटल छन्, ती सबै होटललाई चाहिने सामग्री ढुवानी भरियाबाटै गर्ने रहेछन् । कुनै आपत बिपत पर्यो भने उधारका लागि ठाउँ ठाउँमा हेली प्याड रहेछ । घोडा, खच्चरले बाम्बोसम्म मात्रै सेवा दिने । सोध्दा काही देउता रिसाउँछन्, कहिंँ यहाँको चलन भनेर अस्पष्ट जवाफ पाएँ । खैर ठिकै छ जे होस, काँसघारी, साना बुट्याने मैदान हुँदै बढ्दै रह्यौं । तिहार लगत्तै छुट्टीले होला, बाटैभरी नेपाली पदयात्री युवाहरु प्रशस्तै भेटिने । केही पछिल्ला बर्षहरुमा नेपालीहरुमा पनि साहाशिक यात्रा गर्ने, घुम्ने बानी बढेको छ । नजाने गाउँको बाटो नसोध्ने नेपालीहरु अब नयाँ गन्तब्य सोधी खोजी जान थालेको पाईन्छ । दिउँसो त्यस्तै २ बजेतिर पुगियो माछापुछ आधार शिविर ।

वाह, मनमोहक ३७०० मीटरको उचाईमा हामी थियौं, हावाको सिरेटोले स्वागत गयौं भनौं । आलु र मस्यौराको तरकारी, भात अनी एक हरियो डल्ले खुसार्नी । अक्सर म सोयाविनको मस्यौरा मन नपराउने मान्छे । मलाई लाग्छकी भटमासको चाहिने कुरा जति निकालेर छोक्रा मात्रै हो सोयाविनको मस्यौरा । कहीँ मस्यौरा, कहीँ न्यूटृला पनि भन्दारछन् । चिसो, त्यसमाथी हिमालको दृश्य, जे खाएपनि आनन्द आउने, रुच्ने । अघिसम्मको थकाई कहाँ हो कहाँ हरायो । शहरको कोलाहलबाट बाहिर न मोबाईलको नेटवर्क, न अन्य सम्पर्क साधन । देउराली माथिबाटै मोबाईलको नेटवर्क हराउने रहेछ । होटलमा नाममात्रको वाईफाई थियो, जुन एक मोबाईलमा कनेक्ट गरेको रु ३००, तर पटक्कै नचल्ने खालको । कोरियन संस्थाले प्राथमिक उपचारको सानो भवन बनाएको रहेछ, जुन बन्द थियो । केही साथीहरु आउँदै थिए, हामी चांही होटलबाहिर केही तस्वीर माछापुछ«े हमिाललाई पृष्ठभुमीमा राखेर खिच्न थाल्यौं । जे हो स्मरण त रहन्छ । जीवन भनेकै आखिर स्मृतिको तरेली पनि त हो ।

हाम्रो आजको गन्तब्य चाहीं अन्नपुर्ण आधार शिविर, बास बस्ने ठाउँ, हाम्रो यात्राको अन्तिम शिर, जुन अन्तिम चढाई थियो । माच्छापुच्छ आधार शिविरबाट तेर्सै तेर्सौ उत्तर पश्चिम लागियो । भनिन्छ नी, जब गन्तब्य नजिक हुन्छ अनि बढि थकान हुन्छ । मोटो शरीरको मान्छे म, अन्तिम म नै भएछु । विश्व दाजुले साथ दिनुभयो, मणि दाजु र महेश दाजु गफमै मस्त मौलाना हुँदै बढ्दै हुनुहुन्थ्यो । मंसिरको तेस्रो साता भएपनी खोल्सीहरुमा माथि जमेको शिशा जस्तो, तल पानी बग्दै थियो । उठार पठार, हेर्दै कहींँ फोटो खिच्दै अगाडि बढ्दै थियौं । आँखाले नजिक देखिन्थ्यो, पुग्दा समय लाग्ने । अब आईसक्यो, आई नै सक्यो भनेर विश्व दाजुले बल गरे भनौं, बल्ल बल्ल अध्यारों हुनै लाग्दा पुगें लगभग ४३०० मीटरमा अवस्थीत अन्नपुर्ण आधार शिविर ।

पोखरा छाडेदेखि मिठो त त्यस्तै हो, जे होटलमा पाक्छ त्यही खाने रहेछ । मेरो जिब्रो स्वादे भएर हो की । अध्याँरोमा पनि हिमाल पश्चिममा टल्केको देखिने । रातमा पनि उज्यालो लाग्ने । महेश दाजुलाई लेक लाग्याृ क्यार, वान्ता भयो । लौ आपत्, के गर्ने के नगर्ने । हुनत: डा. बिभा प्रधान सँगै हुनुहुन्थ्यो । लेक लागेकालाई राती नै बोकेर वा हिँडाएर कम उचाईको माछापुछ«े आधार शिविर वा देउराली झार्दा रहेछन् । लसुनको सुप खाएपछि धन्य केहीबेरमा सजिलो भएछ । होटलमा खचाखच स्वदेशी तथा विदेशीहरु । गन्हाउने ओड्ने ओडेर ७ नै बजे सुते म । सायदै ओढ्ने ओछ्र्याउने धुदाँ हुन् । मलाई सारै मुटु कमाउला जस्तो जाडो लागेर, टाउको दुखेर बाहिर निस्कनै सकिन । अलि पल्तिर क्याम्म बनाएर दुई गुरङ्गहरु खना बनाउदैं थिए, गीत गाउदैं । विश्व र मणि दाजुहरु यति उचाईमा खुकुरी रम खाएर साहासिक रेर्कड राख्दै थिए । त्यस रातभरीमा १ घण्टा पनि निदाउन सकिएन । सायद अक्सिजनको कमीले होला की ।

बिहान ४ बजे नै उज्यालो हुने रहेछ । घाम झुल्क्यो ,त्यस्तै ५ : ३० हुंदो हो, आहा,क्या सुन्दर लालिमा देखियो हिमचुली तर्फ । बिस्तारै अन्नपुर्ण १ र २ हुदैं झलमल्ल । पृथ्वीको स्वर्ग नै यहीं छ जस्तो आभाष । के शब्दमा ब्यक्त होला र ? ३ दिन देखि बिहान उठ्ने बित्तिकै हिड्या हिड्यै, आखिर यसैकै लागी त हो । आँखाभरी हेर्नकै लागि त हो । थकाई, खुट्टा भुईमा टेक्न नसकेको, जीउ दुखाई सब थोक भुलियो, मनमा छुट्टै क्या आनन्द भयो एक्कासी । जलबायु परिवर्तनले नराम्ररी असर गरेछ, हामी बसेको होटलबाट माथिपट्टी केही दुरीमा हिम पहिरोले ठुलो गहिरो खाडल बनाएछ । पहिले पहिले जसो मनग्यै हिउं नपर्ने रहेछ । केहीबेर स्थानीय होटल संचालक संग गफ गर्न मन थियो तर मेरो कुरो सुन्ने फुर्सद कस्को ?

आँखाभरी हिमचुली, अन्नपुर्ण १, २ र ४ राखेर मनभरी आनन्द लिएर फक्र्यौ । गन्तब्य आजको उचाईबाट ओर्लदै देउरालीमा लन्च र दोभानमा बास थियो । बिस्तारै बिस्तारै झर्दै गर्दा मेरो टाउको दुखाई हरायो तर खुट्टा दुखेर हैरान । बाटो बाटोमा उकालो लाग्दै गरेका यात्रीहरु अब कति समय लाग्छ ? सोधिराका थिए । हिजोसम्म हामी लखतरान भई अझै कति समय लाग्ला ? भनी सोध्थ्यौं, आज भनी दिदै थियौं । आज सल्लाह दिने पालो हाम्रो । सायद ५ बजे हुदों हो, दोभन पुगियो । संजोगले कामीरीता शेर्पा पनि हामी बसेकै होटलमा बास बस्दै हुनुहुदोरहेछ । हिउं चितुवाको नामले चिनिने किर्तिमानी २६ औं पटक सगरमाथा आरोहण गरेका कामीरीता दाजुको सरलताले मन छोयो । यात्रा लगभग सफल भैसकेको हुँदा हाम्रो साँझ मस्त भै त गो, समाईलो गर्दा गर्दै १० बजाईएछ । किनहो थाहा छैन, पोखरा छाडेदेखि राम्रो सँग निदउंन सकेको थिएन, आरामकै त निद्रा लागेन, निदाउंने प्रयास गरियो जसो तसो । बिहान बे्रकफष्टपछि हाम्रो अन्तिम दिनको अन्नपुर्ण यात्रा पोखरा गएर टुङ्गग्याउने लक्ष्य सहित हिडिंयो । जति तल झरिन्छ उति खुट्टा गल्यो । बढा मुस्किलले ३ बजेतिर झिनु पुगियो लन्च खान । केहि साथीहरु झिनुबाट आधा घण्टामा पुगिने तातोपानीमा बस्न गए, तर आफ्नो खुट्टाले दिएन ।

साँझ पोखरा पुग्न हतार, तर हाम्रो गाईडको कुनै ब्यबस्थित कार्य थिएन । नेपालीहरुमा ब्यबसायिक नैतिकता र जिम्मेवारीबोध कहिले आउने होला ? म र विश्वदाजुको अग्रसरतामा गाडी खोजखाज गरेर पोखरा पुगियो । बाटोमा विश्व दाजु र हाम्रै गाडिमा सवार ईजरायली दम्पतिबिच रमाईलो झगडा पनि भयो । धेरै दिनदेखिको थकान, निद्रा, पोखरामा विसाईने भैयो । महेश दाजुको फेवरेट माईली दिदिको थकाली भान्सा आज चांही खुलेको रहेछ, बजेछ खानपान गर्दा रातको १ जति । समीक्षा बैठक लामै भएछ । भोलीबाट आ–आफ्नो दिनचर्या शुरु गर्नु जो थियो ।