कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : साहित्य संगम मकवानपुरले नियमित सन्ध्यालाई सांगीतिक कार्यक्रमको रुपमा आयोजना गरेको छ । संगमको ३५३ औं नियमित साहित्य सन्ध्याको अवसरमा गायिका डोल्मा लामाले भेट्नु छुट्नु के हो ? स्वास्तिक दाहालले सबै चाहन्छन् बिरामी भएका र सुस्केरा परिवार लगायतले सांगीतिक प्रस्तुती दिएका छन् ।

संगमका अध्यक्ष डिबी बर्ताैलाको अध्यक्षता तथा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीले गीत, कविता, गजल र मुक्तक रचना वाचन गरेका थिए । साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नुहुँदै साहित्य र कला थप उजागर गर्न सांगीतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार तुल्सी घिमिरे, श्यामकुमार बानियाँ, सुवास खनाल, मुक्तिगोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, रामचन्द्र भण्डारी, कृष्णप्रसाद दाहाल, भावना सापकोटा, राजकुमार लामिछाने, एसके निधन, देवराज तिवारी लगायतको उपस्थिति रहेको थियो ।