मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाको बज्रबाराहीस्थित तरकारी खेती ।

हेटौंडाः मकवानपुर जिल्लामा जिल्लाभित्रकै तरकारीजन्य उत्पादन सहकारीमार्फत वितरणको तयारी भइरहेका बेला पहिलो चरणमै दोब्बर माग भएको छ । जिल्ला सहकारी संघ मकवानपुरको समन्वयमा जिल्लाका विषयगत सहकारी संघको सहभागितामा जिल्लाका कृषिजन्य उत्पादनको बजारीकरणको प्रयास हुन लागेको हो । पहिलो चरणमा पाँच सय प्याकेट तरकारी वितरण गर्ने योजना बनाएकोमा सोमबारसम्ममा छ सय ५० प्याकेट माग भइसकेको र भोलि मंगलबारसम्ममा दोब्बर पुग्ने अनुमान गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
थाहा नगरपालिकाको बज्रबाराहीका किसानले उत्पादन गरेको काउली र मूला २/२ केजी तथा मटरकोसा एक केजी गरी ५ केजीको प्याकेट बनाएर सहकारीको मागअनुसार वितरण गर्ने योजना बनाइएको छ । पहिलो चरणमा तीन सय प्याकेट वितरण गर्ने लक्ष्य लिएकोमा आज सोमबारसम्ममा छ सय ५० प्याकेट माग भएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो ।
बज्राबाराहीबाट सोमबार हेटौंडा तरकारी ल्याइने भनिए पनि मंगलबार मात्रै तरकारी हेटौंडा आइपुग्ने व्यवस्थापक आचार्यले बताउनुभयो । मंगलबार तरकारी हेटौंडा आइपुगेपछि प्याकेजिङ गरेर बुधबार सहकारी संस्थाहरुमा पुर्‍याइने उहाँले बताउनुभयो । तरकारी वितरणका लागि बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एउटा भ्यान उपलब्ध गराएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो । बज्रबाराहीको तरकारीको वितरण व्यवस्थापनको प्रभावकारिता हेरेर जिल्लाका अन्य क्षेत्रका कृषि उपजको पनि बजारीकरणको कार्य गरिने उहाँले बताउनुभयो ।
पहिलो चरणमा पाँच केजीको तरकारीको प्याकेट एक सय ३० रुपैयाँमा उपलब्ध गराइने जिल्ला बचत संघकी अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार पहिलो चरणमा पाँच सय प्याकेट ल्याउने भनिएपनि माग अनुसारकै ल्याउने तयारी पनि भइरहेको छ । विशेषगरी जिल्लाका बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबार गरेर राम्रो लाभ मात्रै लिएको भनिरहेका बेला किसान र उपभोक्तालाई लाभ हुने गरी तरकारी वितरण गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
लकडाउनका बेला कृषिउपज उपभोक्तासम्म पुर्‍याउन भइरहेको असहजतालाई ध्यानमा राखेर मकवानपुरका सहकारीहरुले कृषिउपज बजारीकरणमा सक्रिय भएका हुन् । पहिलो चरणमा हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७० पाकेट, हेटौंडा–५, पिप्लेस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले २५ पाकेट, हेटौंडा–१३, पदमपाखेरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० पाकेट, हेटौंडा–४, अजरअमररोडस्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ पाकेट, हेटौंडा–१२, पदमपोखरीस्थित कृषक जागृति सहकारी संस्था लिमिटेडले १० पाकेट माग गरेका छन् । यस्तै हेटौंडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक सय ५० पाकेट, हेटौंडा–२, मृगस्थलीपथस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० पाकेट, हेटौंडा–१५, रातोमाटेस्थित महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० पाकेट, हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० पाकेट, हेटौंडा–२, पुरानो मकवानपुररोडस्थित मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० प्याकेट, हेटौंडा–१२, पदमपोखरीस्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई सय पाकेट माग गरेको छ ।