हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः कुखुरापालक किसानले लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट दुई सय ६० रुपैयाँ पाउन थालेका छन् । आइतबार कुखुरा व्यवसायी संघ मकवानपुरले लेयर्स कुखुराको अण्डाको मूल्य दुई सय ६० रुपैयाँ कायम गरेको कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो । शनिबार बेलुका केन्द्रीय संघले निर्धारण गरेको मूल्यका आधारमा जिल्ला संघले पनि मूल्य निर्धारण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । यसअघि गत बुधबार कुखुरा व्यवसायी संघ मकवानपुरले कुखुरापालक किसानले लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ पाउने निर्णय गरेको थियो ।
किसानले अण्डाको लागत प्रतिक्रेट दुई सय ५० रुपैयाँ पर्ने भए पनि लकडाउनका बेला एक सय ७० रुपैयाँसम्ममा विक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले किसानका कुरा सुनेर किसानलाई लागत मूल्य दिलाउन, बजार व्यवस्थापन गर्न पहल गर्ने जनाएको थियो । संघका अध्यक्ष कृष्ण कटुवाल नेतृत्वमा संघका पदाधिकारीले किसानलाई भेटेर समस्याका बारेमा बुझ्ने प्रयास गरेको थियो ।
लकडाउनका बेला अण्डाको माग र खपत घटेको भन्दै सप्लायर्सले मूल्य घटाएको किसानको भनाइ थियो । लकडाउनअघिसम्म प्रतिक्रेट दुई सय २५ रुपैयाँसम्ममा अण्डा विक्री गरेका किसानले लकडाउन भएको एक महिना हुनै लाग्दा अण्डाको मूल्य क्रमशः घट्दै जाने र लकडाउन कतिसमय चल्ने अनिश्चित बन्दा कुखुरापालक किसान चर्को दबावमा थिए । कतिपय किसानले राम्रो अण्डा उत्पादन हुने बेलाको लेयर्स कुखुरा प्रतिगोडा दुई सय रुपैयाँका दरले विक्री समेत गरेका थिए । हेटौंडा–७, नागस्वतीका कुखुरापालक किसान रामशरण गौतमले आइतबारको नयाँ मूल्यले किसानलाई धेरै राहत भएको बताउनुहुन्छ । उहाँका अनुसार केही दिनअघिसम्म जिउँदो कुखुरा बेच्ने किसान अण्डाको नयाँ मूल्य सार्वजनिक भएसँगै अब दाना खुवाउन सक्ने भएका छन् । हेटौंडा–१६, हटियाका किसान कैलाश ढकालले भने चितवनमा लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट दुई सय ५० भइसक्दा पनि मकवानपुरमा भने कुखुरा व्यवसायी संघले अण्डाको मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ कायम गरेको बताउनुभयो ।