लामो समयदेखि हेटौंडा–१० स्थित साविक टीसीएनको टहरा र आसपास रहेको तरकारी तथा फलफूलको थोक बजार स्थानान्तरण भएको छ । हेटौंडा बजार क्षेत्रमा खपत हुने तरकारी तथा फलफूलको थोक खरिद बिक्रीका लागि बजार व्यवस्थापन गरिएको भए पनि सोही बजारका कतिपय बिक्रेताबाट खुद्रा तरकारी तथा फलफूलसमेत बिक्री भइरहेको थियो । हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा सञ्चालन गरिएको उक्त बजार अहिले उपहानगरपालिकाकै अग्रसरतामा हेटौंडा–१, राप्तीकिनारमा सरेको छ । उपमहानगरपालिकाले अहिलेको बसपार्क नजिक रहेको तरकारी बजार र आसपासको क्षेत्रमा सुविधासम्पन्न बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गरिरहेका कारण तरकारी तथा फलफूल थोक बजार सारिएको हो । सोही बजारका व्यवसायी र उपमहानगरपालिकाको केही लगानीमा अस्थायी संरचना निर्माण गरी बजार स्थानान्तरण गरिएकाले यसको स्थायित्वमा आशंका गरिएको छ । अर्कोतर्फ राप्ती खोलाको किनारमा बजार निर्माण गरिएकाले बाढी तथा डुबानको त्रास उत्तिकै रहेको छ ।
हेटौंडा बजारको मुख्य केन्द्र्र बसपार्कसँगै रहेको साविक बजारलाई मानिसहरुको आवतजावत निकै न्यून हुने सम्भावनाप्रति व्यवसायी सशंकित छन् । बजारनजिक मानिस तथा सवारी साधनको सहज आवागमन भइरहने स्थान छाडेर सुनसान स्थलमा सारिएको बजारको भविष्यलाई लिएर व्यवसायीहरु त्रसित देखिएका छन् । तर, तरकारीको मात्रै छुट्टै बजार र देशकै नमुना थोकबजार बनेर सञ्चालनमा आएकोमा उनीहरु उत्साहित पनि बनेका छन् । अहिलेको तरकारी बजार मुख्य बजारबाट खासै टाढा नभए पनि त्यस क्षेत्रमा मानिसको बसोबास न्यून छ । केही वर्षअघिसम्म राप्तीखोला बगिरहेको स्थानमा बजार निर्माण गरिएको छ । बजारसम्म जान कच्ची र साँघुरो बाटोको प्रयोग गर्नुपर्दछ । बागमती प्रदेश सरकारको लगानीमा राप्तीखोला किनारमा तटबन्ध निर्माण गरेर बाइपास सडक बनाउने भनिए पनि सडकको काम हुन सकेको छैन ।
अहिले थोक बजार बनाइएको क्षेत्रमा मानिसको बसोबास नहुँदा व्यवसायीले सुरक्षित महसुस गर्न पनि सकेका छैनन् । अर्कोतिर किसानलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन पहिला जति सुविधा नहुने देखिन्छ । साविकको बजार रहेको स्थान खाली गराउनकै लागि हतारहतार टहरा बनाएर बजार सारिएको छ । अहिलेको बजारमा शौचालय, खानेपानी, विद्युतजस्ता सामान्य पूर्वाधारको अभाव छ । बजारसम्म पुग्ने व्यवस्थित बाटो नहुँदा कृषक र व्यवसायी दुबैलार्ई तरकारी ओसारपसारमा समस्या हुनेछ । साविकको बजारमा जस्तो आम उपभोक्ता अहिलको बजारमा जाने सम्भावना निकै न्यून देखिएको छ । व्यवसायीहरुकै २ करोड बढी लगानी गरिएको उक्त बजारमा ७३ वटा थोक र ३३ वटा खुद्रा गरी १ सय ६ वटा स्टल छन् ।
कृषि क्षेत्रको विकासबाट मुलुकको ग्रामीण विकासमा सहयोग पुग्दछ । तर, व्यवस्थित बजार र वैज्ञानिक मूल्य प्रणालीको अभावमा नेपालको कृषि क्षेत्रको आशातित विकास हुन सकेको छैन । किसानले मिहिनेत गरेर उत्पादन गरेका कतिपय कृषिउपजले उचित बजार र मूल्य नपाउँदा किसानहरु मर्कामा परिरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका थोरै परिमाणका तरकारी तथा फलफूल बिक्री गर्ने उपयुक्त माध्यम वा संयन्त्रको अभावमा कृषिउपज खेर गइरहेको व्यवस्थित बजारको आवश्यकता देखिन्छ । अहिलेको बजारलाई खोलामा आउनसक्ने बाढी तथा डुबानको त्रासबाट मुक्त गरेर आवश्यक पूर्वाधारको उचित व्यवस्थापन गरी स्थायित्व दिनु आवश्यक छ । बजारलाई व्यवस्थित गरेर स्थायित्व नदिने हो भने त्यसमा गरिएको करोडौं लगानी डुब्नेछ ।