भलिबल खेल्दै खेलाडीहरु ।

हेटौंडाः जेसी आई बसामाडीको आयोजनामा जारी जिल्लास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहिबार र शुक्रबार हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो ।

बिहिबार विनयबाबु स्मृति प्रतिष्ठानले हुप्र भेट्रान्स टिमलाई २–० को सेटले हराउँदै समूह ‘क’ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै आमभञ्ज्याङ युवा क्लबले बज्रबाराही युवा क्लबलाई २–० को सेटले हराउँदै समूह ‘ख’ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै शुक्रबार बिहान पहिलो खेल आग्रा स्पोर्ट्स क्लब र हुप्र भेट्रान्स टिमबीच प्रतिस्पर्धा थियो । तर उक्त खेलमा हुप्र भेट्रान्स टिम अनुपस्थित भएपछि समुह ‘क’ को उपविजेता बन्दै आग्रा स्पोट्स क्लब सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै शुक्रबार बिहान भएको दोस्रो खेलमा बज्रवाराही युवा क्लबले ड्रिमर्स टिमलाई २–१ को सेटले हराउँदै बज्रवाराही युवा क्लब समूह ‘ख’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

शुक्रबार दिउँसो २ बजे पहिलो सेमिफाइनल खेलमा समूह ‘क’ विजेता विनयबाबु स्मृति प्रतिष्ठानले समुह ‘ख’ उपविजेता बज्रवाराही युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दिउँसो ३ बजे दोस्रो सेमिफाइनल खेलमा समूह ‘ख’ विजेता आमभञ्ज्याङ युवा क्लबले समूह ‘क’ उपविजेता आग्रा स्पोट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल पुस २ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।