विष्णुप्रसाद आचार्य डिभिजन प्रमुख डिभिजन वन कार्यालय राप्ती, मनहरी

डिभिजन वन कार्यालय राप्ती, मनहरीले वन र वातावरणको विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले विशेषगत विद्यालय तहका बालबालिकाका लागि उपयोगी भाषा, शैलीमा वातावरण शिक्षा शीर्षकको पुस्तक प्रकाशित गरेको छ । सोमबार हेटौंडामा एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गर्नुका साथै विद्यालय तहका केही विद्यार्थीलाई नमूनाको रुपमा हस्तान्तरण गरिएको थियो । वन, वातावरणको संरक्षण भनेको पर्यावरणीय संरक्षण मात्रै नभई मानव इतिहास, सभ्यता, संस्कृतिको रक्षा गर्नु हो भन्ने आशयले पनि बहस भइरहेको छ । यसैसन्दर्भमा डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः पुस्तक प्रकाशन गर्नुपर्ने आवश्यकता किन रह्यो ?

आचार्यः पछिल्लो समयमा विद्यालयहरुले विद्यार्थीलाई अंग्रेजी, विज्ञान, वातावरणलगायतका विषयहरु त पढाएका छन् । तर, विद्यार्थीहरु व्यवहारिकरुपमा भने सबै क्षेत्रमा क्रमशः कमजोर हुँदै गएका छन् । अगाडिको पुस्ताले सिकेका र सिकाएका संस्कार विपरित अहिलेका पुस्ताहरु बढी प्रविधिमैत्री भएका छन् । बुबाआमाहरु सामुदायिक वनको पक्षमा लागिरहेको भएपनि छोराछोरीहरु भने वनको बारेमा सामान्य कुराहरु पनि थाहा नपाइरहेको अवस्था छ । अहिलेसम्म हामीले वन जोगाउनु भनेको वातावरण, बोटविरुवा तथा जनावरहरु जोगाउनु हो भनेर बुझ्दै, सिक्दै र सिकाउँदै आएका छौं, तर बास्तवमा वन जोगाउनुु भनेको वातावरण, रुख विरुवा र जनावर जोगाउनुमात्र नभई इतिहास, संस्कृति, सभ्यता र समृद्धि पनि जोगाउनु हो भन्ने कुरा बुझाउने उद्देश्यले यो पुस्तक प्रकाशन गरेका छाँैं ।

समाजः वन जोगाउनुु भनेको वातावरण, रुखविरुवा र जनावर जोगाउनुमात्र नभई इतिहास, संस्कृति, सभ्यता र समृद्धि पनि जोगाउनु पनि हो भन्नुभयो, यसलाई कसरी बुझ्न सकिन्छ ?

आचार्यः हाम्रो सभ्यता सबै वनजंगलबाट आएको छ । हामी मूलतः हिन्दू र बौद्ध धर्मबाट गुज्रेकाले हामीलाई थाहा छ, गौतम बुद्धले रुखमुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । यस्तै, सम्पूर्ण सृष्टि, धर्म, साहित्य तथा संस्कृति वनसँग नै जोडिएका छन् । अधिकांश साहित्यहरु वन तथा वातावरणबाट नै अभिप्रेरित भएको हामी देख्न सक्छाँैं । अहिले पनि हामी धेरै इतिहास गुफा, कन्दरा तथा जंगलका कुनाकप्चाबाट प्राप्त भएको तथ्य पाउन सक्छौैं । त्यसकारण वनजंगल इतिहास, संस्कृति, सभ्यता र समृद्धिको अभिन्न पाटो हो ।

समाजः विद्यालय तहका विद्यार्थीहरुलाई यो पुस्तकले के के कुरा सिकाउँछ ?

आचार्यः यो पुस्तकले पहिलो कुरा त वन जोगाउनु भनेको साहित्य, इतिहास तथा सभ्यता जोगाउनु पनि हो भन्ने कुरा सिकाउँछ । अर्काे कुरा, मकवानपुर जिल्ला आफैंमा प्रकृतिको धनी छ र नेपालकै सबैभन्दा बढी जैविक विविधता भएको जिल्ला हो । तर हामीले यो कुरा बुझ्न र बुझाउन सकेनौं । त्यसकारण प्रकृतिका कुराहरु विद्यार्थीलाई पढाउनेमात्र नभई, व्यवहारिकरुपमा प्रत्यक्ष अनुभव गराइ बुझाउने काम यो पुस्तकले गर्छ । विद्यार्थीलाई शिक्षा दिनु भनेको सिंगो नयाँ पुस्तालाई शिक्षा दिनु हो । त्यसकारण हामीले विद्यार्थीलाई नै आधार मानी यो पुस्तक प्रकाशन गरेका छौं ।

समाजः तपाईंहरुले यो पुस्तकमार्फत् दिन चाहनुभएका कन्टेन्टअनुरुप नै विद्यार्थीहरुले बुझ्न सक्ने क्षमता कत्तिको राख्लान् त ?

आचार्यः हामीले यो पुस्तक विद्यार्थीलाई नै केन्द्रित गरी प्रकाशन गरेको हुनाले सरल र विद्यार्थीले बुझ्नसक्ने भाषामा लेखेका छौं । विद्यार्थीले अध्ययन गर्दा हामीलाई नै केन्द्रित गरी लेखेको हो भन्ने कुरा महसुस होस् भनेर हामीले बाबुनानीजस्ता शब्दहरु प्रयोग गरी सरल वाक्यहरुमा लेखेका छौं । हामीले विद्यार्थीहरुकै वरिपरि रहेका विषयहरुलाई नै समेटेर एकदम सरल वाक्यमा प्रस्तुत गरेका छाँैं । तसर्थ हामी एकदमै आशावादी छँौं कि, विद्यार्थीहरुले हाम्रो पुस्तकमार्फत् दिन चाहेका कन्टेन्ट बुझ्नेछन् ।

समाजः एकजना शिक्षकले विद्यार्थीहरुलाई हाइकिङ कसरी लान सकिन्छ ? हाइकिङमा विद्यार्थीलाई के के कुराहरु सिकाउन सकिन्छ ?

आचार्यः बिहान गएर बेलुका फर्कने गरी एकदिनको यात्रालाई हाइकिङ भनिन्छ । हाइकिङ भनेको कुद्ने र हुइँकिने मात्र नभई प्रकृतिको स्वाद लिनु हो । एउटा शिक्षकले योजना बनाएर हाइकिङ लाने र बाटोमा खाजा र खानामा जंकफुडको सट्टामा मकै, भटमास, गुन्द्रुक, ढिँँडोजस्ता खानेकुराहरु अर्गानिक खानेकुराहरु खान लगाउने र यस्ता खानेकुराको बारेमा जानकारी गराउने गर्न सकिन्छ । जंगलमा रुखविरुवाको नाम, चराचुरुङ्गीको नाम पत्ता लगाउन सिकाउन सकिन्छ । यसरी नै विद्यार्थीहरुलाई प्रकृति, वनजंगलको बारेमा धेरै कुराहरु सिकाउन र बुझाउन सकिन्छ ।

समाजः मकवानपुरलाई सालकको जिल्लाको रुपमा चिनाउने कुरा गर्नुभयो, किन मकवानपुर जिल्लालाई सालकलाई चिनाउनुपर्छ जस्तो लाग्छ तपाईंलाई ?

आचार्यः सबै जिल्लाको आ–आफ्नै पहिचान बनाउने क्रममा वनको सन्दर्भबाट हेर्दा मकवानपुरमा कालो र तामे गरी दुबै किसिमको सालक पाउने भएकाले सालकको जिल्ला बनाउनुपर्छ जस्तो लाग्छ । फेब्रुअरीका तेस्रो शनिबार सालक दिवसको अवसरमा सालकको जिल्ला भनेर चिनाउनका लागि हामीले जिल्ला समन्वय समितिका प्रमुख तथा सबै पालिकाका प्रमुखहरुलाई सहयोगको लागि आह्वान गरेका छौं । र, हामी यसलाई घोषणा गर्न तयारी गर्दैछौं ।