हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ स्थित जुइना आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा ३० जनामा मोतिबिन्दु समस्या देखा परेको छ । बुधबार भएको स्वास्थ्य शिविरमा २ सय ७४ जनाको मोतिबिन्दु परिक्षण गर्दा ३० जनामा मोतिबिन्दु भएको पाइएको जेसीआई हेटौंडाका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
जेसीआई हेटौंडाको आयोजना तथा नेपाल परिवार नियोेजन संघ मकवानपुर, हेटौंडा सामुदायिक आँखा अस्पताल र जेसीआई बकैयाको संयुक्त सहकार्यमा शिविर भएको हो । मोतिबिन्दु देखा परेका बिरामीहरुलाई शल्यक्रियाका लागि बिहीबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने महासचिव श्रेष्ठले बताउनुभयो । शिविरमा ९१ जना महिलाले इम्प्लान्ट सेवा लिएको श्रेष्ठले बताउनुभयो ।
जेसीआई हेटौंडाका अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, ६ नम्बर वडाध्यक्ष फुलमान बोम्जन, कार्यक्रम संयोजक श्रवण कुमार बर्तौला लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।