हेटौंडाः लेखक गोविन्द गिरी प्रेरणाको २७ औं कृति सुश्री पारिजात हेटौंडामा परिचर्चा गरिएको छ । सोमबार चितवनबाट सुरु भएको किताब यात्रा दोस्रो दिन मंगलबार गिरीको गृहनगर हेटौंडामा परिचर्चा गरिएको हो । साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सुश्री पारिजात कृतिको परिचार्चा गर्नु भयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटापछि साहित्य, उपन्यास, कथामा योगदान पुर्याउने व्यक्ति पारिजातको व्यक्तित्वको विषयमा प्रकाशित पुस्तक महत्वपूर्ण ग्रन्थको रुपमा स्थापित हुने निमेष निखिलले बताउनुभयो । राजनीति, साहित्य, बाल्यकाल र युवावस्थाको वास्तविक जीवनलाई टिप्पाणीमा समेटिएको उहाँको भनाइ छ । हाल अमेरिका बस्दै आउनुभएका लेखक गिरीले ४ वर्षको अध्ययन, अनुसन्धान र इतिहासको संग्लनतापछि कृति तयार पारिएको बताउनुभयो । २ दशकदेखि साहित्यकारहरुको जीवनी लेखन सुरु गरिएको उहाँको भनाइ छ । मकवानपुरको सिस्नेरी–टेकरमा जन्मनुभएका गिरीको बाल्यकाल हेटौंडामै बितेको हो । फाइन प्रिन्टले प्रकाशन गरेको सुश्री पारिजातमाथिको चर्चा गर्ने गरी किताब यात्रा अब इटहरी, इलाम, पाँचथर, बिर्तामोड र कोहलपुरमा हुनेछ ।

विद्यालयको शैक्षिक अवस्थादेखि संरचना र हेटौंडा विगतको इतिहासमा कस्तो थियो भन्ने कुरालाई कृति मार्फत ल्याइने बताउनुभयो । आफूसँग भएका विगतका हेटौंडाको तस्बिर बाहेक अन्य तस्वीर उपलब्ध गराएर सहयोग गर्न समेत आग्रह गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारी गिरी सन् २००४ सालमा अमेरिका पुग्नु भएको हो । गिरीको पहिलो कृति “सुतेको समुन्द्र” कविता संग्रह २०४० सालमा प्रकाशित भएको थियो । गिरीको नियात्रा फेरो, लिभिङ टुगेदर चर्चित पुस्तक हुन् । कार्यक्रम साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको हो ।