प्रकाश खतिवडा

सन्दर्भः राष्ट्रिय बालदिवस–२०७९

संयुक्त राष्ट्रसंघको बार्षिक महासभाबाट १९८९ को नोभेम्बर २० मा पारित गरिएको बालअधिकार महासन्धिलाई नेपाल सरकारले सन् १९९० सेप्टेम्बर १४ अर्थात तात्कालिन भाद्र २९ मा गरेको अनुमोदनको सम्झनामा लोकतन्त्र पश्चातको हरेक बर्ष भाद्र २९ मा राष्ट्रिय बालदिवस मनाउदै आईरहेका छौं । यस बर्षको राष्ट्रिय बालदिवसको नारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज“ रहेको छ । यसै सन्दर्भमा राष्ट्रिय बाल संरक्षण संजाल नेपालले राष्ट्रिय बालदिवसलाई राष्ट्रिय पर्वको रुपमा अंगिकार गरि बालश्रम अन्त्यको सबालमा थप विशेष कार्य गर्दै आईरहेको छ । यसको साथै संजालले बालश्रममुक्त समाज भयो भने, बाल संरक्षण प्रणालीको सुदृढिकरण भयो भने र बिपदमा बालबालिकालाई प्राथमिकिकरण गरियो भने मात्र बालमैत्री समाजको आधार बन्न सक्छ र जसको लागि परिबारले जिम्मेवारि र समाजले उत्तरदायि बोध गर्नु पर्दछ भन्ने आधारमा पैरबि गर्ने कार्य गर्दै आईरहेको छ ।

खास गरी यस्ता बालदिवसहरुमा बालअधिकारको प्रबर्धन गर्ने, बालबालिकालाई रमाइलो वातावरण दिने र उनीहरुका सर्बोत्तम हित हुने सबालमा छलफल गर्ने दिनको रुपमा लिईन्छ । सरकारको पछिल्लो तथ्याकंअनुसार नेपालको ४५ जिल्लामा मात्र ११३५० बालबालिकाहरु ४८९ वटा बाल गृहमा रहेका छन् । कुल बालगृहको ७४ प्रतिशत बालगृह बागमती प्रदेशमा मात्र दर्ता भएको तथ्याकंले देखाउछ । यो त दर्ता भएको संख्या मात्र भयो तर दर्ता र मापदण्ड बिपरितका बालगृहमा कति बालबलिकाहरु संरक्षण बिहिन अबस्थामा बालापन गुमाईरहेका छन् भन्ने कुरा गर्भमा लुकेको छ र कहाली लाग्ने अबस्था रहेको देखिन्छ । केहि बालगृहले राम्रो काम पनि नगरेका भने होईनन् । बिपदमा बालबालिकालाई प्राथमीकिकरण नभएका कारण, नेपालमा बाल संरक्षण प्रणालीको सुदृढिकरण नभएका कारण र बाध्यकारि बालश्रमका कारण पनि धेरै बालबालिका बाल गृहमा रहन बाध्य भएको हुन सक्छन् । यसै अबस्थालाई मध्यनजर गर्दै राष्ट्रिय बाल संरक्षण संजाल नेपालले बाल संरक्षणको सुनिश्चितता गर्दै बालबालिका घर परिबारमा पुर्नमिलन हुनका लागी परिवार, समाज र सरकारको दायित्व बोध गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्दै प्रादेशिक सरकारहरुको निति निर्माणमा पैरबी समेत गर्ने कार्य योजना तयार पारि कार्यको थालनी गरिरहेको छ । विविध कारणले बालगृहमा रहेका बालबालिकाको अन्तिम गन्तव्य भनेको आफ्नै थाक थलो, घर परिबार नै हो जहाँ उनीहरु सुरक्षित र संरक्षित हँुदै रमाउन सक्दछन भन्ने हेक्का सबैमा हुनुपर्दछ ।

बालबालिकाको शारीरिक, मानसिक वा बौद्धिक, भावनात्मक वा संवेगात्मक र सामाजिक विकासमा तत्काल वा दीर्घकालीन रुपमा आघात पु¥याउने नकारात्मक व्यवहार वा क्रियाकलापहरु बालदुव्र्यवहार हो । अधिकांश अवस्थामा खासगरी आमाबुबा, अभिभावक वा हेरचाहकर्ताले उपयुक्त स्तरको सेवा तथा संरक्षण दिन नसकेको वा बेवास्ता/लापरवाही गरेको कारणबाट बालबालिकाले दुव्र्यवहार भोग्नु परेको पाइन्छ । आमा बाबुको बात्सल्य बिहिन अबस्थामा बाच्न बाध्य भएका बालबालिका आफ्नो बारेमा बोल्न र भन्न सक्दैनन् तर उनीहरुको अधिकार र कर्तव्यको बारेमा बोल्नु वयस्कको कर्तव्य हो र नागरिक समाजको धर्म हो । हामी नागरिक समाजका जिम्मेवार नागरिकले बालबालिकाको अधिकार र कर्तव्यको बारेमा धारणा राखि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ भन्ने लाग्दछ । राष्ट्रिय बाल संरक्षण संजाल नेपालले बालश्रमको अन्त्य, बिपदमा बालबालिकालाई प्राथमिकिकरण र बाल सरक्षण प्रणालीको सुदृढिकरण गरिने थिममा आफ्ना कार्यहरु गर्दै बाल संरक्षण गर्ने सरकारको नितिलाई पुरकको रुपमा पुरा गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।

सुन्दर, समुन्नत र सभ्य समाजको निर्माणका लागी बालअधिकारको संरक्षण र प्रर्वद्धनमा तिनै तहको सरकार लगायत सवै नागरिक समाजको सक्रियता अत्यन्त आवश्यक हुन्छ । भावी चुनौतीहरुको सामना गर्दै समाज र देशलाई विकासको पथमा अगाडि वढाउन सक्ने नागरिक भनेको आजका बालबालिका नै हुन् । ति बालबालिकाको बालअधिकार हनन भयो भने बा तिनीहरु संरक्षणको हकबाट कुण्ठित भए भने भावी पुस्ता कस्ता हुने हुन सम्झदै कहाली लाग्दछ । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हानि वा जोखिमहरूबाट उनीहरुलाई संरक्षण गर्नु बालसंरक्षण हो । अर्को शब्दमा, बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका कुनै पनि कार्य वा व्यवहारबाट उनीहरूलाई जोगाउनु नै बालसंरक्षण हो । बालबालिकाविरुद्ध हुने भेदभाव, दुव्र्यवहार, हिंसा (शारीरिक, मानसिक), शोषण (शारीरिक, यौन, श्रम) बेवास्ता र उपेक्षा वा हेलचेक्र्याइ, अपहरण तथा अन्य हानिकारक अभ्यासहरुले बालबालिकामा तत्कालीन र दीर्घकालीन हानि पुग्दछ । तसर्थ बालबालिकाको संरक्षण बिना बालमैत्री समाजको कल्पना समेत गर्न सकिदैन जसको लागी परिवारको जिम्मेवारी र समाजका अभियन्ताहरुको उत्तरदायिबोध हुन आबश्यक पर्दछ साथै सरकारको निति तथा कार्यक्रममा समावेश हुनपनि पर्दछ ।

बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो । नेपालमा कानुनले बालबालिकालाई उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरु तोकेको छ । अर्थात १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने तथा १६ वर्ष पूरा गरेका बालबालिकालाई प्रकृया पु¥याएर हप्ताको ६ दिन दैनिक ६ घण्टा मध्ये आधा घण्टा विश्राम पाउने गरी कानुन बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले तोकेको काममा लगाउन पाउने प्रावधान रहेको छ । कानूनले तोकेकोभन्दा कम उमेरका बालबालिकालाई श्रममा संलग्न गराउनुलाई बालश्रमशोषण भनिन्छ । यो एक अपराध पनि हो । नेपालको सन्दर्भमा १८ वर्ष मुनिका बालबालिकाले उनीहरुको स्वास्थ्य, शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पर्ने गरी तथा उनीहरुको शिक्षा प्राप्त गर्ने अधिकार कुण्ठित हुने गरी गरिने काम बालश्रम हो । बालबालिकालाई सामाजिकीकरण गर्न, सीपहरु सिक्न, सिकाउनका लागि तथा उनीहरुको संरक्षण हुने गरी आफ्नै घरमा वा विद्यालयमा वा समाजमा गरिने काम जसले उनीहरुको शारीरिक, मानसिक विकासमा नकारात्मक असर गर्दैन भने त्यसलाई बालश्रम भनिदैन । यसलाई बालकाम भनिन्छ ।

अन्र्तराष्ट्रिय महासन्धिहरु हेर्ने हो भने निकृष्ट बालश्रम निवारण सम्बन्धी आइ.एल.ओ. महासन्धि १८२ ले बेचबिखन, बाध्यकारी श्रम तथा दासत्वको क्षेत्रमा रहेको बालश्रम निवारण गर्न, यौन दुव्र्यवहार तथा यौन शोषण एवं शैक्षिक र स्वास्थ्य विकासमा नकारात्मक असर पार्ने बालश्रमको तत्काल अन्त्य गर्नका लागि नेपाल लगायतका महासन्धिका पक्ष राष्ट्रहरूलाई आग्रह गरेको छ । यसै गरि बाध्यकारी श्रम सम्बन्धी आइ.एल.ओ. महासन्धि २९ले राज्यबाट हुने अनिवार्य श्रमका अभ्यासहरूलाई व्यवस्थित र नियमन गर्न सुरक्षा, स्वास्थ्य, पारिश्रमिक तथा पारिवारिक बसाई, अधिकतम समय र दिन लगायतको व्यवस्था गर्नुपर्ने उल्लेख छ । बाध्यकारी श्रम निर्मूलन सम्बन्धी आइ.एल.ओ. महासन्धि १०५ले निर्मूल गर्न आवश्यक प्रभावकारी कदमहरू चाल्ने तथा सजायका लागि, श्रम अनुशासनका लागि, राजनीतिक नियन्त्रण र परिचालनका लागि, रङ्गभेद तथा जातीय विभेदका दृष्टिले गरिने अनिवार्य श्रमलाई खारेज गर्ने व्यवस्था गरेको छ ।

बालश्रम अन्त्य गर्ने सबालमा नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धिहरूको अबलोकन गर्ने हो भने नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार महासन्धिहरूको पनि पक्ष राष्ट्र हो । नेपालले नागरिक राजनीतिक अधिकार सम्बन्धी अभिसन्धि १९६६, आर्थिक सामाजिक सांस्कृतिक अधिकार सम्बन्धी अभिसन्धि, १९६६, बाध्यकारी श्रम सम्बन्धी आइएलओ महासन्धि २९, बाध्यकारी श्रम निर्मूलन सम्बन्धी आइएलओ महासन्धि १०५, श्रममा प्रवेश गर्ने न्यूनतम उमेर सम्बन्धी महासन्धि १३८ तथा निकृष्ट प्रकारको बालश्रम निवारण सम्बन्धी महासन्धि १८२, अनुमोदन गरेको छ । नेपालको सन्धि ऐन (२०४७), अनुसार नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धिहरू नेपाली कानून सरह लागू हुन्छन् । नागरिक राजनीतिक अधिकार सम्बन्धी अभिसन्धि, १९६६को धारा ८मा पक्ष राष्ट्रहरूले आप्mना नियम कानून मार्पmत् कसैलाई पनि बाध्यकारी श्रम, दासत्वका अभ्यासमा नरहनुपर्ने र त्यसबाट सुरक्षित रहने कुरा सुनिश्चित गर्ने व्यवस्था गरेको छ । त्यसैगरी आर्थिक सामाजिक सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, १९६६को धारा ७ मा सुरक्षित, स्वतन्त्र र मर्यादित रोजगारीको सुनिश्चितता गर्ने, बाध्यकारी श्रममा नरहने तथा समान ज्याला र अवसरहरूमा पहुँच बनाउन राज्य पक्षहरूले नीतिगत र कानुनी व्यवस्था गर्ने उल्लेख छ । दासत्व, दास व्यापार तथा दासत्व समान अभ्यासहरूको उन्मूलन सम्बन्धी महासन्धि १९६३ले बाँधा, ऋण बँधुवा, शोषण तथा दास बनाउने उद्देश्यले गरिने मानव ओसारपसार र किनबेचलाई निषेध गर्न राज्य पक्षहरूले आवश्यक व्यवस्था गर्ने प्रावधानहरू उल्लेख गरेको छ । दिगो विकास लक्ष्यले समेत बालश्रम अन्त्यको परिकल्पना गरेको छ ।

तसर्थ नेपालको सन्धि ऐन (२०४७), अनुसार नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धिहरू नेपाली कानून सरह लागू हुन्छन् भन्ने उल्लेख भएको आधारमा अब संघिय र प्रादेशको बन्ने कानुनहरु बालश्रम अन्त्य र बाल संरक्षणको अधिकार सुनिश्चित हुन आबश्यक छ । यसतर्फ सातै बटा प्रदेश सरकारको ध्यान आकृष्ट हुन आबश्यक देखिन्छ । नागरिक समाजले बालअधिकारको संरक्षण र सम्बर्धनको सबालमा राज्यको भुमिका दरिलो भएको र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन भएको हेर्ने उत्कट अभिलाषा बोकेको पाईन्छ । बालअधिकारको सुनिश्चित हुनु नै देश बिकाश हुनु हो भनेर पनि किटानी गर्न सकिन्छ । तसर्थ हामी बालश्रम मुक्त हुनु नै बालमैत्री समाजको आधार हो जसको लागी जिम्मेबार परिबार र उत्तरदायी समाज को अपरिहार्यता हुन्छ । आऔ, हामी सबै मिली बालश्रम अन्त्य गर्ने अभियानमा सरिक हुदै बालमैत्री समाजको आधार तय गरौं । धन्यवाद