बालबालिकालाई श्रममा लगाउने रोजगारदाता ।

हेटौंडाः श्रम तथा रोजगार कार्यालय हेटौंडाले बालबालिकालाई जोखिमपूर्ण काम लगाएको भन्दै ३० हजार रुपैयाँ जरिवाना गराएको छ । हेटौंडा–१० स्थित अटो मोटर ब्याट्री वर्कसपका सञ्चालक अस्लम अन्सारीलाई १४ वर्षीय बालकलाई जोखिमपूर्ण श्रममा लगाएको भन्दै जरिवाना गराएको हो ।

कार्यालयले १७ वर्षीय बालक श्रममा लगाएको भन्दै हेटौंडा–१० स्थित चुरियामाई फर्निचर उद्योगका सञ्चालक अजय शर्मालाई २५ हजार रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार श्रम तथा रोजगार कार्यालय, हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन मकवानपुरको प्रतिनिधिले अनुगमन गर्दा बालबालिकालाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो ।

अनुगमन टोलीले बालश्रममा संलग्न ती दुई बालकलाई उद्दार गरी बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखेको थियो । सञ्चालकलाई जरिवाना गराएसँगै बालकलाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ ।