शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तहको शिक्षक छनोट प्रक्रियाबाट सफल भएकी सुजिता अधिकारी काखमा छोरा च्यापेर नियुक्तिपत्र लिन आउनुभएको तस्बिर

हेटौंडाः शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तहको शिक्षक छनोट प्रक्रियाबाट सफल भएका शिक्षकहरुले नियुक्तिपत्र बुझेका छन् । शिक्षा विकास तथा समन्वय इकार्ई मकवानपुरले प्राथमिक तहका स्थायी शिक्षकको रुपमा मकवानपुर जिल्लामा सिफारिस भएका शिक्षकलाई आइतबार हेटौंडामा नियुक्तिपत्र प्रदान गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरको सिफारिसअनुसार मकवानपुर जिल्लाका शिक्षकहरुलाई नियुक्तिपत्र दिइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थायी शिक्षकमा नियुक्त भएकाहरुलाई नियुक्तिपत्र वितरण गर्नुभएको छ ।

नियुक्तिपत्र लिनका लागि पर्सा, दार्जुला, पाँचथर, रोल्पा, कालिकोट, बाजुरा, सिराहा, बारा, चितवन, मकवानपुरलगायत जिल्लामा बसोबास गरेर मकवानपुर जिल्लामा प्राथमिक तहका शिक्षकको रुपमा सिफारिस भएका शिक्षकहरुको उपस्थिति थियो । २ सय ७ जना प्राथमिक तहका स्थायी शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।

काखमा सन्तान च्यापेर नियुक्तिपत्र लिनुको मज्जा बेग्लैः सुजिता

आइतबार नियुक्तिपत्र लिनेमध्ये एक हुनुहुन्छ– सुजिता अधिकारी । हेटौंडा–१७, निबासी २५ वर्षीया अधिकारी काखमा छोरा च्यापेर नियुक्तिपत्र लिन आउनुभएको हो । नियुक्तिपत्र लिएपश्चात उहाँकी अन्य शिक्षक खुसी साट्न र तस्वीर खिच्न व्यस्त हुँदा उहाँ भने नियुक्तिपत्रका साथ काखमा छोरालाई च्यापेर सुताउँदै हुनुहुन्थो ।

शिक्षण पेसा त्यसमाथि स्थायी शिक्षक भएपछि खुसीसँगै उहाँलाई समस्या पनि छ । छोरालाई काखमै च्यापेर अब बकैया गाउँपालिकामा अध्यापन गराउन जानुपर्ने बाध्यता उहाँलाई छ । अधिकारी भन्नुहुन्छ– ‘कक्षा–११ मा शिक्षाशास्त्र विषय पढ्दापढ्दै लोटस एकेडेमीबाट शिक्षण पेसा सुरु गरियो ।’ १७ वर्षकै उमेरदेखि शिक्षण पेसामा लाग्नुभएकी अधिकारीको संघर्ष समाजको लागि प्रेरणादायी छ ।

हाम्रो समाजमा अहिले पनि छोरीलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । तर, उहाँले विवाहित भएर एक सन्तानका आमा हुँदा पनि संघर्ष गर्न छोड्नु भएको छैन । सुजिताको श्रीमान पनि शिक्षक हुनुहुन्छ । घरको कामधन्दा गर्नुपर्ने दायित्व पनि उहाँलाई छ । ‘श्रीमान बुझ्ने हुनुहुन्छ । उहाँकै प्रेरणाबाट मैले यो सफलता प्राप्त गर्न सकेको हुँ’, अधिकारी भन्नुहुन्छ– ‘बिहान ६ बजेदेखि राति ९ बजेसम्म भ्याई नभ्याई हुन्थ्यो ।’
दिनभर हेटौंडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा निजी स्रोतको शिक्षकका रुपमा कार्यरत अधिकारीले बेलुका ६ बजेदेखि ९ बजेसम्म खाना बनाउँदै अनलाइन कक्षा लिनुहुन्थ्यो । बाध्यतासँगै चुनौतिका बिच उहाँले दोस्रो पटकको प्रयासमा प्राथमिक तहको तृतीय श्रेणीमा नाम निकाल्न सफल हुनुभएको हो । उहाँ भन्नुहुन्छ– ‘मिहिनेत गरेर पढेपछि सफलता पाइने रहेछ ।’ २०७८ सालमा पहिलो प्रयास असफल भए पनि दोस्रो प्रयासको सफलताले बुहारीले पनि केही गर्न सक्छ र उच्च शिक्षा लिएर आत्मनिर्भर बन्न सक्छ भनेर यो समाजलाई सावित गराउन सकेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको ।

२० वर्षकै उमेरमा नाम निकाल्न सफल सन्ध्या

२० वर्षको उमेरमै प्राथमिक तहको तृतीय श्रेणी स्थायी शिक्षकमा नाम निकाल्न सफल सन्ध्याकुमारी मुखियाको संघर्ष पनि कम छैन । शिक्षाशास्त्र संकायमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मुखिया मधेसी समुदायबाट प्रतिनिधित्व गर्दै सानै उमेरमा सरकारी जागिरे हुन सफल हुनुभएको छ ।

प्रायः मधेसी समुदायमा छोरीलाई पढाउनु हुँदैन भन्ने छ । त्यस धारणालाई गलत सावित गर्दै सन्ध्याले छोरीलाई पनि पढाए सरकारी जागिरे भएर आत्मनिर्भर बन्न सक्छ भन्ने कुरा सावित गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– ‘२०८० सालमा शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न सफल भइयो । त्यसलगत्तै वीरगञ्ज पाठशालामा अध्यापन गराउँदै आएको थिएँ । अहिले मकवानपुरमा जागिर खाने मौका जुरेको छ ।’ ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दै गर्नुभएकी सन्ध्याले जागिरसँगै पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता आएको बताउनुभयो ।

पर्साको विन्ध्यबासिनी गाउँपालिका–२ देखि मकवानपुरको विकट कैलाश गाउँपालिकामा पुगेर जागिर खानुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । जागिरसँगै मकवानपुरको हावापानी महसुस गर्ने र ग्रामीण क्षेत्रको शिक्षाको विकासमा केही योगदान गर्ने सुनौलो अवसर भएको उहाँको भनाइ छ ।