बलिङ गर्दै रिजन ढकाल । फाइल तस्वीर ।

हेटौँडा : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सोमबार बागमती प्रदेशले कर्णाली प्रदेशको सामना गरिरहेको छ । दाङ जिल्लाको लमही क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ गरेको कर्णालीविरुद्ध बागमतीका रिजन ढकाल र सूर्य तामाङ सामू कणाली निरिह देखिएको छ ।

कर्णाली प्रदेशको टिम १९ ओभर २ बलमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सफल भयो । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका रिजन ढकालले ८ ओभर १ बल खेल्दै १९ रन व्यहोर्नुका साथै ५ विकेट लिन सफल भए । यस्तै सूर्य तामाङले ७ ओभर बलिङ गर्दा १७ रन खर्चेर ४ विकेट लिए । ११ रन जोड्दा पहिलो विकेट गुमाएको कर्णालीले १३ रन जोड्दा दोस्रो विकेट गुमायो । ५० रन जोड्ने बेलासम्ममा कर्णालीले ७ विकेट गुमाइसकेको थियो ।

कर्णालीका लागि सुनिल धमलाले १५ रन जोड्ने बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णाली प्रदेशविरुद्ध बागमतीले अहिले व्याटिङ गरिरहेको छ । ५९ रनको झिनो लक्ष्य पछ्याएको बागमतीले यो समाचार तयार पार्दासम्म ५ ओभरमा १ विकेट गुमाएर ४७ रन जोडेको छ ।