प्रतियोगिताबारे जानकारी गराउँदै कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिका संचालक सुजन श्रेष्ठ ।

हेटौंडाः कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हेटौंडामा हुन लागेको मिस मकवानपुर सिजन–४ को तयारी पुरा भएको छ । आज बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले असोज ३ गते हुने सौन्दर्य प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा १५ जना सहभागी रहेको मिस मकवानपुरमा सिजन–४ की कोरियोग्राफर सोफिया फागोले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ताजसँगै नगद ७० हजार रुपैयाँ, डाईन एण्ड वाईन रेस्टुरेन्टमा रात्रीभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा एक वर्षसम्म कलिउड सुपर डान्स एण्ड फिटनेसमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै दुई रात तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निःशुल्क दक्ष मेकअप ट्रेनिङको व्यवस्था गरिएको छ ।

यस्तै प्रतियोगितामा द्वितीय हुनेले ताजसँगै नगद पुरस्कार ३५ हजार रुपैयाँ, फोटो सुट, दुई रात तीन दिनको आन्तरिक भ्रमण प्याकेज प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतिय हुनेलाई ताजसँगै नगद पुरस्कार २० हजार रुपैयाँ, फोटो सुट, दुई रात तीन दिनको आन्तरिक भ्रमण प्याकेजको पुरस्कार रहेको छ । पुरस्कारहरू वितरणमा प्रतियोगिताका मुख्य प्रायोजकहरु क्यालिबर सुज सह–प्रयोजक सिस्टर हुड फेसन स्टोर र डाइन एण्ड वाइनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा हस्पिटालीटीमा होटल सामना र बैंकिङ पार्टनरमा ज्योति विकास बैंक रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सुप्रिया श्रेष्ठ, पंकज सिं ठकुरी, एन्जिला श्रेष्ठ निर्णायकमा रहनु भएको छ ।