हेटौँडा : हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस अध्यापनको तयारी थालेको छ । प्रतिष्ठानले आगामी वर्षबाट चिकीत्सा शिक्षा आयोग मार्फत् एमबिबिएस अध्यापनको तयारी अघि बढाएको हो ।
प्रतिष्ठानले भौतिक संरचना तथा उपकरण व्यवस्थापनसँगै जनशक्ति तयार गर्नेगरी अगाडि बढाएको हो । प्रतिष्ठानले हेटौंडा–१० स्थित भुटनदेवी चौरको जग्गामा निर्माणाधीन शैक्षिक भवन र हेटौंडा–१ हेटौंडा अस्पताल परिसरमा निर्माण भइरहेको २०० शैय्या क्षमताको अस्पताललाई पूर्णता दिएर औजार उपकरण जडानका लागि तयारी थालेको प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माणाधिन शैक्षिक भवन र अस्पताल भवनको चालु आर्थिक वर्षमा असार मसान्तसम्म सम्पन्न हुने अवस्थामा रहेको छ । सम्पन्नता पाए लगत्तै उक्त भवनाहरुमा आवश्यक औजार उपकरण जडान गरी संचालनमा ल्याउने प्रतिष्ठानको योजना रहेको उहाँले बताउनुभयो । सो कार्यका लागि प्रतिष्ठानले बागमती प्रदेश सरकार मार्फत् बजेट व्यवस्था गरेर आवश्यक प्रक्रिया पूरा गरी उपकरण जडानको कार्य गर्ने उहाँको भनाई छ ।
‘हाल सो भवनको भौतिक संरचनाको मात्र कामका लागि ठेक्का लगाइएको छ । सो काम आगामी असारसम्म सकिन्छ । सो पश्चात प्रदेश सरकार मार्फत् बजेट व्यवस्था गरी औजार उपकरणका व्यवस्थापन तथा जडानको काम हुनेछ । चिकित्सा शिक्षा आयोगबाट एबिबिएस कार्यक्रम ल्याउन पूर्वाधार तयार गरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक अस्पताल, ल्याव, उपकरण, शैक्षिक तथा प्राज्ञिक जनशक्ति व्यवस्थापनको प्रक्रिया भइरहेको छ ।’ उहाँले भन्नुभयो । आगामी वर्षबाट आयोगले तोके अनुसारको सिट र संकायमा एबिबिएस अध्यापन चलाउने गरी तयारी भएको उहाँले बताउनुभयो । सो कार्यका लागि प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने कुल छात्रवृत्तिको ७५ प्रतिशत स्रोत सुनिश्चित गर्न छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठानले एबिबिएस अध्यापन कार्यका लागि ३३ जना प्राज्ञिक जनशक्ति भर्नाका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानले एबिबिएस कक्षा संचालनको पूर्व तयारीका रुपमा जनशक्ति व्यवस्थापन गर्नेगरी ३३ जना प्राज्ञिक जनशक्ति माग गर्दै आवेदन आह्वान गरेको हो । प्रतिष्ठानको प्राज्ञिक सेवातर्फ आवश्यक जनशक्तिहरु करार सेवाबाट लिनेगरी आवेदन माग गरेको प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, बायोकेमेष्ट्री, प्याथोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, माइक्रोबायोलोजी, सर्जरी, इएनटी, अर्थोमोलोजी, रेडियोलोजी, साइकाट्रिक, डेन्टल, डर्माटोलोजी, फोरेन्सिक मेडिसिन संकायका प्राध्यापक माग गरेको छ ।
त्यस्तै साइकोलोजी, प्याथलोजी, कम्युनिटी मेडिसिन, फोरेन्सिक मेडिसिन, माइक्रोबायोलोजी, अर्थोमोलोजी, रेडियोलोजी, डर्माटोलोजी, एडिजीपी, इएनटी, बायोकेमेष्ट्रि, हेम्याटोलोजी, मिडवाईफरी नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ, साइकाट्र्रिक नर्सिङ, पेडिएट्रिक नर्सिङ, फर्माकोलोजीको लेक्चरर र ल्याव मेडिसिनको इन्स्टक्टर भर्नाका लागि आवेदन माग गरिएको उहाँले बताउनुभयो । सो नियुक्ति पश्चात एबिबिएस अध्यापनका लागि आवश्यक जनशक्तिको पूर्वाधारहरु निर्माण तयार हुने उहाँको भनाई छ । हाल हेटौंडा अस्पतालमा रहेका चिकित्सकहरुलाई पनि प्रतिष्ठानले प्रयोग गरी थप सेवा गर्ने गरी प्राज्ञिक तथा शैक्षिक जनशक्तिको रुपमा नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालको जनशक्ति अपुग भएका थप जनशक्ति भर्नाको प्रक्रिया गरिएको उहाँले बताउनुभयो ।