आवश्यक भौतिक पूर्वाधारसहित विभिन्न प्रकारका विषयहरु पढाइने, पढ्ने विद्यार्थीको मूल्यांकन गर्ने र उनीहरुलाई उनीहरुको शैक्षिक उपलब्धिको उपाधि दिने शैक्षिक संस्थालाई विश्वविद्यालय भनिन्छ । कुनै पनि देशको उच्च शिक्षाको अवस्थालाई त्यस देशका विश्वविद्यालयको स्तर र क्षमताले उजागर गर्दछ । देशलाई आवश्यक उच्च स्तरको जनशक्ति उत्पादन गर्ने थलो विश्वविद्यालय भएकाले यसले दिने शिक्षाको गुणस्तर निकै महत्वपूर्ण हुन्छ । निरन्तर अध्ययन र अनुसन्धानमा खटिने उच्च शैक्षिक उपाधि हासिल गरेका विज्ञ प्राध्यापकसँगै उपयुक्त शैक्षिक कार्यक्रम (विधा) र आवश्यक भौतिक संरचना भएमा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी पनि उस्तै क्षमतावान तयार हुन सक्छन् । सामान्यतयाः देशमा धेरै विश्वविद्यालय हुनुले शैक्षिक प्रतिस्पर्धा वृद्धि गरी विद्यार्थीले आफूले चाहेको विषयमा गुणस्तरीय शिक्षा आर्जन गर्ने सम्भावना बढी हुन्छ । पछिल्लो समय नेपालमा पनि विभिन्न किसिमका विश्वविद्यालय खोल्ने क्रम बढ्दै गए पनि कतिपय विश्वविद्यालयको अवस्था सन्तोषजनक छैन ।
नेपालकै पहिलो विश्वविद्यालयको रुपमा विसं २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको थियो । त्यसपछि २०४३ सालमा संस्कृत विश्वविद्यालय खुल्यो । २०४६ सालमा प्रजातन्त्र पुनस्थापनापछि एक दर्जनभन्दा बढी केन्द्रीय विश्वविद्यालय स्थापना गरेर सञ्चालन भइरहेका छन् । अहिले प्रदेशपिच्छे थरीथरीका विश्वविद्यालय र सोही हैसियतका शैक्षिक प्रतिष्ठानको संख्या थपिँदै गएको छ । देशभर ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित दुई दर्जन विश्वविद्यालय छन् । विश्वविद्यालयले सम्बन्धन दिएका १ हजार ५ सयको हाराहारीमा क्याम्पस छन् । विश्वविद्यालय र क्याम्पसको संख्या बर्सेनि बढ्दै गए पनि विद्यार्थी संख्या र शैक्षिक उपलब्धि भने दयनीय बनिरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने ६ लाख ३३ हजार विद्यार्थीमध्ये ४ लाख ९१ हजार त्रिभुवन विश्वविद्यालयमा पढ्छन्, जुन कुल विद्यार्थीको ७७ प्रतिशतभन्दा बढी हुन्छ । जतिवटा विश्वविद्यालय खुले पनि विद्यार्थी एउटैमा केन्द्रित हुँदा विश्वविद्यालयको स्थापनाको औचित्य कमजोर देखिन्छ ।
पुरानामध्येका पूर्वाञ्चल, पोखरा, काठमाडौं, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयबाहेक पछिल्लो समय स्थापना भएका नेपाल खुला, राजर्षि जनक, मदन भण्डारी प्राविधिकसहित प्रादेशिक रुपमा स्थापना भएका गण्डकी, लुम्बिनी, मधेश, कृषि, मनमोहन प्राविधिकलगायत विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ । पछिल्लो एक दशकमा स्थापना भएका नेपाल खुलाबाहेक अन्य सबै विश्वविद्यालयमा विद्यार्थी संख्या एक हजार पनि छैनन् । बागमती प्रदेशको गौरवका आयोजनाको रुपमा स्थापना गरिएको बागमती विश्वविद्यालयले पनि आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको छ । २०७८ सालमा प्रदेश विश्वविद्यालयसम्बन्धी ऐन बनाएर गत वैशाखमा बागमती विश्वविद्यालय नामाकरण गरी सामान्य कार्यालय स्थापना गरिए पनि अझैसम्म विश्वविद्यालयका लागि आवश्यक संरचनाको व्यवस्थापन हुन सकेको छैन । विश्वविद्यालयमा आवश्यक जनशक्ति नियुक्तिसमेत भएको छैन ।
आवश्यक जनशक्ति, भौतिक संरचना र स्पष्ट नीति, कार्यक्रम र योजनाबिना नै प्रदेश सरकारले विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा आवद्ध हुन प्रदेशभित्रका सामुदायिक क्याम्पससँग आवेदन माग गरेको छ । विश्वविद्यालयले विज्ञान प्रविधि, व्यवस्थापन र शिक्षा तथा सामाजिक संकाय गरी तीन संकायका ११ विषयमा अध्यापनको तयारी गरेको छ । कामचलाउ र अस्थायी केही संरचनाको भरमा पठनपाठन सुरु गर्ने विश्वविद्यालयको तयारीले कस्तो शैक्षिक गुणस्तर हासिल होला भन्ने प्रश्न उठेको छ । दशकौं अघि खुलेका केन्द्रीयस्तरका विश्वविद्यालयले एक हजार विद्यार्थी पनि भर्ना गर्न नसकिरहेको अवस्थामा कुनै भौतिक पूर्वाधारबिनाको बागमती विश्वविद्यालयमा विद्यार्थी कसरी भर्ना होलान् ? सोचनीय छ ।