अस्मिता भट्टराई सांकेतिक चित्र ।

हेटौंडाः पछिल्लो समय किशोरी आमा बन्नेको संख्या बढ्दै गएको छ । मकवानपुर जिल्लाको हेटौंडा अस्पतालमा प्रसुती गराउन आउने किशोरी गर्भवतीको संख्या बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७८/२०७९ मा हेटौंडा अस्पतालमा २ सय ३५ जना किशोरी गर्भवती सुत्केरी आमा बनेका थिए । कुल ३ हजार ३ सय ५९ गर्भवती सुत्केरी भएको हेटौंडा अस्पतालमा मात्रै २ सय ३५ जना किशोरी आमा बनेको अस्पतालले जनाएको छ । २ हजार ५ सय ६६ जना सामान्य अवस्थामा सुत्केरी हुँदा, ६ सय ५५ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १ सय ३८ गर्भवतीको जटिल अवस्थामा सुत्केरी गराइएको थियो । १ हजार ७ सय २२ जना छोरा र १ हजार ६ सय ३७ जना छोरीको जन्म भएको हेटौंडा अस्पतालका मेडिकल अधिकृत राजीव झाले बताउनुभयो । यस्तै, ३ सय ७४ जनाले महिलाहरुले गर्भपतन गराएको झाले जानकारी दिनुभयो ।

गत साउन महिनामा १८ जना २० बर्षभन्दा कम उमेरको किशोरी गर्भवती आमा बनेका छन् । गत साउन महिनामा ३ सय ४८ जना गर्भवती सुत्केरी हुँदा १८ जना किशोरी गर्भवती सुत्केरी भएको हेटौंडा अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा साउन महिनामा ३ सय ४८ गर्भवती सुत्केरी भएका छन् । २ सय ५० जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८० जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १८ गर्भवतीको जटिल अवस्थामा सुत्केरी गराइएको मेडिकल रेकर्डर झाले जानकारी दिनुभयो । साउन महिनामा ४० जना गर्भवतीले सुरक्षित गर्भपतन गराएका उहाँले बताउनुभयो ।

नेपालको कानुनले महिलाको विवाहयोग्य उमेर १८ वर्ष तोकेको भएपनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गरेर गर्भवती भई सुत्केरी हुनेको संख्या उल्लेख्य छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञका अनुसार सानै उमेरमा बसेको गर्भ र सानै उमेरमा गराएको प्रसुतिले शारीरिकरुपमा मात्र नभई, मानसिक, सामाजिक पक्षमा पनि नकारात्मक असर पुग्दछ । सानै उमेरमा प्रसुति गराउँदा शारीरिक अपरिपक्वताले बच्चा जन्माउन नसक्दा आमा र बच्चाको ज्यान जोखिमपूर्ण रहन्छ । सामाजिकरुपमा पनि अपहेलना हुने, सानै उमेर भएकाले घर व्यवहार धान्न नसक्दा र सुत्केरी भएपश्चात् ध्यान दिनुपर्ने विषयलाई नबुझ्दा विविध समस्या आउन सक्ने डाक्टरको भनाइ छ । २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुँदा गर्भमा रहने बच्चामा रक्तअल्पताको जोखिम रहन्छ ।