अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै शैक्षिक निर्देशक रामेया गंगाधरण ।

हेटौँडा ः हेटौँडा–४, हुप्रचौरस्थित लिटिल बडी प्रि–स्कूलको अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, नाटक तथा उद्घोषण कला प्रस्तुत गरेका थिए ।

पूर्वप्राथमिक तहको विद्यालयको रुपमा सञ्चालित लिटिल बडीले आगामी शैक्षिक सत्र २०८२ देखि कक्षा–१ पनि सञ्चालन गर्ने जनाएको छ । अभिभावकको मागअनुसार कक्षा–१ सञ्चालन गर्न लागिएको लिटिल बडीका प्रिन्सीपल युवराज दाहालले जानकारी दिनुभयो । नेपालसँगै भारत, भुटान, बंगलादेशसहित १० देशमा लिटिल बडी प्रि–स्कूल स्थापित छ ।

अभिभावक दिवसमा लिटिल वडीकी शैक्षिक निर्देशक रामेया गंगाधरणले लिटिल बडीले उच्चस्तरीय सिकाई वातावरण प्रदान गर्ने प्रयास गरेको जानकारी दिनुभयो । शैक्षिक निर्देशक गंगाधरणले कक्षा–१ को पाठ्यक्रमले विद्यार्थीलाई आगामी दिनमा सक्षम बनाउने दावी गर्नुभयो । क्याम्ब्रिज विश्वविद्यालयले तयार पारेका पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराइने जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई प्रभावकारी सिकाईका लागि परियोजनामा आधारित क्रियाकलाप गराउँछौं ।’

५ वर्षअघि सञ्चालनमा आएको लिटिल बडीले गत वर्षदेखि मात्रै अभिभावक दिवस मनाउन सुरु गरेको हो । लिटिल बडी प्रि–स्कूलमा अहिले २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको चाप बढेका कारण पछिल्लो समय विद्यालयले सार्वजनिक सूचना नै जारी गरेर भर्ना बन्द भएको सूचित गरेको छ ।