हेटौंडाः प्रतिनिधिसभा सदस्य तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नागरिकको आवाज सदनसम्म पुर्याउन भन्दै वीरगन्जबाट सुरु गर्नुभएको यात्रा अन्तर्गत आज शनिबार हेटौंडामा आइपुग्नुभएको छ । बारा र पर्सा जिल्ला हुँदै हेटौंडा आइपुग्नु भएकी श्रेष्ठ चितवन जिल्लाको भण्डारा पुग्नु हुनेछ । जनप्रतिनिधि जनताको साझा भएकाले जनताको कुरा सुन्नु पर्ने, जनताको समस्या समाधान गर्न उक्त यात्रा अन्तर्गत हेटौंडामा आइपुग्नु भएको उहाँले बताउनुभयो ।
जनता र सदन टाढिएको महसुस र भौगोलिक सँगै पहाड, मधेसको समस्या फरक रहेकोले पनि समस्या बुझ्न अभियान सुरु गरिएको उहाँको भनाइ छ । जसमा मधेसको शिक्षामा अति राजनीतिकरण चलेको भन्नुहुँदै मधेशको शिक्षामा गुनासो आएको बताउनुभयो । शिक्षा जस्तो क्षेत्रमा गोली चल्यो र फरक–फरक समस्या छन् ती समस्या सदनमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
जनता चरम दलियकरण र पार्टीकरणबाट आजित रहेको भन्नुहुँदै कानुन संशोधन गरिए पनि कार्यान्वयनमा ल्याउन समस्या रहेको जानकारी दिनुभयो । जसले गर्दा सर्वभौम नागरिकले शक्ति प्रयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । अब भातृ संगठन खारेज गर्नुहुन्छ कि हुँदैन? कन्ट्रोल हुन्छ कि हुँदैन ? भनेर जनताले सोध्नुपर्ने उहाँको भनाइ छ ।
राजनीतिक स्वार्थ पूर्ति गर्न र लाखौंलाख जीवनसँग खेलवाड गर्दिनँ भनेर राजनीतिक दलले प्रतिबद्ध गर्नुपर्ने उहाँले बताउनुभयो । जुन कानुनमा लेखेर मात्र नहुने भएकाले जनता आफैं जागरुक हुन उहाँले आग्रह गर्नुभयो । पुल भत्केको र पुल भत्केपछि जनताले राखेका समस्या समाधान नभएको, शिक्षकले तलब नपाएको, डाइभर्सनको समस्या समाधान नभएको, लालपुर्जा नपाएका समस्या समाधान गर्छु भन्दै जनप्रतिनिधिले आश्वासन दिने तर पूरा नगर्ने समस्या यात्राको क्रममा पाएको श्रेष्ठले जानकारी दिनुभयो ।