हेटौंडाः राक्सिराङ गाउँपालिका–७, दामराङ्गलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न घोषणापत्र सार्वजनिक गरिएको छ । बिहीबार दामराङ्गमा आयोजित अन्तर संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ७ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थाबमोजिम गत पुस २५ गते पालिकाले १७ औं अधिवेशनको अवसरमा दामराङ्गलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । घोषणापत्र सार्वजनिक गर्नुहुँदै सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको लागि तत्काल वृहत् गुरुयोजना तयार गर्ने र पालिकाले विज्ञ समूह गठन गरेर आवश्यक जिम्मेवारी दिने अध्यक्ष मल्लले प्रतिबद्धता जनाउनुभयो । ८५ प्रतिशत चेपाङ समुदाय बसोबास गर्दै आएको उक्त क्षेत्रलाई चेपाङ समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक विकासका लागि सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ ।
तत्काल टोल विकास संस्था गठन एवम् सबै सामुदायिक संस्था सबलीकरण गरी सांस्कृतिक र पर्यटकीय क्षेत्र विकास, प्रवद्र्धन र परिचालन गर्ने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । सांस्कृतिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि ८ ‘अ’ (अलैंची, अमृसो, आलु, अकबरे खुर्सानी, ओखर, अदुवा, अनार र आँप) एवम् ३ ‘च’ (चमेरो, चिउरी र चेपाङ) विकास गरिने उहाँको भनाइ छ ।
चेपाङ समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार संरक्षण र प्रबद्र्धन गर्न पान्दे संरक्षण, परम्परागत ज्ञान, सीपको रक्षा एवम् सांस्कृतिक रीतिरिवाज संरक्षण गर्ने, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र विस्तार र प्रबद्र्धन गर्न आवश्यक नीति कार्यक्रम तय गरिने उहाँले बताउनुभयो । यसका लागि आवश्यक बजेट विनियोजन गर्ने र थप बजेटका लागि प्रदेश र संघीय सरकारसँग माग गरिने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
सांस्कृतिक तथा पर्यटकीय क्षेत्र बिस्तारका लागि चेपाङ समुदायमा रहेको अनौपचारिक ज्ञान, परम्परागत सीप, जैविक विविधता, जलचर थलचर संरक्षण, रैथाने बालीको विकास र प्रबद्र्धन गर्ने उहाँले बताउनुभयो । राक्सिराङ गाउँपालिका–७ नम्बर वडा क्षेत्रमा अवलोकन भ्रमण, शैक्षिक भ्रमण, अध्ययन तथा अनुसन्धान गर्ने काममा विद्यालय र विश्वविद्यालयलाई आह्वान गरिने उहाँको भनाइ छ ।
राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङका अनुसार उक्त घोषणा कार्यक्रमले चेपाङ समुदायको हक अधिकार स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चेपाङ समुदायको पहिचान, रीतिरिवाज, चालचलन, भाषा, भेषभुषाको संरक्षण तथा सम्बद्र्वनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
नेपाल सूक्ष्म पुष्प समाजका संयोजक विशुमान चेपाङले चेपाङ समुदायको जीविकोपार्जनका लागि कमाउँदै आएका खोरिया खेती प्रणाली, संखरे ओडार (९ छोरी र ३ छोराको विवाह), ५ सय मिटर लामो बैना सुरुङ (गुफा) बाहुनको छोरीले अन्तरजातीय विवाह गरेको भन्दै मार्न खोज्दा ३ महिना लुकाएको ठाउँ तिथली गौरुङ चेपाङ, विभिन्न जीव जनावरको आकृति तथा शिवलिङ्ग भएको महादेव गुफा मन्दिरको अवलोकन गर्न सकिने बताउनुभयो । लङ्कामा राम राजाको भग्नावशेष दरबार र गरवलले खाएर छोडेको सर्पको टुक्रा ढुंगा र रामको जुवा, मान्छे खान आक्रमण गर्दा बाघको मृत्यु (बाघ लड्ने भिर), मकवानपुर धादिङको सिमानामा पर्ने शंकर झरना, वीरगञ्ज–बुटवल र उत्तरका हिमाली दृश्यावलोकन, जल प्रलयपछि तल झरेर बसेका तीन दिदीबहिनी ढुंगाको अवलोकन गर्न सकिने उहाँको भनाइ छ ।
सांस्कृतिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्वनका लागि आइवेनीदेखि दामराङ्गसम्म पैदल मार्ग बनाउने र दामराङ्ग, धिराङमा होमस्टे बनाउने उहाँले जानकारी दिनुभयो । बापलिङ दोभानमा पिकनिक स्थल (पार्क) तथा शंकर खोलामा जलाशय (ताल) निर्माण गरिने योजना रहेको छ । खर्लिङ, कालिकाथान देवी मन्दिर निर्माण, शंक रेउती खोलामा असला माछा संरक्षणको कार्यक्रम रहेको छ । यस्तै, बाघ लड्ने भिर झरना, खर्लिङ झरना र थिकपुलिङ्ग झरना संरक्षणसँगै धोेराबाङ सेती नाग दह संरक्षणलगायत १५ पर्यटकीय स्थल निर्माण तथा संरक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराज प्रजा, पूर्वमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका–३ का वडा अध्यक्ष उत्तम वाईबा, ५ नम्बरका वडा अध्यक्ष हरिबहादुर प्रजालगायतको आतिथ्य रहेको थियोे ।