हेटौँडा ः हेटौँडा–७, नागस्वतीस्थित तारिस इंग्लिस सेकेन्डरी बोर्डिङ स्कूलको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको वार्षिक खेलकुद कार्यक्रमको उद्घाटन वडाध्यक्ष सुशील घिमिरेले गर्नुभयो । वार्षिक खेलकुद कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ ।
खेलकुद कार्यक्रममा कक्षा नसर्रीदेखि कक्षा–९ सम्मका करिब १ हजार १ सय जना विद्यार्थीको सहभागिता रहने विद्यालयले जनाएको छ । विद्यार्थीको मार्चपास, नृत्य र तेक्वान्दोको काता प्रदर्शनीसहित प्रतियोगिताको उद्घाटन गरिएको थियो । वार्षिक खेलकुदमा फुटबल, भलिबल, तेक्वान्दो, एथ्लेटिक्स लगायत विभिन्न प्रकारका खेलहरु सञ्चालन हुनेछ । विद्यार्थीले वर्षभरी खेलेको खेललाई प्रतिस्पर्धात्मक ढंगमा उतारेर कला प्रदर्शनी गराउनका लागि खेलकुद कार्यक्रमको आयोजना गरेको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिता सहभागी भएको निलो, रातो, हरियो र पहेँलो सदनका प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष राजु थापाको सभाध्यक्षमा भएको उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, जिल्ला भलिबल संघका अध्यक्ष वसन्त सिटौला, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, चन्द्रोदय माध्यमिक विद्यालयका अध्यक्ष इवाकर मैनाली, नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोम बहादुर तितुङको आतिथ्य रहेको थियो ।