हरेक क्षेत्रमा सहकारीको अवधारणा आकर्षक लागे पनि व्यवहारमा सहकारीको अवधारणा विस्तार हुन सकेको छैन । लगानीकर्ता आफैं लाभग्राही हुने भएकाले सहकारीको अवधारणा विश्वव्यापी छ । सहकारीको अवधारणामा मकवानपुरका केही शैक्षिक संस्था सञ्चालनमा रहेका छन् । मकवानपुरको हेटौंडा–५ मा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित जीएस निकेतन मावि नमूना विद्यालय समेत हो । जीएस निकेतन मावि नमूना मावि भए पनि सहकारीकै अवधारणामा शैक्षिक संस्थाहरुको संख्यामा उल्लेख्य विकास हुन सकेको छैन । सहकारीको अवधारणामा सञ्चालित शैक्षिक संस्थाको शैक्षिक क्रियाकलापका विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले जीएस निकेतन माविका प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेसँग गर्नुभएको कुराकानीको सम्पादितः
सहकारीको अवधारणामा विद्यालयको सञ्चालन र व्यवस्थापन कसरी भइरहेको छ ?
लामिछानेः जीएस निकेतन माध्यमिक विद्यालय ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सञ्चालित मकवानपुर जिल्ला तथा बागमती प्रदेश कै नमुना विद्यालय हो । हामीले अध्ययन र अनुसन्धानको क्रममा नेपाल मै एकदम थोरै वा दुर्लभ ठाउँहरुमा मात्रै यस्ता विद्यालयहरु रहेको देखेका छौं । बहुउद्देश्यीय संस्थाले अन्य ठाउँहरुमा धेरै कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । तर यहाँ स्थापना भएको लामो समय भइसक्दा पनि भौतिक पूर्वाधारतर्फ नै जोड दिँदै गर्दा विद्यालय मात्र सफल एउटा कार्यक्रम भएको छ । यो एउटा चुनौती र अवसरको पनि विषय हो ।
सहकारीले सञ्चालन गरेको विद्यालय र अन्य निजी तथा सामुदायिक विद्यालयमा के फरक छ ?
लामिछानेः सहकारीबाट सञ्चालन गरेको र अन्य विद्यालयको नीति, नियम नै फरक छ । नीतिगत रुपमा सहकारीबाट सञ्चालन भएको हुनाले अन्य विद्यालयको तुलनामा समुदायले गर्ने माया पनि बढी पाउँछ । समुदायका अभिभावकहरुको आफ्नै लगानीबाट सञ्चालन हुने हुनाले उहाँहरुले आफ्नै लगानी र उत्तरदायित्व वहन गर्न पाउनुभएको छ । हामीले स्थापनाकालदेखि नै अभिभावकको लगानी र जिम्मेवारीबाट निजी विद्यालयले जस्तै अंग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गरिरहेका छौं । यस अर्थमा हाम्रो विद्यालय सामुदायिक विद्यालय भन्दा फरक छ । स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा निजी विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीका लागि भएका समस्याहरु केही हदसम्म न्युनीकरण गरेको छ । अभिभावकहरुले पनि एउटा विद्यालय खोलेर सञ्चालन गर्न सक्ने कुराको बुझाइ पनि विकास भएको छ ।
अहिले शेयर सदस्यको रुपमा कति अभिभावक हुनुहुन्छ ? प्रतिशेयरको मुल्य कति रहेको छ ?
लामिछानेः संस्थाले अहिले जम्मा एक हजार शेयर जारी गर्न पाउँछ । त्यतिमध्ये करिब छ सय जनाभन्दा बढी शेयरहोल्डर हुनुहुन्छ । खरिद शुल्क स्थापनाकालमा पाँच हजार थियो भने अहिले चाहिँ बढाएर प्रतिशेयर दश हजार रुपैयाँ भएको छ ।
प्रतिशेयर अभिभावकले कस्तो लाभ लिन सक्छन् ?
लामिछानेः विद्यालयको शेयरहोल्डर शिक्षक पनि हुनसक्ने प्रावधान रहेको छ । तर शिक्षकका लागि भन्दा बढी अभिभावकका लागि सुविधा बढी रहेको छ । प्रतिशेयर १२५–१७५ रुपैयाँसम्म प्रतिविद्यार्थी मासिक शुल्कमा छुट दिने व्यवस्था रहेको छ । जति बढी लगानी त्यति बढी सुविधा पाउने व्यवस्था गरेको छ । जसका कारण विद्यार्थीको शुल्क तिर्न भार नहुने पनि देखिन्छ ।
यही ढाँचामा अरु विद्यालयहरु सञ्चालन हुन नसक्नुको कारण के हो ?
लामिछानेः निजी तथा संस्थागत विद्यालयहरु आफैं अब्बल हुने र एक्लाएक्लै अगाडि बढ्ने प्रवृत्ति रहेकोले सहकारीको ढाँचाको विकासमा चुनौती भएको हो । समय सापेक्ष राजनीतिक परिवर्तनसँगै शैक्षिक परिवर्तन गर्नका लागि शिक्षा नीतिहरु परिवर्तन हुन नसक्नु अर्काे चुनौती हो । पाठ्यक्रमहरु मात्रै परिवर्तन गर्ने तर विद्यालय सञ्चालनका लागि आवश्यक शिक्षा नीतिहरु परिवर्तन हुन नसक्नाले पनि यस्ता ढाँचाको विकास हुन नसकेको जस्तो लाग्छ ।
तपाईहरुले सहकारीको अवधारणाको आधारमा विद्यालय सञ्चालन गर्दा स्थानीय सरकारको कस्तो सहयोग रहेको छ ?
लामिछानेः शिक्षालाई स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने आधिकारिकता प्राप्त गरिसकेपछि पनि हामीले विद्यालयको वार्षिक कार्यक्रमको स्थानीय सरकार प्रमुख लगायत विभिन्न व्यक्तित्वहरुलाई राखेर यस विद्यालयको प्रकृति, लगानी, शैक्षिक तथा आर्थिक अवस्था बारेमा बताउँदा उहाँहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौं । सहकारी अवधारणाप्रति सकारात्मक विचार पनि व्यक्त गर्नु भएपनि अझै नीतिगत रुपमा यसको कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय प्रदेश ऐनले चाहिँ सहकारीको माध्यमबाट विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।
सहकारीको माध्यमबाट सञ्चालित जीएस निकेतनले शिक्षक तथा कर्मचारीहरुको वृत्ति–विकास र व्यवस्थापन कसरी गर्दै आएको छ ?
लामिछानेः जीएस निकेतन सञ्चालन भएदेखि अहिलेसम्म अभिभावक, शिक्षक, सञ्चालक समितिको सामुहिक छलफलबाट एउटा नियमावली बनाएका छौं । त्यो नियमावली अन्तर्गत रहेर नै शिक्षक तथा कर्मचारीहरुको सेवासुविधा तथा वृत्ति–विकास गर्दै आएका छौं ।
जीएस निकेतनले शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन के कस्तो कार्य गर्दै आएको छ ?
लामिछानेः पाठ्यक्रम परिवर्तनसँगै शिक्षकहरुले नयाँ–नयाँ विषयवस्तु सिक्नुपर्ने र राज्यले ल्याएको नयाँ नीतिहरुको बारेमा जान्नुपर्ने भएकोले विषयगत रुपमा पुनर्ताजगी तालिम निरन्तर प्रदान गर्दै आएका छौं । जीएस निकेतन अहिलेसम्म शिक्षकलाई तालिम दिने सन्दर्भमा पछि परेको छैन ।