अनिष्का अर्याल कक्षा १२, हेटौडा, स्कूल अफ म्यानेजमेन्ट

जीवन भनेको नै अनेकौँ सुख दुःखको यात्रा हो । जीवनको यात्रामा झरी बादल, उकाली ओराली आउनु कुनै अनौठो कुरा पनि होइन । अनगिन्ति भञ्ज्याङ र चौतारीलाई पार गर्दै ठूल—ठूला जङ्घार, खोला, पाखा, पखेरालाई मित्रतामा परिणत गर्दै अगाडि बढ्नु चुनौति पनि त हो । कुनै रहरले त कुनै कहर अनि कुनै मनोरञ्जनले विभिन्न यात्राहरूमा होमिनु पर्ने रहेछ । जीवनको महत्त्वपूर्ण यात्रामा निस्कनुको मज्जा बेग्लै हुँदो रहेछ अनि पैसाले कतिपय यात्राहरु पनि किन्न नसकिने रहेछ ।

हो, त्यस्तै यात्राका लागि विक्रम संवत् २०७७ फाल्गुनको अन्तिम हप्ता शरीर बोकेर सुदूपश्चिमाञ्चलको पोखरातर्फ हिँडेकी थिएँ । विद्यालयबाट हामीलाई ३ दिनको भ्रमण लगिएको थियो । हामी लगभग २०० जना जति थियौँ होला । फाल्गुन २७ गते शिवरात्रीको दिन हाम्रो यात्रा सुरु भयो । हामी सबै साथीहरु विद्यालयमा भेटेर गाडी चढेका थियौँ । गाडी चढ्नासाथ हाम्रो पुस्तकालयका शिक्षकले हामी सबैलाई १–१ ओटा स्याउ दिनुभयो । बाटोमा जाँदै गर्दा गुरुबाले पसल देखेर गाडी रोकी २–३ कार्टुन पानी किन्नुभयो र सबैलाई दिनु पनि भयो । लगभग १–२ घण्टाको यात्रा पछि एउटा खुला चौरमा गाडी रोकी हामीले बिहानको नास्ता गर्यौं । त्यहाँ हामीले फोटो पनि खिच्यौं । ढिला नहोस् भनी हामीले अलमल नगरी त्यहाँबाट यात्रातर्फ अगि बढ्यौँ । जाँदै गर्दा हामीले बाटोमा नाचगान पनि गयौँ । नाचगान त भयो नै पछि हामीले समूह छुटाएर अन्ताक्षरी पनि खेल्यौँ । घर बाटनै खानेकुरा किनेर हालेकाले हामीलाई बाटा त्यस्तो गारो भएन ।

३–४ घण्टाको यात्रा पछि हामीले दमौलीमा गाडी रोकी खाना खायौं । खाना खाएपछि त्यहाँ पछाडि रहेको खोला छेउमा गई फोटो खिच्यौं । त्यहाँ हामीले खोलामा कसले टाढासम्म ढुङ्गा फाल्न सक्छ भनी ढुङ्गा फालाफाल पनि गर्यौं । त्यतिकैमा गुरुबा र गुरुआमा आएर हामीलाई कराउनु भयो । गाली खाइपछि हामी चुप लागेर गाडीमा गएर बस्यौँ । त्यसपछि हामी फेरि आफ्नो गन्तव्यतर्फ अगि बढ्यौँ । बन्दीपुर हुँदै पोखरा जाने भएकाले गुरुहरुले बन्दीपुर गुमाउने योजना गर्नु भएको रहेछ । बन्दीपुर पुगेपछि हामी गाडीबाट ओर्लियौं र गुरुहरुको पछाडि पछाडि हिँड्यौँ । त्यहाँ रहेको मन्दिरमा लगी गुरुहरुले हामीलाई एउटा खेल खेलाउनु भयो । त्यो खेल खेल्दा निकै रमाइलो भएको थियो । त्यसपछि हामी हिँडेर गाडीसम्म गयौँ र बीच बाटोमा आइसक्रिम देखेपछि हामी सबैले १–१ ओटा किनेर खायौँ । त्यसपछि हाम्रो गाडी रफ्तारसँग हिँड्यो । गाडी एकै चोटी पोखरामा रहेको बेगनास ताल पुगेछि रोकियो ।

हामी बेगनास ताल पुग्नासाथ पानी पर्न थाल्यो । पानी परेका कारण हामी त्यहाँ धेरै बेर घुम्न पाएनौँ । त्यसपछि हामी होटल तिर लाग्यौँ । होटल पुगेपछि गुरुहरु ले हामीलाई ५–५ जनाको समूह बनाएर कोठा दिनुभयो । हामी आआफ्नो कोठामा गएर हातमुख धोएर लुगा फेरि बस्यौँ । हामीले आआफ्नो परिवारलाई फोन गरी खबर पनि दियौँ । त्यसपछि हामी खाना खान रोड पारि रहेको होटलमा गयौँ । त्यो होटलमा केटाहरुलाई राखिएको थियो । हामीले खाना खाएपछि त्यहाँ एक्छिन नाचगान पनि गर्यौं । त्यसपछि हामी आआफ्नो कोठामा गयौँ । गुरुहरुले हामीलाई अब सबै जना हल्ला नगरी सुत्न भन्नुभएको थियो । तर हामी साथी एकै ठाउँमा भएपछि कहाँ निन्द्रा लाग्छ र । साथीहरुसँग हुँदा निन्द्रा लाग्दैन भन्थे साच्चै हो रहेछ जस्तो लागेको थियो । हामी रातिको २ बजेसम्म पनि निदाएका थिएनौँ । जसोतसो बल्ल बल्ल हामी निदायौँ ।

भोलिपल्ट बिहान हामी ५ बजे उठ्यौँ र हातमुख धोइ लुगा लगाएर तल गुरुहरुसँग गयौँ । त्यहाँबाट विश्व शान्ति स्तुपाका लागि हामी निस्कियौँ । शान्ति स्तुपा पुग्न हामीलाई उकालो डाँडो चढनु पर्ने रहेछ । डाँडोको फेदमा गाडी रोकी लठ्ठीको सहरा लिई हामी बल्ल तल्ल उकालो चड्यौँ । उकालो कहिले पनि नचडेको भएर होला त्यो दिन हामीलाई निकै गारो भयो । नाम नै शान्ति स्तुपा त्यहाँ हल्ला गर्न मनाई थियो र कोरोनाका कारण सबैले अनिवार्य मास्क लगाउनु पर्थ्यो । त्यहाँ हामीले एउटा समूहमा फोटो खिच्यौँ । त्यहाँबाट नेपालको ३ ओटा अग्लो हिम चुचुरो पनि देखिँदो रहेछ । त्यहाँ हामीले चिया पनि खायौँ । त्यसपछि हामी ओरालो झरेर डेभिड फल्सतिर लाग्यौँ । पानी नपरेर होला त्यहाँ पानी थिएन । पानी भएको भए त्यो ठाउँ निकै रमाइलो हुन्थ्यो । त्यहाँ थुप्रै पसलहरु भएकाले हामी सबैले आआफ्नो आमाबुबाका लागि केही किन्यौँ । त्यसपछि हामीले त्यही नजिकैको होटलमा गएर खाना खायौँ । खाना खाएपछि हामी अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयतर्फ गयौँ । त्यस संग्रहालयमा नेपालमा रहेका सबै जातजातिको पहिरन राखिएको थियो । बौद्ध धर्मावलम्बीहरूको छुट्टै एउटा कोठा राखिएको थियो । त्यो कोठालाई एकदमै आकर्षक ढंगले सजाइएको थियो । हामी त्यहाँ भित्र गएर त्यो कोठाको फोटो खिच्यौँ ।

एक्छिन घुमेपछि हामी महेन्द्र गुफातर्फ लाग्यौँ । महेन्द्रगुफा पुग्न त्यहाँबाट लगभग २ घण्टा जति लाग्दो रहेछ । त्यस विच हामी सबै निदाएका थियौँ । महेन्द्रगुफा पुग्ना साथ हामीसबै रमाएका थियौँ । चमेरो गुफा पनि नजिकै रहेछ। चमेरो नै चमेरो भएका कारण त्यस गुफालाई चमेरो गुफा पनि भनिँदो रहेछ । गुफा भित्र जनाका लागि पनि टिकट काट्नु पर्ने रहेछ । हाम्रो टिकट गुरुहरुले काट्दिनु भयो । हामी आआफनो टिकट लिएर भित्र गयौँ । भित्र निकै अँध्यारो भएकाले गुरुले हामीलाई टर्च लाईट दिनुभयो । एकअर्काको सहारा लिँदै हामी गुफाको टुपोसम्म पुगेका थियौँ । अन्तिममा हामी गुफाबाट बाहिर निस्किन सफल भयौँ । त्यहाँबाट निस्किएर हामी फेवाताल तिर लाग्यौँ । रात पर्नै लागेका भएर होला गाडी चालक दाजुले गाडी रफ्तारसँग लग्नुभयो । फेवताल पुगेपछि हामी सेफ्टी ज्याकेट लगाई तयारी भएर बस्यौँ । एकैछिन पछि हाम्रो पालो पनि आयो । बोटिङ गर्दै हामी तालको बीचमा रहेको तालबाराही मन्दिर गयौँ । मन्दिरमा हामीले ढोग्यौँ । त्यहाँ पनि हामीले गुरुहरुसँग सामूहिक फोटो खिच्यौँ । फर्किने क्रममा हामीले पालै पालो बोट चलायौँ । त्यहाँबाट हामी बसेको होटलमा नजिकै भएकाले हामी हिँडेर होटल जाने निधो गर्यौं । हिँडेर जाँदै गर्दा हामीले बाटोमा निकै रमाइलो गर्यौं । हामीले बाटोमा टिकटक पनि बनायौँ । होटल पुगेपछि लुगा फेरि हातमुख धोएर हामी खाना खान गयौँ । खाना खाएर आएपछि हामी सबै सुत्यौँ । भोलिपल्ट बिहान हामी ४ बजे उठ्यौँ र हातमुख धोयौँ र एक्छिन गफगाफ गर्यौं ।

त्यसपछि हामी लुगा लगाएर त्यही भित्र कोठामा फोटो लिँदै बस्यौँ । त्यसपछि हामी त्यसपछि हामी लुगा लगाएर त्यही भित्र कोठामा फोटो लिँदै बस्यौँ । त्यसपछि हामीलाई गुरुहरुले बोलाउनु भयो । त्यसपछि हामी हाम्रो झोला बोकेर गाडीमा गयौँ । त्यो दिन हामी गोरखा मनकामना जाँदै थियौँ । लगभग २-३ घण्टा पछि हामी खाना खान रोक्यौँ । खाना खाएपछि हामी हाम्रो यात्रा तर्फ आगी बढ्यौँ । मनकामना पुगेपछि हामी केवल कारको लाइनमा बस्यौँ । बल्ल तल्ल आधी घण्टा पछि हाम्रो पालो आयो । त्यहाँ निकै भीड थियो । हामीले जसोतसो मन्दिरमा गएर पूजा गर्यौं । पूजा गरेर फर्किएपछि हामी अब घर फर्किने तयारीमा थियौँ । हामी हेटौडा बेलुका ७–८ बजेतिर आइपुगेका थियौँ । हामीलाई गुरुले घर सम्मै पुर्याइदिनु भयो । निकै थकित भएर होला मलाई खाना खान मन पनि थिएन । घर पुग्ना साथ म हातमुख धोएर सुतेँ । पोखराको ३ दिने भ्रमण मेरा लागि एकदमै धेरै अविस्मरणीय छ ।