भवानी सापकोटा, हेटौंडा–१० ।

मन न हो अतित, कति चाहन्छु म तिमीलाई बिर्सन । तर मानसपटलमा प्रत्येक क्षण चक्र जस्तै घुमिरहन्छौ । त्यो चक्रलाई पूर्णविराम दिन चाहन्छु म । केही क्षणका लागि पूर्ण बिराम भएर टुङ्गिन लागेका तिम्रा याद र सम्झनाहरु अल्पबिराम भई निरन्तर सलबलाइरहन्छन् मेरो जीवनमा ।

वर्षौ बितिसक्यो नि अतित, तिमीले “अनु, केही वर्ष पर्ख, केही वर्षपछि हामी एक हुनेछौ ।” भनेर दिएको वचनले अन्तै महल उभ्याएपछि हाम्रो सँगै यात्रा गर्ने जीवन छुटिएको । कस्तो होला तिम्रो याद ? जीवन छुटिए पनि याद नछुटिने । प्रायः सपनीमा अतित, तिमी आउँछौ । रातलाई रङ्गीन बनाउँछौ । लज्जावती झारजस्तै दुवै मुटु एकै ठाउँमा समाहित गराउँछौ । रङ्गिन रातमा तिमीले गरेको चुम्बन बिहान उठ्दासम्म रसाइरहेका हुन्छन् । त्यो मिठो रसलाई अनुभव गर्दै म आफ्नो नित्यकर्मतिर लाग्छु । मैले गर्ने जुन कार्यमा पनि तिमी मेरो साथ रहन्छौ मन र मुटुमा । सबै काम सकेर जब म पल्टन्छु तिमी पनि मेरो साथमा नै मसँगै पल्टन्छौ । मेरो कपाल अनुहार र छात्तीसम्म आफ्नो हात पुर्याउँदै “आजको दिन कस्तो भयो अनु” भन्दै मेरो शरीरलाई आफ्नो छातीसम्म पुर्याउँछौ । तिम्रो प्रश्नले उत्तर मागे तापनि मौन हुन्छु म ।

“ए काली काली” भन्दै मेरो शरीरमा न्यानो स्पर्श भएपछि म बिउँझिए । केही समय अगाडि मसँग अतित थियो । अतित र म आफ्नै रङमा घुलिदै थियाँै तर आँखा खेल्दा मेरो अगाडि वर्तमानलाई पाएँ । दिनभरको थकानले होला पल्टने बित्तिकै निदाउन पुगेछु । किन यति छिट्टै निदाएकी ? के भयो ? लाऊ यो दूध खाऊ भन्दै मेरो वर्तमानले मेरो अगाडि दूधको गिलास थमाइदिए । दूधको गिलाससँगसँगै म वर्तमानको अङ्गालोमा बाँधिए । त्यहाँ पनि तिमी थियौ अतित, मेरो जीवनमा तिमी यसरी समाहित भएछौ बस्दा, उठ्दा, हिँड्दा, खाँदा पल्टँदा जताततै तिमी नै ? वर्तमानमा चुर्लुम्ब डुब्दा पनि मनको भोगमा तिमी नै छाउँछौ मेरो अतित । यो मन पनि कस्तो होला ? कयौँ वसन्तले क्षितिज पार गरिसके तर पनि याद र सम्झनाले भने जीवनबाट कहिले पार नपाउने । जीवनमा जतिनै खुट्किला उक्लिँदि गए तापनि याद र सम्झनाले सताइरहने, याद, सम्झना र माया सधैँ ताजा भइरहने, यो याद, सम्झना र माया पनि बासी भइदिए पनि हुन्थ्यो नि । जसलाई फ्याँक्न सकियोस् । कहिले याद नआओस् । तर अतित तिमीसँग जोडिएका प्रत्येक याद ताजा छन् । तिमीले दिएको माया, तिमीले दिएको घृणा, तिमीले दिएको आँसु, तिमीले दिएको एक्लोपन, तिमीले दिएको वर्तमान सबै एकपछि अर्को गरी पत्र, पत्र गरी बसेको छ मसँग । जुन सधैँ खुलिरहन्छ ।

जति बिर्सन चाहेपनि यो मनले अतितलाई सम्झिरहन्छ । अतित तिमीसँग मैले जे पाउँथँे त्यो सबैकुरा वर्तमानमा मैले हासिल गरेकी छु । तर पनि किन तृष्णा फक्रिरहन्छ ? केमा तृप्त भइनँ र म ? शारीरिक, आर्थिक, मानसिक सबै कुराले पूर्ण छु म तर पनि अपूर्ण भएको अनुभूति किन हुन्छ मलाई । के प्राप्ति मात्र माया हो ? शारीरिक भोक मात्र माया हो ? के स्पर्श मात्र माया हो ? यी प्रश्नका उत्तर सबै मलाई थाहा छ तर पनि किन अन्जान छु म ? अतित तिमीले पनि कुनै समय केही क्षणका लागि भए तापनि मलाई माया गरेका थियौ नि भन्ने विश्वास वा अन्धविश्वास मनमा भने खेलिरहन्छन् । तिमीसँगै जीवन बिताउँछु भनी तिमीलाई नै यो मनदेखि रोजेको थिएँ अतित, तर तिमीले मेरो रोजाइ किन खोस्यौ ? जीवनको मध्यस्थमा पाइला टेक्दै गर्दा पनि तिमीलाई एउटै प्रश्न अतित, केले तिमीलाई मबाट टाढा गरायो ? तिम्रो अन्तरदृष्टिमा म कसरी अस्वीकार्य हुन पुगेँ ? तिमीमा कसरी परिवर्तन आयो ? जीवनमा प्रेम एकपटक मात्र हुन्छ जुन मैले तिमीलाई गरेको थिए अतित । विभिन्न कार्य, कारणले विभिन्न मानिसले विभिन्न मानिसलाई मन पराउँछन् । तर माया वा प्रेम एकैजनासँग मात्र हुन्छ । जुन मैले तिमीलाई गरेँ, गर्छु र गरिरहने छु, मेरो अतित ।