हेटौंडाः सोमबार हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको ईजलास बसेको छ । सोमबार बसेको ईजलासमा ९ वटा विवादमा छलफल गरिएको उपमहानगरपालिकाका कानून अधिकृत सुजन तिमल्सिनाले जानकारी दिनुभयोे ।

ईजलासमा वातावरण सम्बन्धी विवाद, लेनदेन सम्बन्धी दुई वटा विवाद, घरभाडा सम्बन्धी एउटा, बाटो सम्बन्धी दुईवटा विवाद, जग्गा सम्बन्धी दुईवटा विवाद र मानाचामल सम्बन्धी एउटा विवाद माथि निर्णय गरिएको उहाँले बताउनुभयो । ईजलासबाट ९ वटा विवाद मध्ये ६ वटा विवादलाई सम्बन्धित मेलमिलाप केन्द्रमा पठाईएको, २ वटा विवादलाई विपक्षी झिकाउने भनिएको र एउटा विवाद अदालत पठाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

लेनदेन, घरभाडा, बाटो, जग्गा र वातावरण सम्बन्धी विवादलाई सम्बन्धित मेलमिलाप केन्द्रमा पठाईएको तिमल्सिनाले बताउनुभयो । यस्तै, बाटो र जग्गाको विवादलाई विपक्षी झिकाउन भनिएको छ । मानाचामलको विवादलाई भने अदालत पठाउने निर्णय भएको अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो ।

निवेदकले न्यायिक समितीमा मानाचामल माग गरेको केही समय पछि अदालतमा पनि मानाचामल नै माग गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२ र २३ अनुसार एकै किसिमको मुद्धा २ वटा अदालतमा पर्यो भने माथिल्लो तहको अदालतले कारवाही, किनारा गरिनुपर्ने भएकाले मानाचामल विवाद न्यायिक समितीको क्षेत्राधिकारमा भए पनि अदालत पठाएको उहाँले बताउनुभयो ।