चन्द्रकान्त चौधरी, कृषि प्राविधिक, मकवानपुरगढी गाउँपालिका

लक डाउनका कारण १० दिनदेखि देशभरको जनजीवन प्रभावित बनेको छ । लक डाउनले सहर मात्रै शून्य छैन, गाउँ पनि शान्त छ । गाउँमा दिनरात खेतबारीमा खट्ने श्रमजीवी किसान र तिनका खेतबारीका उत्पादन बजारसम्म पुर्याउन समस्या भइरहेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसान व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यो लक डाउनको समयमा किसानका समस्या र किसानको पक्षमा गाउँपालिकाले गर्दै आएका कामका बारेमा गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीसँग सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः मकवानपुरगढी गाउँपालिकामा व्यावसायिक तरकारी खेती गर्ने किसानका खेत बारीमा अहिले के–के तरकारी विक्रीका लागि तयार छन् ?
चौधरीः मकवानपुरगढी गाउँपालिकामा व्यावसायिक तरकारी खेतीको क्षेत्र वृद्धि भईरहेको छ । अहिले मुख्य गरेर किसानहरुले लहरे तरकारी बाली (काँक्रो, करेला, लौका, फर्सी, घिरौला) बोडी, सिमी, भिण्डी, भन्टा, खुर्सानी लगायतका तरकारीहरु लगाई सकिएको र कतिपय कृषकहरुले लगाउँदै गरेका छन् । यी तरकारीहरुको मूख्य बजारीकरण बैशाखको पहिलो हप्ताबाट शुरु हुन्छ । अहिले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा करिब २०—२५ विघा जमिनमा फर्सीको मुन्टा बिक्रीको उद्देश्यले लगाएका छन् । फर्सीको मुन्टा उत्पादन तथा बिक्री शुरुवात भएको छ । साथै गोलभेडा, भन्टा, काँक्रो, माच्छे खुर्सानीको पनि उत्पादन र बजार पठाउने कार्य शुरुवात भएको छ ।

समाजः लक डाउनका कारण तरकारी बजारसम्म ल्याउन समस्या भइरहेको होला । बजारमा पनि माग अत्यन्त न्यून भएको भनिएको छ । किसानले के कति तरकारी बजार पठाइरहेका छन् ?
चौधरीः सामान्य अवस्थाको जस्तो त सहज छैन तथापी दैनिक रुपमा एक सयदेखि एक सय ५० मुठा फर्सीको मुन्टा विहान दुध बोक्ने गाडिमा बजार पठाइरहेका छन् । बढि उत्पादित अन्य तरकारीहरु भाडाको गाडिमा गाउँपालिकाको समन्वयमा बजार पठाइरहेका छन् । लक डाउनको अवस्थामा अन्य स्थानबाट पनि न्युन मात्रामा तरकारी बजारमा आउने भएको हुँदा बिक्रीको समस्या खासै आएको छैन जस्तो लाग्छ ।

समाजः सरकारले किसानका उत्पादनलाई बजारसम्म पठाउने सुविधा दिइने भनेको छ । उत्पादित तरकारी बजारसम्म लैजान कत्तिको सहज, असहज भइरहेको छ ?
चौधरीः उत्पादित ताजा तरकारी नासवान वस्तु भएकोले यसलाई समयमै बजार पठाउन सकिएन भने किसानहरु धेरै नै मर्कामा पर्छ । लकडाउनका कारण सामान्य अवस्थामा जस्तो सहज नभएपनि कृषकहरुको उत्पादनलाई गाउँपालिकाले सम्बन्धित वडा कार्यालयको सिफारिसमा उत्पादित तरकारी बजार पठाउने कार्य भईरहेको छ ।

मकवानपुरगढी–३, धमिलेफाँटका किसान मेसिनले खुर्सानी बालीको गोडमेल गर्दै । गाउँपालिकामै पहिलो पटक गोडमेलमा मेसिनको प्रयोग गरिएको हो ।

समाजः लक डाउनले किसानलाई के कस्ता समस्या परेका छन् ?
चौधरीः लकडाउनका कारण अन्य क्षेत्रमा परेको समस्या जस्तै कृषि क्षेत्रमा पनि समस्या देखिन्छ । सरकारले घोषणा गरेको लकडाउन पनि पालना गर्नु अनिवार्य देखिन्छ भने मुख्यतया किसानहरुलाई आवश्यक पर्ने विभिन्न बालीका बीउ, मल, विषादी लगायतका उत्पादन सामाग्रीहरु खरिद गर्न पाएका छैनन् ।

समाजः यो संकटको समयमा स्थानीय सरकारको रुपमा गाउँपालिकाले किसानका लागि के योजना ल्याएको छ ?
चौधरीः स्थानीय सरकार सदैव किसानको हितमा काम गर्दै आईरहेको छ । यस संकटको समयमा झन स्थानीय सरकारले कृषकहरुलाई आवश्यक पर्ने उत्पादन सामाग्रीको उपलब्धता र उत्पादित सामाग्रीहरुको बजार व्यवस्थापनको लागि आपूर्ति तथा ढुवानी व्यवस्थित र सहज बनाउने कार्यमा सिंगो कार्यपालिका लागिपरेका छन् ।