हेटौंडाः कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरुलाई व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि सशक्त र प्रभावकारी संयन्त्रको रुपमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यदिशा अनुसार समिति गठन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
समितिको सदस्यमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, प्रमुख सचिब, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहनुभएको छ । समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक बस्तु वा सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आईसोलेशन र आईसीयुको व्यवस्थापन गर्ने, मापदण्डअनुसारको क्वारेन्टाईनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्नेछ ।
यसैगरी समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब, सामाजिक विकास मन्त्रालयका सचिवलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिबलाई सदस्य सचिबमा मनोनित गरिएको छ ।