एसईईको नतीजा सार्वजनिक हुने समय नजिकिँदै छ । एसईईपछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुमा अन्यौलताको स्थिति रहन्छ । विद्यार्थीले आफ्नो क्षमता, चरित्र, कुशलता, परिवारिक एवम् आर्थिक अवस्थाले धान्न सक्ने विषयमा उच्च शिक्षा हासिल गर्ने प्रयत्न गर्नुपर्छ । एसईई दिएर बसेका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले पनि आआफ्नो तयारी सुरु गरिसकेको छ । यसैसन्दर्भमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको दश जोड दुई तहका प्राचार्य उत्तम अर्यालसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः
समाजः एसईई दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुले मकवानपुर बहुमुखी क्याम्पस नै रोज्नुपर्ने आधारहरु के के छन् ?
अर्यालः मकवानपुर बहुमुखी क्याम्पस मकवानपुरकै एक शैक्षिक धरोहर हो । वि.संं. २०३७ सालमा स्थपना भएको यस क्याम्पसले हालसम्म जिल्लामा मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त थुपै्र जनशक्तिहरु उत्पादन गरिसकेको छ । यस अर्थमा, लामो अनुभव बोकेको, परिपक्व भएको भएको नाताले सम्पूर्ण भाइबहिनीहरुलाई स्वागत गर्न हामी आतुर छौं । यस सँगसँगै हामी नेपालको एकमात्र संस्था जसले, युजीसीबाट दुई पटक हुने क्वालिटी एग्रीग्रेटेसनको दुबै चरण पार गरेर तेस्रो चरणमा जाने तरखरमा छौं । त्यसैले राष्ट्रकै गरिमा बोकेको क्वालिटी एग्रीग्रेटेसनमा हामी दुई पटक एग्रीगेटेड भएको नाताले पनि हामी अब्बल छौं र त्यो अनुसार गुणस्तरीय शिक्षा दिन सक्षम छौं भन्न चाहन्छु । त्यसैगरी हामीसँग सबै कक्षाहरु मल्टिमिडिया र अनुभवी तथा गुणस्तरीय प्राध्यापकहरु हुनुहन्छ । जिल्लाकै सबैभन्दा राम्रो विज्ञान प्रयोगशाला हामीसँग भएको हुनाले सबै विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिन्छौं । यस अर्थमा सम्पूर्ण भाइबहिनीहरुले आफ्नो भविष्य निर्माणको सन्दर्भमा आफूलाई चाहेको विषय अध्ययन गर्न यो क्याम्पस रोज्नु भन्न चाहन्छु ।
समाजः कस्तो विषय रोज्ने भन्ने विद्यार्थीमा हुने अन्यौलता कसरी कम गर्न सकिन्छ ?
अर्यालः सर्वप्रथम विद्यार्थीहरुले आफ्नो इच्छा, चाहना, अपेक्षा र भविष्यमा आफूले देखेको सपना निक्र्यौल गर्न सक्नुपर्छ । आफ्नो रुचि, चाहना र लगावअनुसारको मुख्य विषय रोजेर ११ र १२ पढ्दा माथिल्ला उच्च कक्षामा आफ्नो अध्ययन, भविष्यको योजना र सपना पूरा गर्न सक्ने हुनाले साथीको लहैलहैमा, कसैको दवाव र बहकाउमा नलागी विद्यार्थीहरुले विषय छनौट गर्नुपर्छ ।
समाजः मकवानपुर बहुमुखी क्याम्पसमा के कस्ता फ्याकल्टी तथा विषयहरु सञ्चालनमा रहेको छ ?
अर्यालः पहिलेजस्तो अहिले फ्याकल्टीहरु नरही विषयमा रुपान्तरित भएको छ । परिवर्तित नया“ पाठ्यक्रमअनुसार ११ र १२ मा ६ वटा विषयहरु अध्ययन गर्नुपर्छ । त्यसमध्ये ३ वटा मुख्य विषयहरु नेपाली, अंग्रजी र सामाजिक वा गणित हुन्छन् । त्यसबाहेक अरु ३ वटा विषयहरु आफूले लिएको स्टीमअनुसार छनौट गर्नुपर्ने हुन्छ । र, जिल्लामा अन्य क्याम्पसहरुमा पाइने सबै विषयहरु यस क्याम्पसमा पाउने कुरा अवगत गर्न चाहन्छु ।
समाजः क्याम्पसमा प्रविधिमैत्री सिकाइका कुराहरु कत्तिको छ ?
अर्यालः प्रविधिचाहिँ हामीले चाहेर वा नचाहेर हाम्रो जीवनमा समावेश गर्नुपर्ने परिस्थिति छ । हामीले सम्पूर्ण कक्षाकोठाहरुमा मल्टीमिडियाहरुको व्यवस्था गरेका छौं । सबै फ्याकल्टीहरुलाई क्याम्पसले एकपटक ल्यापटप वितरण गरिसकेको छ र उहाँहरुले सम्पूर्ण सामग्रीहरु डिजिटल मेटेरियलको रुपमा तयार गरिसक्नुभएको छ । आवश्यक पर्दा विद्यार्थीहरुलाई डिजिटल लाइब्रेरीमार्फत् प्रदान गर्छाैं । विद्यार्थीले चाहेको बखतमा आवश्यक सामग्री निकाल्न मिल्ने गरी आईटी ल्याबको यही शैक्षिक सत्रमा नै तयार गर्ने जमर्काे गर्दैछौं ।
समाजः मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्ना चाप र अभिभावको चासो कत्तिको छ ?
अर्यालः मकवानपुर बहुमुखी क्याम्पस एउटा ठूलो क्याम्पस भएको नाताले धेरै अभिभावकहरु यहाँ विशेषगरी राजनीतिक सोच राख्नेदेखि लिएर विभिन्न सामाजिक व्यक्तित्वहरुले मकवानपुर बहुमुखी क्याम्पसको विकास र उन्नतिको लागि निरन्तर सक्रिय रहने क्रम जारी छ । उहाँहरुले बेलाबखत क्याम्पसको भ्रमण गर्ने, आवश्यक परामर्श दिने र सल्लाह सुझाव दिने क्रम सधैं नै यथावत रहेको छ ।
समाजः क्याम्पसले विद्यार्थीहरुलाई छात्रवृत्ति र छात्राबासको कस्तो व्यवस्था गरेको छ ?
अर्यालः छात्रवृत्तिको सन्दर्भमा क्याम्पस प्रशासनले क्याम्पसकै स्रोतमार्फत् विपन्न र गरिब विद्यार्थीहरुका लागि लामो समयदेखि छात्रवृत्ति व्यवस्था गर्दै आएको छ । क्याम्पसको आफ्नो स्रोतसाधनबाट निश्चित रकम बैंकमा राखेको छ । त्यसबाट वार्षिकरुपमा प्राप्त हुने व्याजमार्फत् विद्यार्थीले प्रदर्शन गरेको ज्ञानको क्षमताअनुसार वितरण गर्दै आएका छौं । हालसम्म यस क्याम्पसले छात्राबासको व्यवस्था गरेको छैन । हामीले यो विषयमा शिक्षा मन्त्रालय र भारतीय दूतावासमा पत्राचार गरेका छौं ।
समाजः क्याम्पसमा घोकन्ते शिक्षाबाहेक अतिरिक्त क्रियाकलापको कस्तो व्यवस्था छ ?
अर्यालः हाल विद्यमान पाठ्यक्रमले नै विद्यार्थीहरुको प्रयोगात्मक सिकाइलाई जोड दिएको छ । कक्षा ११ र १२ मा पढ्नुपर्ने प्रत्येक विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मकरुपमा नै सिक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार यस क्याम्पसले वार्षिक क्यालेण्डर निर्माण गरेर उहाँहरुको सर्वाङ्गीण र चौतर्फी विकासका लागि फरक–फरक प्रतिभा, ज्ञान, क्षमता र संस्कृति आदिको आधारमा सबैलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
समाजः मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न राजनीतिक संगठनहरुले गर्ने कार्यक्रमहरुका लागि विद्यालयको वातावरण कस्तो पाउनुभएको छ ?
अर्यालः समाजमा राजनीति हुनु स्वभाविक हो, किनभने हामी राजनीतिक प्राणी हँैं । त्यसअर्थमा समाजको राजनीतिक परिवेशको छायाँ यस क्याम्पसमा पर्छ । यद्यपि केही वर्षयता सो कुरामा हामीले निकै अनुशासित र सुशासन पाएका छौं । संगठनहरुले व्यवस्थित र अनुशासितरुपमा सम्पूर्ण भाइबहिनीहरुलाई सामाजिक तथा राजनीतिकरुपले प्रशिक्षित गर्ने हिसाबले र क्याम्पसको विकास र उन्नतिलाई नै आधार बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ र हामीले त्यसअनुसार नै सल्लाह सुझाव दिँदै आएका छौं । त्यसकारण राजनीतिक संगठनहरुले गर्ने कार्यक्रमहरु विद्यार्थीहरुको हकहितका लागि उहाँहरुले सभ्य तरिकाले अनुशासित र मर्यादित भएर क्याम्पस प्रमुखको अनुमतिमा क्याम्पस र राजनीतिक तथा भातृ संगठनको सहकार्यमा कार्यक्रमहरु गर्दै आएका छौं । जति राजनीतिक गतिविधिहरु यस क्याम्पसमा हुँदै आएको छ, सबै गतिविधिहरु क्याम्पस र समाजको विकास र उन्नतिको निम्ति नै हुँदै आएको छ ।