डीबी बर्तौला

सानो तर गम्भीर विषयवस्तुको उठान गर्दै मानवीय सम्बन्धहरुको असापासमै रहेर कविता लेख्न रुचि राख्ने निमेषराज सापकोटाको नवीनतम् कविता सङग्रह ‘खोज्दै हिँड्दा आफैलाई’ एक सशक्त कृति हो । विशेषतः आफुले आफौंई छाम्न खोजिएको र आफ्नो कर्तव्यबोध र अस्तित्वको आत्मचेतले सजिएको यस कृतिका आधारमा भन्न सकिन्छ कवि सापकोटा जिम्मेवारीको तह अलि बढि नै सचेत रहन चाहान्छन् । आफुसँगै भएका अनगिन्ती प्रश्नहरुको उत्तर आत्मसंवादबाट खोजी गर्दछन् र उनका भावले प्रत्येकलाई नोस्टाल्जिक बनाई दिन्छ । हृदयको क्यानभासमा उनि आफुलाई चित्रकार बनाएर रंगीन सपना कोर्दछन् । यादहरुले उनलाई पटक—पटक भङकृत बनाइरहेको छ । समयका पदचापहरुले उनलाई थिचिरहेको छ । जिवन मोहले तानिरहेछ ।
कविता सङ्ग्रहलाई आत्मसंवाद, हृदयको पृष्ठभूमि, मोह, याद, गुञ्जन र समयको छिर्का गरी पाँच भागमा विभाजित गरिएको छ । ३५ वटा कविता रहेको यस संग्रहमा छोटो र कौतुहलपुर्ण विषयवस्तुको उठान पाइन्छ भने नविन शैली पनि भेटिन्छ । कविता संग्रहमा विगतका रमाईला पल, प्रेमिकासँग आत्मिक सम्बन्ध, किशोरावस्थाका स्वतन्त्र स्वभावहरु र परिपक्वतासँगै जीवनबोध हुँदै गएको यथार्थ पक्षको उद्घाटन गरिएको पाइन्छ । निर्जीव वस्तुहरुको अनौठो प्रेम र छुटिनु पर्दाको छटपटीलाई समेटिएको पाइन्छ । जिन्दगी लाग्दै गरेको सुन्दर अवस्थाको नअडेकोमा उनी शेष पोख्दछन् ।

जस्तैः
जिन्दगीलाई जति तर्साए पनि
जति धम्काए पनि
जति लोभ्याए पनि
कुनै बहानामा अडिएन
(जिन्दगी संवाद पृष्ठ नं. ३३)
उनका भ्रमका अनुभुतिहरु यथार्थमै असहज जस्तो खाग्ने तर साँचै विचारका तहमा भने उनी प्रष्ट छन् । भौतिक प्राप्ति वस्तुहरु सबै भ्रम भएको कुरा उनी जीकिर गर्दछन् । ठमेलका बजारमा भ्यालेनटाइन डे मनाउँदा पूर्वप्रेमिकाको याद असरल्ल छरिएको अनुभुती उनी व्यक्त गर्दछन् । जिन्दगीमा मानिसहरु गुनासो मात्र पोख्छन् तर उनी गुनासो मात्र जिन्दगी होइन भन्ने कुरामा अडीग छन् । जीवनको कति कलात्मक व्याख्या कवितामा उनी यसरी गर्दछन् ।

जीवन अप्ठ्यारो याम बनिदेला
हामी अँगालो बनौँला
जीवन झरी बनिदेला
हामी बलेसीको तिर्खा मेटिदिने
फगत एक थोपा पानी बनिदिउँला
(प्रस्तावः मृत्यू क्याफे पृष्ठ —७३)
साँच्चै कविलाई जीवनका तितामिठा यादहरुले पलपल चिमोटी रहँदो रहेछ र यादहरुले ह्याङ्गओभर हुँदो रहेछ । याद नभए त जिवनमा निस्सार र एक्लो एकाङ्गीपन मात्र हुँदो रहेछ । कवितामा उनी यसरी पोखिन्छन् ः

लेखक निमेषराज सापकोटा र उहाँको कृतिको कभर फोटो ।

यादै नभएदेखि
पहाडको काखमा रोइरहेको
एक्लो चौतारोजस्तो हुँदो रहेछ जीवन
(याद गुञ्जन, पृष्ठ —९१)
मसिना कुराहरुले कतिसम्म प्रभाव जमाउँदो रहेछ । विछोडको दुरी र जीवनको सफलता तथा असफलतासमेत मसिना कुराहरुबाट दुख्छ र अमिलो सम्बन्धहरु भइदिन्छ । पीडामा डुब्नेले मसिना कुराहरु हरपल सम्झने गर्दछ ।
साँच्चै कवि हजुरबा, हजुरआमाकै छत्रछाँया हुर्किएको र उहाँहरुबाट थुप्रै ज्ञान र याद संगालेको स्मरण गर्दछन् । आफू बन्नुमा बाआमाको अहम् भूमिका रहेकोले कविताभरी भावुक हुन्छन् । उनका कवितामा जिवन्त भावनाका लहरहरु छरपस्ट भएका छन् । उनी उदाङ्गो जीवन निस्फिक्री उत्ताउलो जीवन र आफ्नै निजत्व भावमा रम्न चाहने एक आफैंलाई जीवनको गोरेटोमा खोजी गर्न रुचाउने कवि हुन् । कविताभरि भावनाका छालहरु छचल्किएको पाइन्छ ।
बौद्धिक पाठकहरुको अपेक्षा उनको कविताले गर्दछ । अङ्ग्रेजी शब्दको व्यापकता र कतै अङ्ग्रेजी वाक्यको समेत प्रयोग साथै शैलीगत हिसाब असामान्य अनुभूतिजन्य प्रस्तुति कवितामा पाइन्छ ।
विम्व र प्रतीकहरुको प्रयोग गरिएको कविताहरुमा विशेषतः स्वयम् कवि नै मुखतीर भएका छन् । प्रश्नात्मक शैलीमा लेखिएका कतिपय कविताहरुमा व्यङ्ग्य चेतना समेत पाइन्छ । नेपाली समाजको आधारमा हेर्ने हो भने अश्लिल लाग्ने केही शब्दहरुको प्रयोग पनि पाइन्छ तर यस्ता शब्दहरु युवाहरुको माझ स्वीकारयोग्य भएका छन् । कुनै कविताहरु निबन्धात्मक बढी भएको पनि पाइन्छ । नेपाली युवाहरुको मनको आवाजलाई कविताभरी छरिएको छ । तसर्थ खोज्दै हिँड्दा आफैंलाई कविता सङ्ग्रहमा नेपाली साहित्य बजारको एक अनमोल कृति हो ।
उनका कविताका आधारमा उनलाई भावनाको डुङ्गा चढेर यादहरुको स्मरणमा रमाउन एक रसिक कविका रुपमा लिन सकिन्छ । अध्यात्म चेत दार्शनिक विचारमा आफ्नो कविताको धार पक्रने उनि आफुलाई अस्पष्ट र अस्थिर भएको कुरा जीकिर गर्दछन् । उनको लेखनीमा कौतुहलतापूर्ण उठान र हृदयको गहिराइमा सुक्ष्म स्पर्श गर्न सक्ने जादुयी तागत लुकेको पाइयो नेपाली साहित्य आकाशमा सदैव चम्कन सकिरहुन साथै काव्यिक सफलताको शुभकामना ।

(बर्तौला मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरको सचिव हुनुहुन्छ ।)