हेटौंडामा स्थापना गरिएको हेल्प डेस्क ।

हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले लक डाउन गरे पनि अत्यावश्यक तथा संकटमा परेका व्यक्तिहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । लक डाउनका कारण निम्न आय भएका व्यक्तिहरु सबैभन्दा बढी पीडित छन् । सहरमा दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु सहर नै लक डाउन भएपछि हिँडेर समेत आफ्नो घरगाउँ जान बाध्य छन् ।

हेटौंडाको हेल्पडेस्कबाट प्राप्त खाजा खाँदै यात्रु ।

यसरी जोखिम र कष्टपूर्ण यात्राका क्रममा हेटौंडा आइपुगेका व्यक्तिलाई हेटौंडा–४, बाइपासरोडचोकमा पानी तथा खाद्यान्न सामग्री वितरण जारी छ । आज छैठौं दिनसम्ममा पाँच सयभन्दा बढीले सेवा पाएको यात्रुलाई सहयोग गर्न स्थापना गरिएको सहयोग डेस्कका सञ्चालक ध्रुब अधिकारीले जानकारी दिनुभएको छ । उक्त स्थानबाट सुरक्षामा खटिएका सुरक्षाकर्मी समेत लाभान्वित भएका छन् । पिउने पानीसहित चाउचाउ विस्कुट, भुजा, चिउरा लगायतका खानेकुरा राखिएका छन् । सहयोग डेस्कका लागि हेटौंडाका विभिन्न संघ, संस्था तथा व्यक्तिले सहयोग गरेको अधिकारीले जानकारी दिनुभयो ।