कारोना भाइरसको संक्रमण नहोस् भनी सरकारले आव्हान गरेको लक डाउनको आज नवौं दिन आम नागरिक घरभित्रै छन् । लक डाउनले हरेक व्यक्तिलाई चिन्तनशील बनाएको छ । यस्तै एक चिन्तनको नतीजा तयार पार्नुभएको छ कवि एसके निधनले । निधनको मृत्यु भ्रम शीर्षकको कविता ।
मृत्यु भ्रम
रित्तो सडक देख्दा
स्वर्गको अनुभुति मिल्न थालेको छ
अक्कल–झुक्कल भोकको औषधि खोज्न निस्किनेहरु
मलामी जस्तै लाग्छन्
जो आफ्नै लास बोकेर हिँडिरहेका छन् लुखुरलुखुर
यो कस्तो प्रलय हो ?
न जिउँदोको जन्ती न मर्दाको मलामी
हावा चलिरहेको छ
पानी बगिरहेको छ
आफ्नै रफ्तारमा पृथ्वी घुमिरहेको छ
सूर्य बिहानै उदाउँछ र बेलुकी अस्ताउँछ
कुकुरहरु भुकिरहेका छन्
चराहरु उडिरहेका छन्
जंगलमा सालक खेलिरहेको छ
केराको पातमा चमेरो उस्तै झुन्डिएको छ
माछो गोहि र सर्प सँगै पानीमै छ
माहुरिले मह काडिरहेको छ
बस् ।
मान्छे मात्रै औडाहा छट्पटिएको छ
मान्छे, मान्छे मरेको समाचार सुन्छ
मान्छे, मान्छे मरेको समाचार पढ्छ
मान्छे, मान्छे मरेको समाचार हेर्छ
मान्छे, मान्छे मरेको संख्या अपडेट गर्छ
र भन्छ
मान्छे देखि टाढा बस्नुस्
बाहिर निस्कन खतरा छ
घर भित्रै सुरक्षित रहनुस् ।
घर भित्रः
लामखुट्टे छ, त्यसैले मार्न सक्छ
सर्प छ, त्यसैले मार्न सक्छ
मुसा छ, त्यसैले मार्न सक्छ
परेवा छ, त्यसैले मार्न सक्छ
ग्यास सिलिण्डर छ, त्यसैले मार्न सक्छ
बिजुली छ, त्यसैले मार्न सक्छ
अझै खतरनाक कुरो
घर भित्र फ्यान छ र डोरी छ,
मान्छेको डरपोक आत्म छ, त्यसैले मार्न सक्छ
मृत्यु भन्दा टाढा सुरक्षित कहाँ छ घर ?
र पनि,
मृत्युलाई जित्ने होडमा
तोडेर मानवताको सांलो
रोकेर नियमित दिनचर्या
मान्छेले मान्छेलाई थुनेको छ घर भित्र ।
मान्छे घर भित्र बस्दा
मान्छे मात्रै बस्दैन घर भित्र
कागती बस्छ, टिमुर बस्छ, अदुवा बस्छ
मकै बस्छ, कोदो बस्छ, धान बस्छ
गाई बस्छ, भैंसी बस्छ, बाख्रो बस्छ
जब
बोराको चामल, झोलाको दाल
ग्यालेनको तेल सकिन्छ
तबसम्म मान्छे
बाहिर निस्कनै नसक्ने कायर भैसकेको हुनेछ
भयानक दन्किनेछ भोकको आगो
आगोको लप्काले पोलेपछि
मान्छेले मान्छे देख्नेछैन घर भित्र
सर्वश्रेष्ठ प्राणी मान्छेले सम्झनेछ
डार्बिनको सिद्धान्त:”बाच्नको लागि संघर्ष ”