पछिल्लो समयमा देशका विभिन्न भागमा सडक यातायातका सवारी दुर्घटना बढ्दै गएको छ । मुलुकको आधारभूत यातायातको रुपमा रहेको सडक दुर्घटना वृद्धि हुनुलाई चिन्ताको रुपमा हेर्नुपर्ने देखिएको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधारण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ । देशको ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ । धेरै सवारी साधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको पाइन्छ । चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ ।
बिहीबार पूर्वी नेपालको संखुवासभामा बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । संखुवासभाको मादी नगरपालिकाबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना हुँदा घटनास्थलमा १४ र उपचारको क्रममा एक जनाको मृत्यु भएको हो । बुधबार पनि देशका विभिन्न भागमा भएको सडक दुर्घटनामा करिब एक दर्जन मानिसको मृत्यु भएको थियो । सडकमा हुने विभिन्न प्रकारका सवारी दुर्घटना र त्यसबाट दैनिक दर्जनौं मानिसको ज्यान गएको समाचार दिनहुँ सुन्न, देख्न र पढ्न पाइन्छ । यस्ता समाचार दुःखद्मात्र होइन, यसले निम्त्याउने क्षति अकल्पनीय बनिरहेको छ । सवारी दुर्घटना भयावह बनिरहँदा पनि नियमनकारी निकायले भने यसको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । दुर्घटना भयाबह बन्दै जाँदा सबै पक्ष सचेत र गम्भीर बन्नुपर्ने हो । तर, दुर्घटनाबाट बढी प्रभावित भइरहेका यातायात व्यवसायी, यातायात मजदुर र आम सर्वसाधारणसमेत दुर्घटनाको समाचारहेरेर, पढेर, सुनेर बिर्सिने परिपाटीले दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
देशभर सडक यातायात सञ्जाल वृद्धि भइरहेका कारण गाउँगाउँसम्म यातायातको पहुँच बढ्दै जानुलाई सुखद् मान्नुपर्छ । सडक र सडकमा गुड्ने सवारी साधनको वृद्धि र विकाससँगै दुर्घटनाको जोखिम बढ्नु भने चिन्ताको विषय बनिरहेको छ । चालकको लापरबाही नै सवारी दुर्घटनाको मुख्य कारण बनिरहेको छ । तिव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र जथाभावी ओभरटेक गर्नेजस्ता चालकको लापरबाहीले अधिकांश सवारी दुर्घटना हुने गरेको तथ्यलाई नकार्न सकिँदैन । सवारी साधन सुरक्षितरुपमा गुडाउन सकिने सडकको अवस्था नहुनु, क्षमताभन्दा बढी भार बोक्नु पनि दुर्घटनाको थप कारण बन्ने गरेको छ । यस्तै, सवारी साधनमा हुने गरेको यान्त्रिक गडबडीले पनि सवारी दुर्घटना हुने गरेको भए पनि दुर्घटनाको मुख्य कारण मानवीय त्रुटीलाई नै मान्न सकिन्छ ।
धेरैजसो सवारी दुर्घटनाको कारण मानवीय त्रुटी वा लापरबाही नै हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा बढी सवारी चालक सचेत बन्नुपर्ने देखिन्छ । साँघुरा सडकलाई फराकिलो बनाई सडको स्तरीकरण गर्नु दुर्घटना न्यूनीकरणको अर्को महत्वपूर्ण उपाय हुनसक्छ । यस्तै, सडक सुरक्षाका लागि उपयुक्त सरकारी नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनु पनि उत्तिकै आवश्यक रहेको छ । हरेक व्यक्तिले दुर्घटनाबाट हुने क्षतिको आँकलन गरी सवारी दुर्घटना न्यूनीकरणको प्रयास आफैंबाट गर्नुपर्छ ।