हेटौंडाः आज शुक्रबारबाट हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन हुने भएको छ । विद्यालयका लेखापाल र प्रधानाध्यापकहरुको सहभागितामा तालिम सञ्चालन हुन लागेको हो ।

उपमहानगरभित्रका ७० जना लेखापाल र प्रधानाध्यापकलाई विद्यालयको लेखा व्यवस्थापनका विषयमा सहजीकरण गरिने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । विद्यालयमा बजेट निकासा, स्रोत व्यवस्थापन तथा परिचालन, अनुदान व्यवस्थापन, विद्यालय खरिद प्रक्रिया, जिन्सी खाता सञ्चालन, बैंकिङ कारोबार र कर व्यवस्थापनसम्बन्धी विषयमा तालिम दिइने उहाँले बताउनुभयो । स्रोत तथा लेखा नियन्त्रण कार्यालय, शिक्षा विकास महाशाखा र हेटौंडा उपमहानगरपालिकाको संयुक्त समन्वयमा तालिम हुनेछ ।