हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविका शिक्षक तथा हेटौंडा–४, स्कूलरोडस्थित गन्तव्य ट्युसन सेन्टरका सञ्चालक केशव सञ्जेल

शिक्षक सेवा आयोगले देशभर करिब १८ हजार शिक्षक नियुक्त गर्न दरखास्त आव्हान गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार करिब ९ सय जना शिक्षक मकवानपुर जिल्लामा पनि नियुक्त हुँदैछन् । आयोगले आगामी चैत १५, १७ र १९ गते क्रमशः प्रावि, निमावि र माविको प्रथमपत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ । एकैपटक उल्लेख्य संख्यामा आवेदन मागेसँगै मकवानपुर जिल्लामा शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्साहजनक तयारी जारी छ । आयोगको सूचना र विद्यार्थीको तयारीका विषयमा हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविका शिक्षक तथा हेटौंडा–४, स्कूलरोडस्थित गन्तव्य ट्युसन सेन्टरका सञ्चालक केशव सञ्जेलसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

शिक्षक सेवा आयोगले आवेदन आव्हान गरेको छ । आवेदन दिन योग्य व्यक्तिहरुको प्रतिक्रिया कस्तो पाइराख्नुभएको छ ?
सञ्जेलः शिक्षक सेवा आयोगले गरेको यस वर्षको विज्ञापन उल्लेख्य संख्याको छ । २०७५ सालपछि यस वर्ष आयोगले दरखास्त आव्हान गरेको हो । बीचमा अध्यापन अनुमतिपत्रको परीक्षा पनि भएको छैन । अध्यापन अनुमतिपत्र प्राप्त गरेका पुराना उम्मेदवारले मात्रै सहभागी हुन पाउने र उल्लेख्य संख्यामा आवेदन आव्हान हुनुले यो राम्रो अवसरको रुपमा रहेको छ । कम प्रतिस्पर्धी र धेरै अवसर देखिएको छ ।

कस्ता व्यक्तिहरु तयारीका लागि आएका छन् ?
सञ्जेलः शिक्षण पेशामै रहेकाहरु जो राहत, करार, निजी विद्यालयमा कार्यरत हुनुहुन्छ त्यस्तै शिक्षक साथीहरुकै नै बढी तयारीमा रहनुभएको छ ।

मकवानपुर जिल्लामा प्रावि, निमावि र मावि गरी करिब ९ सय जनाका लागि दरखास्त आव्हान भएको छ । मकवानपुरमा प्रतिस्पर्धीको संख्या चैं कति होलान् ?
सञ्जेलः मकवानपुरमा करिब ७÷८ हजार जति आवेदक हुने देख्छु ।

तपाइँहरुले तयारी गर्ने उम्मेदवारलाई सहजीकरण गर्ने गरी ट्युसन कक्षा सञ्चालन गरिराख्नु भएको छ । विशेषगरी किन तयारी कक्षामा सहभागी हुनुपर्छ ?
सञ्जेलः विशेषगरी अहिले नयाँ पाठ्यक्रम छ । उक्त पाठ्यक्रमका बारेमा उम्मेदवारलाई अभ्यस्त गराउन हाम्रो सहजीकरण कक्षा जरुरी छ । विश्वविद्यालय तहको परीक्षामा सहभागी भएका तर आयोगको परीक्षामा सहभागी नभएका उम्मेदवारको संख्या उल्लेख्य छ । तसर्थ आयोगको परीक्षामा सहभागी हुने, लेख्ने तरिका सिकाउन पनि तयारी कक्षा जरुरी छ । त्यसैले हामी आयोगको परीक्षामा सहभागी हुन लागेका उम्मेदवारलाई पढ्ने, बुझ्ने र लेख्ने नयाँ नयाँ तरिका बारेमा सहजीकरण गर्छौं । अहिले हामी प्रथम पत्रको तयारी गराइराखेका छौं ।

शूल्क तिरेरै कति उत्साहका साथ सहजीकरण कक्षामा सहभागी हुन आउनुभएको छ ?
सञ्जेलः हाम्रो गन्तव्य ट्युसन सेन्टरसँगै जिल्लामा झण्डै दर्जन ट्युसन सेन्टरले तयारी कक्षा सञ्चालन गरिराखेको छ । हामीले अन्यको तुलना सस्तो शूल्कमा तयारी कक्षा सञ्चालन गरिरहेका छौं । हामी सञ्चालकहरु पनि अधिकांश शिक्षक नै भएकाले हामीले शूल्कलाई भन्दा पनि बढी भन्दा बढी जिल्लाभित्रकै उम्मेदवारलाई सफल बनाउने प्रयत्नमा छौं । २/४ दिन सहभागी हुँदा नै थप उत्साहित हुनुभएको छ । पाठ्यक्रम नै नबुझेका साथीहरु नै उल्लेख्य संख्यामा हुनुहुन्छ । उहाँहरु पनि केहीदिनको कक्षापछि नै निरन्तर र मिहिनेतका साथ लाग्नुभएको छ ।

लामो समय स्रोतव्यक्तिको रुपमा काम गर्नुभयो । उच्च शिक्षा, विश्वविद्यालय तहको शिक्षा अध्ययन गर्दै गर्दा अहिले आयोगले लिने परीक्षामा कत्तिको सहयोग गर्छ ?
सञ्जेलः उच्च शिक्षा र विश्वविद्यालय तहबाट उत्तीर्ण भएर आउनु नै योग्यताको प्रमुख आधार हो । तर, त्यत्ति शिक्षा मात्रै पर्याप्त आधार भने देखि“दैन । सैद्धान्तिक पक्ष राम्रै भए पनि व्यवहारिक पक्ष कमजोर रहन्छ । त्यसैले हामी व्यवहारिक पक्षका बारेमा बढीभन्दा बढी सहजीकरण गरिरहेका छौं । शिक्षकमा हुनुपर्ने सीप र दक्षता अभिवृद्धि गर्न हाम्रो सहजीकरण गर्न आवश्यक छ ।

अध्यापन अनुमतिपत्रका लागि पनि परीक्षा लिने, आयोगले पनि परीक्षा लिने दोहोरो भयो । अध्यापन अनुमतिपत्रको परीक्षाको औचित्य भएन पनि भन्ने गरिन्छ नि । यो अध्यापन अनुमतिपत्रको परीक्षाको औचित्य के छ ?
सञ्जेलः अध्यापन अनुमतिपत्रको परीक्षा खासगरी शिक्षकमा हुनुपर्ने क्षमता, कुशलता, व्यवहारिक पक्ष, आयोगको परीक्षाका लागि ध्यानदिनुपर्ने पक्षका बारेमा सक्षमता तुल्याउने भएकोले आलोचना हुनु स्वभाविक हो । तर, अहिले चिकित्सक, नर्स, ईन्जिनियर, वकिलदेखि हरेक जसो पेशा, व्यवसायमा सक्षमताको परीक्षा लिइने हुँदा सुधार हुने देखिन्छ । शिक्षामा अध्यापन अनुमतिपत्रको परीक्षाले सुधार नै गरेको देखिन्छ । यसलाई सकारात्मक दृष्टिकोणले हेरिनुपर्छ ।

अहिले तयारी कक्षामा सहभागी भएका उम्मेदवारहरुलाई हेर्दा के कुरा राम्रो छ र के कुरामा उहाँहरुले ध्यान दिनुपर्छ ?
सञ्जेलः म शिक्षक नै हुन्छु । शिक्षक हुनुको अर्थ बुझिसकेको, परीक्षा दिएर स्थायी भएर जीवन बिताउँछु भन्ने पक्ष प्रशंसनीय छ । अब उहाँहरुले उच्च शिक्षा, विश्वविद्यालय तहको शिक्षा पार गरेर शैक्षिक योग्यता बनाउनुभएको छ, उहाँहरुले अध्यापन अनुमतिपत्रको सक्षमतामा सफल भइसक्नुभएको छ । उहाँहरु हामीसँग सहजीकरणका लागि आउनुभएको छ । हामी उहाँहरुलाई सहजीकरण गर्छौं । उहाँहरु भोलिका दिनमा सफल हुनुहुनेछ र शिक्षाको क्षेत्रमा योगदान गर्नुहुनेछ ।

आयोगको परीक्षा आउन अब करिब साढे २ महिना बाँकी छ । आयोगको सूचनापछि तयारी सुरु गर्ने र पहिलेदेखि नै तयारी गर्ने उम्मेदवारको संख्या कस्तो छ ?
सञ्जेलः प्रायः आयोग नखुली तयारी गर्ने प्रचलन छैन । थोरै संख्यामा मात्रै पूर्वतयारी गर्नेहरु छन् । फारम खुलेपछि, खुल्ने संकेत पाएपछि मात्रै तयारी गर्ने प्रवृत्ति बढी छ । तयारीमा सहभागी हुनेहरु उल्लेख्य संख्यामा प्रथमपत्रमा उत्तीर्ण भएर दोस्रो पत्रका लागि पनि तयार हुन्छन् ।

आयोगको परीक्षामा मकवानपुर जिल्लामा बाहिरी जिल्लाका उम्मेदवार आएर परीक्षा दिँदा उनीहरु भन्दा राम्रो गर्ने र मकवानपुरबाट बाहिरी जिल्लामा गएर परीक्षा दिने उम्मेदवारको अवस्था कस्तो रहन सक्छ ?
सञ्जेलः विगतका वर्षहरुको परीक्षामा सहभागी र नतीजालाई समेत हेर्दा मकवानपुरका र मकवानपुरमै तयारी गरेकाहरुले जिल्लाभित्र र बाहिर पनि नाम निकाल्न सफल भएका छन् । मधेश प्रदेशका जिल्लाका विद्यार्थीहरुको हकमा मकवानपुरमै गएर तयारी गर्ने, परीक्षा दिने हो भन्ने अवस्था छ । अझ कतिसम्म भने मकवानपुरका प्रशिक्षकहरुले मधेश प्रदेशका जिल्लामा गएर एकैदिन सहजीकरण गरेर राम्रो रकम बुझेर आउने अवस्था बनेको छ ।

कुन पक्षले शिक्षक हुन प्रेरित गरिरहेको छ ? कुन पक्षले शिक्षक हुन प्रेरित गरिरहेको छैन ?
सञ्जेलः समाजले नै शिक्षकलाई राम्रो नजरले हेर्ने गरेको छैन । निजामति सेवाका खरदार र नायब सुव्वालाई जति पनि सकारात्मक दृष्टिकोण नराख्नुले शिक्षा सेवामा आकर्षिक हुन सकेको छैन जस्तो लाग्छ । यसमा शिक्षककै भूमिकामा पनि कमजोरी छ । तर अहिले केही दृष्टिकोण परिवर्तन भएको छ । शिक्षाक्षेत्रमा लाग्नेहरुले पनि मिहिनेत गरेको छ । जसका कारण शिक्षाप्रति आकर्षित गरेको छ । म आफैं पनि यतिबेला आएर शिक्षक भएर गल्ती गरिनँ भन्ने लागेको छ ।