हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुई दिने बकैया कला साहित्य महोत्सव–२०८१ सम्पन्न भएको छ । बकैया–५ स्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा विविध क्रियाकलापसहित आयोजित महोत्सव शनिबार समापन गरिएको हो ।
महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन भएको थियो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा महोत्सव समापन भएको हो ।
महोत्सवको दोस्रो दिन शनिबार होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८१ बाट भैरहवाका प्रा.डा. कपिलप्रसाद लामिछानेलाई २१ हजार १ सय २१ राशिसहित सम्मानपत्र प्रदान गरिएको छ । बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ बाट मकवानपुरका मुक्तककार देवराज खरेललाई १५ हजार ५ सय ५५ राशिसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ । खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ बाट मकवानपुरका युवा साहित्यकार बिर्खे अञ्जानलाई ८ हजार ५ सय राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ ।
सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ बाट मकवानपुरकी गजलकार बबी थापालाई र सञ्जीवनी बुटी साहित्य सम्मान–२०८१ बाट बाराका नियात्राकार अप्सरा पुडासैनीलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहित सम्मान गरिएको छ । गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ बाट मकवानपुरका ज्योति न्यौपानेलाई ११ हजार १ सय ११ राशिसहित सम्मान गरिएको छ । झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ बाट बकैयाका सन्तोष विकलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ ।
यस्तै, खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ बाट मूर्तिकार ओमभक्त भण्डारी र अपेश्वर–रुक्मिणी–सक्ष्मीदेव खनाल साहित्य सम्मान–२०८१ बाट ललितपुरका रत्न विरही घिमिरेलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहित सम्मान गरिएको छ । बकैया गाउँपालिकाभित्रका विद्यालयमध्ये उत्कृष्ट शिक्षक–२०८१ बाट बुद्ध माध्यमिक विद्यालयका शिक्षक हरि घिमिरेलाई प्रशंसापत्र प्रदान गरिएको छ ।