पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

हेटौंडाः १० औं संस्करणको राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट हुने भएको छ । हेटौंडा भेट्रान्स फुटबल क्लबको आयोजनामा फागुन २६ गतेसम्म ८ ए साइड रनिङ शिल्ड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताका बारेमा जानकारी गराइएको छ । प्रतियोगिताका संयोजक मणिराज गौतमले हेटौंडा–४, हुप्रचौरमा प्रतियोगिता हुने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ ४५ वर्षदेखि अधिक उमेर समूहका भेट्रान्स खेलाडीहरुलाई सहभागी गराएर प्रतियोगिता अयोजना गर्न लागेको संयोजक गौतमले बताउनुभयो ।

पूर्वराष्ट्रिय खेलाडीहरुबीच प्रतिस्पर्धा गराउन र एक अर्काबीच सुमधुर सम्बन्ध कायम गराउनका लागि विगत वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताका लागि मकवानपुरका विभिन्न पालिकाहरु, संघसंस्थाहरु तथा अन्य निकायहरुबाट पनि सहयोग प्राप्त हुने उहाँले बताउनुभएको छ । मकवानपुरलाई खेल क्षेत्रसँगै पर्यटन क्षेत्रमा टेवा पु¥याउन, देशभरीका भेट्रान्स खेलाडीहरुबीच भातृत्वको सम्बन्ध स्थापना गराउन र युवालाई खेलकुदमा आकर्षित गराउनका लागि प्रतियोगिता सहयोगी हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार रुपैयाँ, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लबले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि बढाएको छ ।

प्रतियोगिता १६ वटा भेट्रान्स क्लबको सहभागिता रहने बताइएको छ । नवौं संस्करणको राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वानेश्वरी फ्रेण्डसीप भेट्रान्स क्लबले जितेको थियो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।