हेटौँडाः हेटौँडा–१० स्थित ज्ञानदा माविमा दुई दिने खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको कार्यक्रम बुधबार र बिहिबार सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक सुवेदीले नै वार्षिकोत्सव समारोहको उद्घाटन गर्नु भएको हो । पहिलो दिन बुधबार विद्यालयले चक्लेट दौड, तातो आलु, बेलुन फुटाई, भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । यस्तै, छात्र र छात्रा सदनस्तरीय भलिबल प्रतियोगिताका लागि कक्षा ७ देखि ९ कक्षासम्म सदनअनुसार समुह छुट्याएको सुवेदीले बताउनुभयो । खेलमा प्रथम, द्वितीय र तृतीय हुने समुह तथा विद्यार्थीलाई विद्यालयले शुक्रबार वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण गर्ने जनाएको छ ।